Wednesday, July 28, 2010

(कथा)जिउँदो साँढे

भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरू गुमस्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरू धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरू चाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् । तराईको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर किसन किताबका पानाहरू उल्टाइरहेछ । सडक सुनसान छ । एकाध मान्छेहरू साइकल गुडाइरहेका छन् । पैदल यात्रुहरू यात्रामा छन् । यातायातका अन्य साधनहरू रत्तिभर सडकमा देखिदैनन् । चारैतिर बन्दको हल्ला छ । किसनले पनि सुनेको छ– सरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरुप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिदैन । सरकार जनताको आवाज सुन्न तयार हँुदैन । कुर्सीको मोह प्रदर्शन मात्र गरिरहन्छ । सनातनी परम्परामा रत्तिभर सुधारको संकेत देखाउँदैन । उल्टै मुलुकमा संकटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतङ्क र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ । किसन किताबका पानातर्फ ध्यान खिच्न खोज्छ तर सक्दैन । उसले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरू अढाई करोड छन् भने धर्ती जलेको तापले तात्तिएका, मात्तिएका, र पात्तिएका मुठ्ठीभर शासकहरू छन् । मुठ्ठीभर शासकहरू र अढाई करोड निमुखाहरू बीचको फरक तुलना गर्नमा नै किसनको ध्यान खिचिन्छ । एकाएक किसनको मनमा स्कूल जाने कुरा मनमा आउँछ । साँढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न उसले भुलेको छैन । जताततै बन्द छ , राष्ट्रकै स्पन्दन बन्द छ स्कुलका झ्याल, ढोका बन्द नहुने कारण नै भएन । उसले यही कुरा सोचेर ढिलाई गरेको थियो । एक मनले उसलाई भनिरहेको थियो– शासकहरू चेत्दैनन्, शासितहरू कत्ति जल्नु र पलपल ढलपल भइरहनु ! आफ्ना हक अधिकार र स्वाधिनताका लागि नेतृत्व दिन सकिन्न भने पनि नेतृत्व दिनेको छहारीमा बस्न कन्जुस्याइँ गर्नहुन्न । मनभरि कुराहरू खेलाउँदै किसनका पाइलाहरू स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर उसको कानमा ठोक्किन पुग्छ –“सर ! किसन सर, भाग्नुस् । यो शहरबाटै भाग्नुस् । सेनाले स्कूल घेरेको छ । तपाईंलाई खोजिरहेछ । मलाई तपाईंलाई बोलाउन पठाएको हो । तपाईं भाग्नु भयो भने मैले सरलाई भेटिन भनिदिन्छु । तपाईँ बच्नुहुन्छ । कृपया भाग्नुस् ।” सहकर्मी शिक्षकको कुराले उसको मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हुन्छ । परिस्थितिलाई अंगाल्नु नै पर्छ भन्ने ठान्न वाध्य हुन्छ । उसले भाग्ने कुरालाई रत्तिभर पचाउन सक्दैन । पचाउनुपर्ने कारण हुनुपर्यो । उसले कारण नै भेट्दैन । उसका पाइला अझ छिटोछिटो स्कूलतर्पm लम्किन्छन् । क्षणभरमै ऊ स्कूल पुग्छ । सैनिक मेजर विद्यालयका निर्देशक सरलाई केरकार गर्दै हुन्छन्् । –आज स्कूल किन बन्द ? –स्कूल बन्द छैन, सरहरू–मिसहरू हुनुहुन्छ । विद्यार्थीहरू चाहिँ आएकै छैनन् । –उसो भए तपाईँको किसन सर खोई ? किन भगाउनुभयो ? –भगाएको छैन, भगाउनु पर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला । –किसनको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।“सर नियमित स्कुल आउँनुहुन्छ । लगातार ५ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रुपमा गनिनुहुन्छ । मर्यादित कुरो गर्नुहुन्छ । यस वाहेक कुनै कुरा उहाँको बारेमा अरु छैन ।” निर्देशक सरको कुरा सकिनासाथ मेजरको नजर किसन माथि पर्र्छ । उनी भन्न थाल्छन्, “उसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतीले अर्थोक केही गर्छु । बुझ्नुभो ?” निर्देशक सर अक्कनबक्क परे । हेडम्याडमले घृर्णित नजर मेजर तर्फ फ्याक्दै मुख खोलिन्, “किसन सर पनि आइपुग्नुभएछ । जे सोध्नुछ यहीँ सोध्दा भै गयो नि । शिक्षकलाई बाहिर लग्ने कुरा नगर्नुस् ।”“कुन कुरा मिल्छ, कुन कुरा मिल्दैन । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमा भाँजो हाल्ने काम गर्नु भयो भने बुझ्नुस् । तपाईँहरूले पनि मतियारको रुपमा दर्ता हुनुपर्छ । यो संकटकाल हो । यसबेला हक अधिकारको वकालत नगर्नुस् । यो संकटकाल निम्त्याउने तपाईँकै किसन सर जस्ता बुझ्झक्कडहरू हुनुहुन्छ । बुझ्नुभो ?” मेजरले कुरो टुङ्गयाउँछन् । किसनलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि ५,६ जना सशस्त्र सैनिक जवानहरू छन् । सैनिक गाडीमा किसनलाई अगाडि बसाइन्छ । अरु सबै सैनिक जवानहरू गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रुपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा, घरका छतमा विद्यार्थी, अभिभावक र अन्य शुभेच्छुकहरू कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरू, आशंकाहरू जन्मिरहन्छन् । किसन अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्छ, वरपरको दृश्यको अवलोकन गर्दछ । करिव १० मिनेटको यात्रापछि मेजर यात्रा मन्द पार्छन् । प्रश्नको थुप्रो ठड्याउन थाल्छन् । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरहन्छ । उत्तर पनि गइरहन्छ । मन्दगतिमै यात्रा पनि अघि बढिरहन्छ । त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भन्छन्,“हेर्नुस् किसन सर ! तपाईँहरू जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँधिएको मान्छे हुँ । राष्ट्रका सिन्दूर पहिरेको छु । माथिका मनोकांक्षालाई बुझेर मैले काम फत्ते गर्नुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानव मन हो । वाध्यतावस् यो मनलाई पत्थरको मनमा परिणत गर्न नलगाउँनुस् । चाँडै सत्य बक्नुस् । तपार्इँ कुन पदमा बसेर काम गर्नुहुन्छ ? तपाईँका हेड कमाण्डरहरू र सहयोगीहरू कुन ठाउँमा बसेर काम गर्छन् ? सबै नालिबेली बताउनुस् । नत्र पत्थर मनले नामोनिसान मेट्न सक्छ । मेजरका कुराले किसनको मथिङ्गल रन्थनिन्छ । उसका आँखाका सपनाहरू एकाएक च्यातिन थाल्छन् । ओठ तालु जम्मै सुक्न थाल्छन् । गरुडपुराणमा वर्णित रौरव नरकको नालिबेली ऊ सम्झन्छ । पढेको कुरा यथार्थमा परिणत भएको आभाष हुन्छ । त्यही विभत्सकारी दृश्यहरू दोहोरिदै गएर आफूकहाँ आइपुगेको आभाष हुन्छ उसलाई । ऊ मृत्युको भयले असाध्यै विचलित हुन्छ । ऊ आफ्नो भूत, वर्तमान सम्झन थाल्छ । भविष्य विहीन रुपमा आफू दुई दिने पाहुनाको रुपमा मेजरको सामु उपस्थित भएको ठान्छ । मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्छ, “किसनजी, हतास नबन्नुस् । सास रहेसम्म आश गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन, सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ, राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सबालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रुपमा उपस्थित हुनेछु ।” मेजरले उसलाई सकेजति नचाउन खोज्छन्, तड्पाउन खोज्छन् । ऊ भने चुप नै रहन्छ । तेजविहीन, उत्साह विहीन मात्रै हैन ज्यान विहीन स्वरुपझै उसको शरीर देखिन्छ । किसनको मौनतालाई चिर्दै मेजर नै अघि सर्छन्, “किसनजी, निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरू हुन्थे । यत्रो उमेर कसरी एकलरुपमा विताउन सक्नुभएको हो ? सडकमा हिँड्ने राम्रा तरुणी देख्नासाथ तरुणो मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुणीबाट धोका खाएको बबुरो हुनुहुन्छ ?” यस्तो अनावश्यक प्रश्नले किसनलाई अचम्भित पार्यो । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरू बुझ्न खोजिरहेछन् भन्ने कुरा किसनले बुझ्न सक्दैन । ऊ अझै मौन हुन्छ । मेजर एकोहोरो बोल्दै जान्छन्, “म मात्र बोल्ने, तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापी हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाइ पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट चोखिनुहुन्न । जो दोषी छ, जो कलंकित छ, उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छुु सत्य बक्नुस् । यो संकटकाल छोट्याउन मद्दत गर्नुस् ।” किसनलार्ई खपिनसक्नु हुन्छ । ऊ अब मुख नखोलीकन थेगिने अवस्थामा रहन्न । उसका मुखबाट पनि आक्रोशयुक्त झिल्का देखिन थाल्छन्,“मलाई तपाईँ जे भन्नुस्, जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम, बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवि हुँ । कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षणप्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने, न्यायमा विश्वास राख्ने र प्रगतिशील समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोशिस गर्यो होला । त्यो तपाईँहरूले नै ठम्याउनु भएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस्, मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले (वा अरुले) नै समाजका निम्ति पच्य काम गरेँभने तपाईँ समर्थन गर्नुहोला । यस्ता कुरा बाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै, प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नु बाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरूले स्वच्छ, हराभरा, सुखी, शान्ति र प्रगतिन्नोमुख समाजको निर्माण बाहेक अर्थोकको चाहना राखेका छैनन् । समाजमा व्याप्त विकृति, विसंगति र पूरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने ? हेर्नुस्, मेजर साहव, म मात्र भुसुनो हुँ, म मान्छे बन्न लालायित भुसुनो मात्र हँु । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहना संगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रुपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस्– मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर, बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस्, मैले २८ वर्षे जीवन विताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यत्तिञ्जेलसम्म म न घर भित्रकाको भएको छु, न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनोले राष्ट्रलाई संकटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैन, म असाध्यै डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउँनुस् । मलाई राष्ट्रको कलंकको टीकोको रुपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाई तड्पाई नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ, एकै पटक मर्नु बरु सुखदायक हुँदो हो ।” उसको लामो कथनपछि मेजर तीन छक्क पर्छन् । चुपचाप रहन्छन् । किसनले पनि आफ्ना कुरा माथि परेको अनुभव गर्र्छे र पुनः मुख खोल्छ–“तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीमा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउँनुस् र मलाई आफ्नै सार्वजनिक जीवन विताउन दिनुस् । म अर्थोक....।” उसका कुरा टुङ्गिन नपाउदै मेजरले गाडी किनारामा अड्याए र कुर्लन थाल्छन्,“ए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनु भएको । याद गर्नुस्– म मूर्ख हैन । मूर्ख त तपाईँहरू जस्तै व्यक्ति हुनुहुन्छ । २०, २२ जना विद्वान् शिक्षक, शिक्षिकाहरू मध्ये तपाईँलाई चुनेर ल्याउँनु मेरो रहर हो ? तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा शहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ ? म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुर्याउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरू धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झुटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन, उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस्, सुकरातले सत्य बकेर र सत्यकै लागि हेमलेट नामक विष पियर मृत्यु वरण गरेका थिए । त्यसैले पो उनको नाम संसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।” मेजर आफना तर्कहरू राख्दछन् । किसन पनि आफना मतले आफू निष्कलंकित भएको पुष्टि गर्दछ । करिब ४ घण्टे प्रश्नोत्तर पछि मेजर गाडी लिएर किसनको डेरामा पुग्छन् । बाकस खोलिन्छ, ट्रङ्क उघारिन्छ । एक एक किताब, कापी, पत्रिकाहरू उल्टाइन्छ । ओछ्यानमुनि भएका कागजपत्रहरू खोतलखातल पारिन्छ र ५ धोक्राहरू ठड्याइन्छ । ती धोक्राहरूमा खाली किताब, कापी र पत्रिकाहरू मात्र हुन्छन् । तिनमा पनि कुनै किसन आफैले लेखिसकेका कापीहरू हुन्छन्, कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपीहरू हुन्छन्, कुनै आफ्ना रचनाहरू प्रकाशित भएका पत्रिकाहरू हुन्छन् तर धेरै जसो आई.ए., बी ए., एम.ए. र शाखा अधिकृत परीक्षाका निम्ति संकलित पुस्तकहरू हुन्छन् । एकाध पुस्तकहरू मात्र कम्युनिष्ट पार्टी, राजनीति राजदरबार हत्याकाण्ड सम्बन्धी हिन्दी, अंग्रेजी भाषामा लेखिएका पत्रिकाका कटिङ्ग र नेताहरूका बारेमा हुन्छन् । ती पुस्तकहरूमा पनि धेरै जसो साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू हुन्छन् । सैनिक जवानहरू यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्ने गर्छन् । किसनको असहमतीका कारणले केही पुस्तकहरू छाडिन्छन् । आखिरमा किसनलाई पुर्याइन्छ, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा र नाम खुल्न नसकेको आतंकारीको कोठाबाट तीन बोरा आतङ्ककारी दस्तावेज र पाँच थान नयाँ पुराना हतियार बरामत भएको झ्याली पिटान्छ । सानो कोठा । १५ जना मुस्किलले सुत्न हुने कोठा । कल त्यहीँ, ट्वाइलेट त्यहीँ जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्चाएको हुन्छ त्यहाँ । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने हुन्छ उसलाई । पडका पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरूदेखि लिएर नाती भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ हुन्छन् । आशाराम चौधरीजस्ता हतियार सहित पक्राउ परेका र भोजपुर–धनकुटा जिल्लाबाट आतङ्ककारीको आरोपमा जेल चलान गर्दै ल्याइएकाहरू पनि हुन्छन् त्यहाँ । पक्राउ गर्नु परेपछि खान, बस्न र सुत्न दिनुपर्छ तर ती कुनै कुराहरू पनि त्यहाँ उपलब्ध हुन्न । मानव अधिकारकर्मीहरू त्यहाँको बिजोग हेर्न कहिल्यै पुग्दैनन्् । उसले पनि मान्छेको दशा नजिकैबाट हेर्न पाउँछ । प्रायः जसो सबै कैदीका शरीरभरि निलडाम हुन्छ । अर्को कोठामा महिलाहरू थुनिएका हुन्छन् । तीमध्ये अधिकांस थारु समूदायका हुन्छन् । उनीहरूका औंलाका नङहरू उक्काइएका हुन्छन् । हाम्रो हविगत यस्तो बनाए, हेर्नुस् न भन्दै उनीहरू रोइरहेका हुन्छन् । पुरुषहरूमा पनि धेरैजसो थारु समूदायका हुन्छन् । जताततै विजोग वाहेक अर्थोक हेर्न, बुभm्न र सुन्न पाइने अवस्था नै हुन्न । अरुहरूजस्तै प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँछ किसन पनि । दिनहरू पनि उस्तै नमीठो तवरले वित्छन् । कैदी कोठा बाहिरका कसैले बोलाई हालियो भने पनि भन्ने गरिन्छ, “ए आतङ्ककारी ! खुब पुलिस, सेना मारिस् हैन, बाहिर ? अब भित्रभित्रै मर्ने पालो तेरो ।” एक रात १२ बजे किसन डाकिन्छ । सोधपुछ, केरकार गरिन्छ । आतङ्ककारी हुँ, आतङ्कक मच्चाउँदै हिँडेँ भन्न कर गरिन्छ । किसनको मनले मान्दैन । उसले ठाडै भन्दिछ, “म मेरो मनले नस्वीकारेको कुरा भन्न सक्तिन ।” उसको शब्दकोषमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन्, उनीहरू राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने हुन्छ । ऊ आफूलाई सचेत नागरिक भन्न मन पराउँन्छ, मुलुकको कुभलो चिताउने नागरिक कदापी हैन भन्ठान्छ । दिनरात सोधपुछको कार्यक्रम भई नै रहन्छ । प्रश्नहरू नाना थरीका हुन्छन् तर उसको जवाफ एकै थरीको हुन्छ । “आस्था मर्दैन, विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरू असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरू आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।” किसन बेलाबखत यिनै कुराहरू दोहोर्याउँछ । पाँच दिनपछि किसन मुक्त हुन्छ तर उसका प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नवित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्,“विद्वान् मान्छे भएर पनि विश्वले नै आतङ्ककारीको सूचिमा सूचिकृत गरेकोे संगठनको छहारीमा किन बस्नुहुन्छ ? त्यस्ता विनासकलाई मलजल किन पुर्याउँनुहुन्छ ? तपाईँ र तपाईँको संगठन दिवास्पना देखिरहेछ । यो साँढेको राजखानी लिने दाउ तपाईँहरूको हो । यसका लागि ५ वटा घेरा तोड्नुपर्छ । एउटा, दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपथ पछि पर्ला, सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही विगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरूले सैनिकलाई हराएर राज्य कब्जा गरेका छन् ? त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउँनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरूका हरेक आतङ्ककारी गतिविधिहरू निर्मूल गरौँ । शक्तिको उपासक बनौँ ।” मेजर बोल्दाबोल्दा थाक्छ र उसलाई बोल्न कर गरिन्छ । उसलाई मेजरको कुरामा दिलचस्पी हुन्न । उसले उही पुरानो भनाइ दोहयाउँछ । अरु केही बोदैन । दुई घण्टे बसाइलाई ऊ टुङ्गयाउन चाहन्छ । मेजरको पनि मुण्टो हल्लिन्छ । नागरिकता र केही शैक्षिक प्रमाणपत्रहरू मात्र ऊ फिर्ता पाउँछ । केहीे वर्ष वित्न नपाउँदैमा किसन परिणाम पाउँछ– जनमतका अघि सारा शक्ति र अहम्ताहरू निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरू, उसका हरेक मतियारहरू र उसका गार्डहरू पनि मुर्छित हुँदै जाँदा रहेछन्, ढल्दै जाँदा रहेछन् ।
दिनाङ्क—२०६४–११–०९ —तपेश्वरी ः १, उदयपुर, मो. नं ९८४२८२९२०६
हालः– लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज–९, सप्तरी ।

Tuesday, July 20, 2010

गजल

अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ
दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ ।

भेडा,उँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ
खानेसुत्ने ठेगान हुन्न त्योभन्दा त जाति छ।

मर्यो भने भेडा,उँटकै भाउ मात्रै मिल्दा त
भन्ने गर्छ अरबलाई मानवकै घाती छ।

विकासको भुइँचालोमा हामी त्यसै तर्सन्छौँ
गाह्रो पर्छ ठम्याउन दिन हो कि राती छ ।

स्वर्ग देख्ने हरियालीमा बानी उसको एउटै
टाढै बसी नेपाललाई माया गर्ने छाती छ।

Saturday, July 10, 2010

दर्द

पात्रहरू
मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने निःस्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद ः मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला ः मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश ः बबलध्वजका छिमेकी र सहयोगी ।
स्थान ः सामान्य भुइँतले घरको दलान र आँगन(मञ्जरीको सपरिवार त्यहाँ बसाइँ सरेको छ महिनामात्र भएको छ । उनी त्यस नयाँ गाउँका सबै मानिसलाई चिन्दिनन् र उत्तिसाह्रो वास्ता पनि राख्दिनन् । लोग्नेले त्यागेकी आइमाई भनेर कसैकसैले कुरा काट्छन् । त्यस्ता घटनाबाट उनी त्रसित छिन् ।प्रमोद र प्रमिला सामान्य भुइँतले घरको दलानमा पढिरहेका छन् भने उनीहरूकी आमा मञ्जरी आँगनको एक कुनामा गिटी कुटिरहेकी छिन् । नजिकै ठूल्ठूला ढुङ्गा थुपारिएका छन् । उनको पेसा नै गिट्टी कुट्ने हो भन्ने स्पष्ट हुन्छ । एउटै मञ्च दुई भागमा विभक्त छ ।)
मञ्जरी ः (दलानमा पढिरहेका प्रमोद र प्रमिलातर्फ सङ्केत गर्दै) लौ छोराछोरीहरू, राम्ररी पढ है । जसले धेरै पढ्छ, उसले धेरै ज्ञान बटुल्छ । जसले धेरै ज्ञान बटुल्छ, उसले धेरै धन कमाउँछ । जसले धेरै धन कमाउँछ, उसैले सुख पाउँछ । सुख पाउने कि दुःख पाउने ? यो कुरा तिमीहरूकै हातमा छ ।
प्रमोद ः हुन्छ मामू, त्यसमा तपाईंले चिन्तै लिनु पर्दैन । पढ्दापढ्दा किताबै कण्ठ हुन लागिसक्यो ।
प्रमिला ः म पनि पढिरहेकी छु । मैले दिएको पाठ त याद छ नि तपाईंलाई ? तपाईंले मलाई सन्तुष्ट बनाउनुपर्छ ।
मञ्जरी ः हुन्छ बाबा, हुन्छ । म मेरी प्यारी छोरीका हर आज्ञा शिरोधार्य गर्न तयार छु । (सबै आ–आफ्नै काममा मग्न हुन्छन् । कामबाट आँखा हटाउने फुर्सद कसैलाई हुँदैन । त्यसैबेला मञ्जरी बबलध्वज र प्रमोद आउँछन् । मञ्जरी शिर उचालेर उनीहरूलाई पुलुक्क हेर्छिन् र आफ्नो काममा क्रियाशील भइरहन्छिन् । उनीहरूप्रति उत्ति साह्रो वास्ता राख्दिनन् ।)
बबलध्वज ः हजुर मञ्जरीजी, घुम्दैफिर्दै यहाँ आइपुगियो । तपाईंको घर बाटैमा रहेछ । गाइँगुइँ केही कुरा सुनेको थिएँ । वास्तविकता बुझ्न मन लागिरहेछ ।
मञ्जरी ः विनाभूमिका खुलस्त भन्दा हुन्छ । हुनत धेरै कुरा सुनेकी छु । अझै सुन्नुपर्छ भने सुनुँला ।
बबलध्वज ः आजसम्म त तपाईंको र मेरो बोलचाल नै भएको छैन । परको मरिचे माइलोले तपाईंका बारेमा एकाध कुरा भन्यो र वास्तविकता बुझ्न आएको हुँ ।
मञ्जरी ः (आफ्नो लोग्ने नभएकोले आफूलाई जिस्काउन आएको शङ्का गर्छिन् र हेर्दै नहेरी अटेरी भएर)त्यति धेरै कुरा सुन्ने फुर्सद छैन मलाई । मैले जीवनमा धेरै सुनेँ । पहिलेको गाउँमा पनि सुन्नै नसक्ने कुरा सुनेँ र हार खाएर यहाँ आएँ । यहाँ पनि मनग्गे सुनिसकेँ । (झर्को मान्दै) कतिका कस्ता–कस्ता कुरा सुन्न जुरेको छ !
बबलध्वज ःहैन, नराम्रो कुरो सुन्न र सुनाउन म आएको हैन ।
मञ्जरी ः धेरै कुरा सुन्नु पनि छैन र बुझ्नु पनि छैन मलाई । मेरो संसार यही गिट्टी हो । गिट्टीको थुप्रो जति ठूलो भयो, त्यति नै राम्ररी म मेरा दुई सन्तानको हेरचाह गर्न सक्छु । बस्, मलाई यति नै थाहा छ ।
बबलध्वज ः हजुर मञ्जरीजी, म यहाँ सुनाउन हैन सुन्न आएको हुँ । भन्नुस्, तपाईं कसरी यो हालतमा आइपुग्नुभो ? तपाईंका मुखराबिन्दबाट कुरा सुन्न पाए समस्याको निदानमा म पनि सहयोगी हुने थिएँ ।
मञ्जरी ः भो–भो, मसँग यस्ता रसिला र मीठा कुरा नगर्नुस् । अब म कसैको गुलियोको लोभमा फस्दिनँ । जवानी थियो, मगमगाउँदो फूलको थुँगा थिएँ । त्यही बास्नामा लठ्ठ परेर एउटा भमरा बस्यो । मसँग रस छउन्जेल चुस्यो । रस सकिँदै गएपछि अन्यत्रै गयो । त्यस्तै भमराका रूपमा आउनुभएको हो भने चुपचाप यहाँबाट गइहाल्नुस् किनभने अहिले म फूलको ओइलिएकी थुँगा भएकी छु । मसँग न रस छ न मगमगाउँदो बास्ना नै .... ।
बबलध्वज ः (मञ्जरीलाई बीचमै रोकेर) भो अब भो, मैले धेरै सुनेँ, मन अघायो । यहाँभन्दा बढी सुन्ने धैर्य मसँग छैन । म यतिखेर भ्रमको पात्र बनेछु । म कसैलाई भ्रममा राख्न चाहन्नँ । यतिखेर धेरै बोल्नुको अर्थ छैन । समय आएछ भने बोलौँला । अहिलेलाई यतिमात्र बुझिदिनुस्, म कुनै व्यतिmगत स्वार्थ लिएर आएको हैन । (प्रमोद र प्रमिला आफ्नै धुनमा लेखपढ गरिरहेका हुन्छन् । प्रकाश छट्पटिन्छ ।)
प्रकाश ः हैन, अब त जाऔँ । कुराको बिट मरेन ? (मञ्जरी आफ्नै काममा व्यस्त हुिन्छन् ।)
बबलध्वज ः (त्यहाँबाट प्रस्थान हुँदाहुँदै प्रकाशसँग) हिँड भाइ प्रकाश, यिनीसँग अहिले केही कुरा गर्नु हुन्न । यिनले अहिले भदौरे सप्तकोसीको रूप लिएकी छिन् । यिनले भनेका प्रत्येक शब्द वाण बनेर मेरो मुटु छियाछिया पारिरहेछ । म कसरी सहुँ ? मलाई त्यो बोली घाँटीसम्म आएको छ । एउटा पुरुषसँग उठेको रिस अर्को पुरुषमाथि खन्याउनु, के नारी धर्म हो ?
प्रकाश ः(मञ्चबाट निस्किँदै) आखिरमा कुनै पुरुषले त उनीमाथि अत्याचार गरेकै रहेछ नि, हैन र ? (स्विकारोक्तिस्वरूप बबलध्वज शिर हल्लाउँछन् र दुवै बाहिरिन्छन् ।)
प्रमोद ःदिदी, आवाज निकालेर पढ्नुस् न । म सुनेर पनि धेरै कुरा जान्दछु र बुझ्दछु । हामीले हरेक कुरा नजानीकन हुन्न ।
प्रमिला ः तिमी पढ न । म सुन्छु ।
प्रमोद ः मेरो किताब त हजुरले पढिसक्नुभएको छ ।
प्रमिला ः मेरो किताब पढ्ने तिम्रो बेला भएको छैन ।
प्रमोद ः किताब पढ्न, कुरा बुझ्न र ज्ञान बटुल्न पनि समय पर्खनुपर्छ र ?
प्रमिला ः अर्काको किताब पढ्नाले पास भइन्न क्या ।
प्रमोद ः के पढ्नुको अर्थ पास हुनुमात्र हो ?
प्रमिला ः प्रश्नमाथि प्रश्नका खात लगाइरहेका छौ तिमी । म तिम्रा हरेक प्रश्नको जवाफ दिऊँ कि आफ्नो गृहकार्य पनि तयार गरूँ ? विजय आखिरमा तिम्रै भयो ।
प्रमोद ः सधैँ सत्यको जित हुन्छ । म सत्यको पक्षमा थिएँ । आखिरमा सत्यवादी पाण्डवकै जित भएको थियो महाभारतमा । कौरव पक्ष युगौँयुगदेखि हारिरहेछन् । (हाँस्दै, ठट्यौलो पारामा एक्लै एकपक्षीय नारा लगाउँछ ।) यो जित कसको ? प्रमोदको । यो हार कसको ? किताब नपढ्नेको ।
प्रमिला ः भो–भो नारा नलगाऊ । नारा भए पनि तिम्रै जित, नभए पनि तिम्रै जित । अब त भयो ? आवश्यकताभन्दा बढी जो बोल्छ, त्यो हार्छ । ठिक्क खटाएर बोल्ने मान्छे विजयी हुन्छ । जीवनमा सधैँ विजयी हुने कुरा सोच्नुपर्छ र प्रयास गर्नुपर्छ ।
मञ्जरी ः बाबुहरू ! कुराकानीचाहिँ बढी भएजस्तो छ है । अब एकैछिन पढ अनि खाना खानुपर्छ ।
प्रमोद ः शुभकार्यमा किन विलम्ब ? अब ठीक पार्दा भइगयो नि ?
मञ्जरी ः ल, भइगो त । आओ । (प्रमोद जान्छ तर प्रमिला जान्न ।) नानी छोरी, किन नआएकी ? आऊ चाँडो । भान्साको काम सकौँ ।
प्रमिला ः मेरो सर्त पूरा भयो कि भएन ? म हजुरलाई खुसी पार्न खोज्छु । हजुरले मलाई खुसी पार्नुपर्छ । म त्यसबेला खुसी हुन्छु, जब मैले दिएको गृहकार्य लेखेर र घोकेर मलाई देखाउने र सुनाउने गर्नुहुन्छ । हिजो बेलुकी दिएको गृहकार्य मलाई चाहियो अनिमात्र म खाना खान्छु नत्र रिसाएर बस्छु ।
मञ्जरी ः नानी, त्यसो नभन न । पहिले खाना खाऊ । त्यसपछि मेरो गृहकार्य हेरौली । ज्ञानी मान्छेले धेरै जिद्दी गर्दैनन् त ।
प्रमिला ः ठीकै छ । खाना खाएरै हेर्छु र सुन्छु । मामूले भनेको पनि मान्नै प¥यो । (दुवैजना खाना खान थाल्छन् । मञ्जरी पनि खाना खान थाल्छिन् ।)
प्रमोद ः आजको खानेकुरा निकै स्वादिलो रहेछ ।
प्रमिला ः अरू दिन पनि स्वादिलै हुन्थ्यो त ? आजमात्र किन भन्यौ ?
प्रमोद ः खै मलाई थाहा छैन । अरू दिन यति स्वादिलो भएको थाहा छैन ।
मञ्जरी ः यसको कारण परिश्रम हो । आज बिहान सबेरै उठेर तिमीहरूले नुहायौ । त्यसपछि कसरत ग¥यौ । अहिले तिमीहरू मानसिक श्रम गरिरहेका छौ । यसले गर्दा शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग चलायमान भए । तिमीहरूका बौद्धिक र शारीरिक कसरत भए तसर्थ आज शरीर फुर्ती भएको महसुस गर्दै छौ होला, हैन ?
प्रमोद ःनिश्चय नै मामू ! तपाईंले भनेजस्तै भएको छ । अब मलाई आज जस्तै गरी सधैँ चाँडै उठाइदिनुहोला । सूर्योदयपूर्व नै म आफ्नो काम सकिसक्छु । दिनदिनै थोरै समय दिँदा बौद्धिक र शारीरिक पक्ष सबल हुन्छ र सुदृढ हुन्छ भने यस्ता कुरामा किन आनाकानी ?
प्रमिला ः भाइसँग म पनि सरिक हुन्छु ।
मञ्जरी ः (खुसी हुँदै) राम्रो सोच मनमा ल्यायौ । म अति नै प्रसन्न छु आज । तिमीहरू हाँसीखुसी रहनु मेरो सौभाग्य हो । उत्पादनमुखी शारीरिक र मानसिक कसरतले व्यतिmव्यतिmमा परिवर्तन ल्याउँछ र पूरै समुदायलाई सपार्छ भन्ने कुराको पुष्टि भइसकेको छ ।
प्रमोद ः हो मामू ! बबलध्वज अङ्कलले पनि यी र यस्ता कुरा धेरै अघि भन्नुभएको थियो ।
प्रमिला ः स्कुलमा कुनै सर अनुपस्थित भएका बेला उहाँ आफैँ आउनुहुन्छ । हाम्रो हेडसरले उहाँलाई नै कक्षा लिन आग्रह गर्नुहुन्छ । उहाँ सारै राम्रा कुरा सुनाउनुहुन्छ । उहाँले भनेका धेरै कुरामध्ये एउटा कुरा सुन्नुहुन्छ मामू ? (बबलध्वजको नाम सुन्नासाथ मञ्जरी तीनछक्क पर्छिन् । उति वास्ता नगरे जस्तो गर्छिन् तर मनमा भने जिज्ञासा उब्जिरहन्छ ।)
प्रमोद ः (हतारिँदै) भन्नुस् न दिदी, हामीलाई त जहिले पनि सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक कसरत गर्नू स्मरण शक्ति बढ्छ, अन्य कैयौँ लाभ मिल्छ, कहिल्यै रोगले समात्दैन भन्नुहुन्छ । तपाईंहरूलाई चाहिँ केके भन्नुहुन्छ, दिदी ?
प्रमिला ः सुन, हाम्रो अहिलेको शिक्षाले बुद्धि कम र महŒवाकाङ्क्षा बढी सिकाउँछ रे । आजकल पढेका मान्छे बढी महŒवाकाङ्क्षी हुनु यसको प्रमाण हो रे । एउटा विद्यार्थीले हिँड्डुल गर्दा सामान्य ठक्कर लगाएछ र माफ मागेछ । अर्काले भने माफ नै दिएनछ र उल्टै त्यसलाई पर्खालमा ठोक्काएर रगतपच्छे पारेछ । यस प्रसङ्गमा उहाँले भन्नुभयो– एकपटक बुद्धले शिक्षादीक्षा प्राप्त गरिसकेका एक शिष्यलाई आफूले प्राप्त गरेको ज्ञानको प्रचार गर्न लगाउनुभएछ । शिष्य भारतको विहार राज्यको एक दुर्गम गाउँमा ज्ञानको प्रचार गर्न जान तयार भएछ । यो देखेर बुद्धले जाँच लिनका निम्ति भन्नुभएछ– त्यहाँका मान्छे खराब छन् । तिमीलाई गाली गर्न सक्छन् । उनले उत्तर दिएछन्– त्यहाँका मान्छे कति जाती रहेछन् केवल गाली गर्दा रहेछन् । कुटपिट पनि गर्न सक्थे । बुद्धले अगाडि भन्नुभएछ– उनीहरूले तिमीलाई कुटपिट पनि गर्न सक्छन् । त्यसबेला के हुन्छ ? उनले सहज भावमा जवाफ दिएछन्– मेरो मनमा यही भावना आउँछ कि त्यहाँका मानिस कति असल रहेछन् केवल कुटपिट गर्दा रहेछन्, मार्न पनि सक्थे तर त्यसो गर्दा रहेनछन् । बुद्धले मौका छोप्दै भन्नुभएछ– उनीहरूले तिमीलाई मार्न पनि सक्छन्, मर्ने बेलामा चाहिँ के सोच्छौ ? उनको जवाफ थियो– हजुरबाट प्राप्त ज्ञान प्रेमको नजरले संसारलाई हेर भन्ने हो, यो कुरा महसुस गर्र्दै म कथंकदाचित् बाँचेको भए मबाट कतै भुल हुन सक्थ्यो, त्यस्तो भुल हुन र गर्नबाट म जोगिएँ । मेरो नजर प्रेमको भावनाले भरिएकोले म सर्वत्र प्रेमकै नजरले हेर्छु, मर्नै प¥यो भने पनि मर्ने बेलामा भुल गर्नबाट बचेँ भनेर सोच्छु । हामी यस्तो लचिलो बन्न त नसकौँला तर कोही प्रायश्चितले जलेको छ र गलेको छ भने क्षमाशील बन्न सक्छौँ ।
प्रमोद ः अर्थोक पनि भन्नुस् न दिदी ।
प्रमिला ः अरू थुप्रै कुरा छन् । भनेर साध्य छैन । मात्र सङ्केत गर्न सक्छु । सुन, हामीले जानेको ज्ञान र सीप आफूमा मात्र सीमित राख्नु हुन्न । यसले लोककल्याणको बाटो पक्रिनुपर्छ । जब हाम्रो ज्ञानले समाजलाई उज्यालोपन दिन सक्तैन, तब त्यस खाले ज्ञानको खाँचो यस युगलाई छैन । मुक्ति सङ्ग्राममा हामी लामबद्ध हुन सके शोषितपीडित भएर कसैले रहन पर्दैन रे । श्रमको उचित मूल्याङ्कन जहाँ हुन्न, जहाँको उत्पादन लोककल्याणको साटो विनाशकारी हुन्छ, त्यहाँ श्रम दिनु ठूलो भुल हुन्छ । जसरी भए पनि आफ्नो श्रमले लोकको कल्याण गर्नुपर्छ ।
मञ्जरी ः (मनमनै सम्झेर) यी बबलध्वज भन्ने मान्छे त साह्रै असल पो रहेछन् ! बित्थामा चाहिँदो नचाहिँदो कुरा भनेँ । चित्त दुखाए होलान् । मेरै हितका कुरा पो गरेका रहेछन् । मैले कुरै सुन्न चाहिनँ । कसका कुरा सुन्नु ? कति आइमाईले भनिसके मलाई– ’बबलध्वजकी पत्नी छैन, तिम्रो लोग्ने छैन । ठ्याक्कै जोडा मिलेको छ, विवाह गर ।’ मलाई मन नपरेको कुरा यही थियो । केवल अरूसँग उठेको रिस बबलध्वजमाथि खन्याएर भुल गरेँ ।
प्रमिला ः (मामू झोक्राएको देखेर चकित हुँदै) मामू ! किन झोक्राउनुभएको ? मैले अन्यथा भने र ?
मञ्जरी ः हैन–हैन । तिमीले त्यस्तो केही नराम्रो भनेकी छैनौ । जे सुन्यौ, जे बुझ्यौ; ठीक बुझ्यौ । मेरो चित्त बुझ्यो ।
प्रमिला ः तर मेरोचाहिँ बुझेको छैन ।
मञ्जरी ः किन ?
प्रमिला ः मैले गृहकार्य हेर्न पाइनँ नि ।
मञ्जरी ः ए ! पढाउन त पढाए नानी तर लेख्न हातै चल्दैन । कामले फुर्सद पनि पाउँदिनँ । अहिले यो उमेरमा मरिहत्ते गर्दा पनि नहुँदो रहेछ । उतिखेरको कहिरन अर्कै छ ।
प्रमिला ः कस्तो कहिरन मामू ?
मञ्जरी ः तिम्रो यो बानी मलाई असाध्य मन प¥यो । यसरी जुनसुकै कुराको जरोसम्म पुग्ने बानी राम्रो हो । हेर नानू, तिम्रो यो र मेरो त्यो उमेर, संस्कार एवं चालचलनका बीच आकाश पातालको फरक छ । हामी त्यतिखेर जरुर पढ्थ्यौँ तर तिमीहरूको जस्तो कापीकिताब लिएर हैन । तिमीहरूको जस्तो स्कुल धाएर हैन । घरमा नै सबै कुरा पढ्नुपथ्र्यो । आमा हजुरआमाहरूले सिकाउनुहुन्थ्यो । पढ्ने कुरा यिनै हुन्– (वस्तुलाई देखाउँदै) कुचो, मस्को र पोतो । अरू पनि भन्नुपर्दा खुर्पी, हँसिया, कुटो, कोदालो आदि । अहिले तिमीहरूका लागि किताब, कापी, कलम भएजस्तै यिनै वस्तु औजार हुन्थे हाम्रा लागि । बिहान कुखुरो बासेदेखि रातको एघारबाह्र बजेसम्म काममा जोतिनुपथ्र्यो र पो अहिले चार गाँस खाने एक धरो लगाउने र यही भए पनि मुन्टो लुकाउने झुपडी जोडेका छौँ । धन्दा नमान, तिमीहरूले हामीले जस्तो बिजोग खेप्नु पर्दैन । तिमीहरूलाई राम्ररी हातखुट्टा नलगाई म मर्दिनँ । (आँखाभरि आँसु बनाउँछिन् । मामूको अवस्थाले प्रमिला पनि दुःखित हुन्छिन् र गहभरि आँसु पार्छिन् ।)
प्रमोद ः मामू ! तपाईं दिदीसँगमात्र कुरा गर्नुहुन्छ ? मसँग पनि गर्नुस् न । दिदी जति त म पनि बुझिहाल्छु नि ।
मञ्जरी ः तिमी पनि बुझ्छौ छोरा, म तिमीसँग पनि कुरा गर्छु । फरक यति हो कि म तिमीसँग जीवनभर कुरा गरिरहन्छु, दिदीसँग गर्न पाउँछु कि पाउँदिनँ ! भन्न गाह्रो हुन्छ । यस कुरूप समाजले दिदीलाई ठगेको छ बा । उनी त आज यहाँ छिन्, भोलि कहाँ पुग्छिन्, कसलाई के थाहा ? जोई बन्ने मान्छेले पोइको खटनमा चल्नुपर्छ । सासू–ससुराको बुहार्तन खप्नुपर्छ । तिमीलाई के थाहा ?
प्रमोद ः अहँ मामू, दिदी जहाँ जानुहुन्छ, म पनि त्यहीँ जान्छु । म त दिदीलाई छाड्दै छाड्दिनँ । दिदीसँग भएँ भने कसैले हेप्न पनि पाउँदैन । कसैको पिटाइ पनि खानु पर्दैन । दिदी स्कुल गए म पनि जान्छु, दिदी क्याम्पस गए म पनि सँगै हुन्छु । म त सधैँ दिदीसँगै हुन्छु ।
मञ्जरी ः (मञ्जरी मुस्कुराउँदै) हुन्छौ, खुब हुन्छौ होला नि ! दिदीभिनाजुसँग हुँदा पनि साथमै हुन्छौ त ?
प्रमोद ः जुनसुकै हालतमा पनि म दिदीसँगै हुन्छु ।
मञ्जरी ः (मञ्जरी हाँस्दै) स्याबास् छोरा, स्याबास् ।(सबैजना हाँस्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)(०६६÷०५÷२९)

Monday, July 5, 2010

बालगजल

छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबू ।

मिलीजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबू।

लेखपढ शुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँभरि स्कूल धाऊ बाबू।

ठूलालाई मान देऊ सानालाई माया
राम्रो पढिगुनी पुरस्कार पाऊ बाबू ।

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ बाबू।