Monday, September 13, 2010

नयाँ नेपालको खोजी गर्ने कृति ः ‘कालो चायाँ’

–नन्दलाल आचार्य
दुनियाँ ऐसी बाबरी पत्थर पुजन जाय,
घरकी चकिया कोई न पुजे जिसका पिसा खाय ।
(संसार कस्तो पागल छ, ढुंगालाई पुज्न कहाँकहाँ पुग्छ तर आफ्नो घरको जाँतोलाई पुज्दैन जसबाट पिसेको खान्छ ।– कबीर)
चारैतिर जोखिम मोलेर नेपाली समाज अहिले हिँडिरहेछ र आफ्नो पागलपन र अराजकताको ढाकछोप गरी टिठलाग्दो विक्षिप्तता लुकाउन अरूलाई पागल भनिरहेछ । गुणी र बैगुणी चिन्न सकिरहेको छैन । सार्बजनिक स्थल सफा र हराभरा राख्न जुट्नु, कसैले खान पाएको छैन कि भनेर चिन्ता गर्नु, आफ्नो आङ्ग नाङ्गो राखेर अर्कालाई जाडोे भयो कि भन्ने चिन्ता गर्नु, सडकमा उभिएर सत्य र न्यायका स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत, श्लोक र कविता स्वतःस्फुर्त रूपमा भन्नु, जनता पिरोल्ने पिराहाहरूका कर्तुतलाई फुटेका आँखाले पनि हेर्न नचाहनु जस्ता कार्यहरू विल्कुलै खराब हैनन् । तर त्यस्तै काम गर्ने महापुरुष गम्भीरबहादुर थापालाई पागल भन्छ यो समाज । ‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको भेट्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको देख्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु ।’ यस्ता कथन राख्ने र बोलेअनुरूप कार्य गर्न अग्रसर अर्का साधक लेखबहादुर कार्की पनि पागलमा नै गनिएछन् । ‘जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरूलाई बुझाउनुजस्तो महान् कुरा अरू विश्वविद्यालयमा सायदै होला । क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहोभाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा, युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी ‘क’ नजान्ने हातहरू –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गणमा त यस्तो लाग्छ—हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू, मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरूको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जान्छौँ ।’ भन्ने हरफका जन्मदाता पुन्य कार्की पनि एकाधपटक पागल ठानिए । त्यस्तै मातृका पोखरेल, टीकाराम पौडेल, इन्द्र राउत, दीपक चिन्तक, जोतारे धाइवा, स्वस्ती थापा, महेश्वर चामलिङ्ग, राममणि पोखरेल, रत्नप्रसाद काफ्ले, गिरिलाल परियार, तेजनारायण शेर्पा, भक्तबहादुर सिंह, यादवकुमार कार्की, केदारकुमार थापा, शंकरबहादुर थापा, भागवत राउत, जीवराज ढुगााना, हरि शरण, हेमबहादुर बस्नेत, कुबेरध्वज कार्की, छविनकुमार मगर, मदन तामाङ्ग, नारायण कार्की, बोधविक्रम घिमिरे, शिबहरि राई, नारायण काफ्ले, बिमल कार्की, कुमारसिंह कार्की, नन्दप्रसाद पोखरेल, राजकुमार खड्का, कौशल चेमजोङ्ग, वृषबहादुर तामाङ्ग, कपिल ठकुरी, बिरशबाबु शाही, लीलाप्रसाद निरौला, नन्दलाल आचार्यजस्ता कलमजीवीहरू पनि पागल ठानिएलान् कि भन्ने जगजगी छ । राम्रो काम गर्ने लक्ष्मीप्रसाद, भूपि शेरचन, गोपालप्रसादजस्ता साहित्य साधकहरूलाई पागल भनी सकेको सन्दर्भमा पागल पद पाउनु गर्वको विषयमा रूपान्तरित भएको प्रतीत हुन्छ । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्थे रे । देशको विद्रूप राजनीतिले स्रष्टा जन्माउँदो रहेछ । आफ्नो मौलिक आवाजबाट राजनीतिलाई सपार्ने चाहनाका साथ धेरै स्रष्टा जन्मदा रहेछन् । सन्दर्भअनुकूल भन्नुपर्दा यस्तै गर्विलो काम गरेर पागल पद धारण गर्न लायक एक स्रष्टा हुन्– टंकबहादुर आलेमगर (उपनाम रोशन थापा) । २०६४।०५।०१ मा प्रकाशित उनको एक मात्र कृति ‘कालो चायाँ’ लघुकथा संग्रहका बारेमा सामान्य विश्लेषण गरी नयाँ नेपाल निर्माणमा सहयोगी कृतिको रूपमा पुष्टि गर्न खोजिएको छ ।
साधो सहज समाधि भली आँख नमुदो कान रुँधो, कायाकष्ट नधारो,
खुले नैन हँसी हँसी पहिचानो, सुन्दर रूप निहारो ।
जहँ जहँ डोलौ परिक्रमा, जो कुछ करो सो पूजा,
जब सोबौ तब करौ दण्डवत्, भाव मिटाओ दूजा ।
(म आँखा बन्द गर्दिनँ, कान छेड्दिनँ, शरीरलाई कुनै कष्ट दिन्नँ, हाँसीहाँसी सुन्दरताको प्रशंसा गर्छु । म जहाँ जान्छु त्यहीं नै मेरो परिक्रमा हो, जब म सुत्छु, त्यही नै मेरो दण्डवत् हो । अन्य कुनै जटिल साधनामा मेरो विश्वास छैन । सरल र सहज समाधि नै आदर्श हो ।– कबीर)
दिल सहानी, डा. ऋषिराज बराल, पुन्य कार्की, सीपि गजुरेल, कमल निओल, सरल सहयात्री, सरला रेग्मी, पुन्य कार्की, गंगा श्रेष्ठ, प्रभात चलाउने, राजु क्षेत्री, रामविक्रम थापा, अन्जान विरही, श्यामकुमार बूढा, हीरामणि दुःखी, कुमार शाह, अनिल शर्मा, घनश्याम ढकाल, पूर्णविराम, नवीन विभास, अशोक सुवेदी, भाष्कर, रोहित दाहाल, खगेन्द्र संग्रौला, रमेश विकल, मातृका पोखरेल, गोबिन्द वर्तमान, हरिगोबिन्द लुइँटेल, राममणि पाखरेल, नन्दलाल आचार्य, प्रदीप नेपाल, धु्रवचन्द्र गौतम, गोपाल पराजुली, पद्मावती सिंह, नारायण ढकाल, राजेन्द्र विमल, महेशविक्रम शाह, प्रदीप ज्ञवाली, किशोर पहाडीहरूले द्वन्द्व कथा लेखे, लेखिरहेछन् । कसैले धेरै लेखे, कसैले थोरै लेखे । कसैले जनयुद्धले सिर्जना गरेको यथार्थको प्रतिबिम्बन गरेका छन् भने । कसैले जनयुद्धको उदात्तीकरण गर्न नखोजे पनि राज्यआतंक र जनहत्याको यथार्थ चित्रण गरे । कसैले भने जनयुद्धको विद्रूपीकरण मात्रै गरेर कथा सिर्जना गरे । यी तीनै पक्षमा आधारित रहेर फाट्टफुट्टरूपमा कथा सिर्जना गर्नेहरूको लाइन त लामै छ । ठाउँठाउँमा झिनो द्वन्द्वका साथ लघुकथाबाट समाजको यथार्थतालाई चित्रण गर्न लघुकथाकार टंकबहादुर आलेमगरले कोशिस गरेका छन् । समाजमा घटेका यथार्थताका नालीबेलीलाई कलात्मक रूपले प्रकट गर्ने काममा उनी पोख्त देखिन्छन् । विशेष गरेर दुःख, पीडा र बेचैनीका बेलिविस्तार मात्रै हैन अग्रगामी विचारयुक्त लघुकथा पनि पाइन्छन् उनको ‘कालो चायाँ’ लघुकथा संग्रहमा । मुलुकको अस्मितामाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वले धावा बोलिएको बखत आक्रोश पोख्ने काम पनि भएको छ । युवायुवती बीच हुने स्वभाविक प्रेमअनुरागलाई पनि स्थान दिइएको छ । सप्रिएको राजनीतिले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने कथन अघि सारिएको छ । सामान्य वर्गका मानिसहरूप्रति विशेष सहानुभूति राखेर समाजको अस्तव्यस्तताको विरोध गर्ने जस्ता विशेषताले उनका लघुकथाहरू युक्त छन् । युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि परोक्षरूपमा यिनीबाट भएको छ । मूलभूत रूपमा यिनी समाज रूपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । कथ्य एवं ठेट भाषाको प्रयोगले कथा रोचक बनेका छन्, रेडियो आदिमा वाचन गर्ने दृष्टिमा भने उपयुक्त देखिन्छ । उनका धेरै जसो कथाहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् । तर कतैकतै कथावस्तु, पात्रहरू नै किटान गर्न नसकिने अवस्था छ । कतिपय ठाउँमा लघुकथा, लघुकथाका रूपमा नभएर पोथी गद्यको कुनै रचनाको अंशजस्तो भेटिन्छ । स्पष्ट विचार खुल्न नसकेका लघुकथा पनि यस संग्रहमा मनग्यै परेका छन् । वर्णविन्यास सम्बन्धी कमजोरी जताततै पाइन्छ । यी विविध कारणले गर्दा भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । सामान्य लेखपढको वातावरण पाएका कथाकारका शब्दहरू र भाव सवै व्यावहारिक प्रकृतिका नै छन् । सैद्धान्तिक नजरले हेरेमा उनको उचित मूल्याङ्कन गर्न सकिन्न । कवितात्मक शैलीलाई उनले पक्रेर कथा सिर्जेका छन् । भावसँगै वाचनमा मीठासपन र मधुरतालाई उनले विशेष महत्व दिएको भान हुन्छ । जे होस्, विधागत मान्यताका लागि फस्टाइरहेको र धेरै स्रष्टा साधक समर्पित रहेको लघुकथा विधामा उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु भनेको गर्वको कुरा हो । अर्का कवि, निबन्धकार तथा कथाकार पुन्य कार्कीले भूमिकामार्फत् नै लघुकथाकार टंकबहादुर आलेमगर (उपनाम रोशन थापा)लाई साहित्य संसारमा आमन्त्रण गरेर लेखन, प्रकाशन, परिष्कार, परिमार्जन र समीक्षणको चौतारी भेटे साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपूर्ण हुनसक्ने बताएका छन् । माथिको पंक्तिमा कबीरले भनेजस्तै उनी स्वाभिमानी रूपले जीवन विताइरहेका र साहित्य एवं चित्रकला मार्फत् नेपाली साहित्य र कलाको समृद्धिमा समर्पित भएर लागेका छन् ।
कंकड पत्थर जोडकर मस्जिद दिया बनाय ।
ता चढी मुल्ला बाँग दे–बहरा हुआ खुदाय ?
(बालुवा र ढुंगा जोडेर मस्जिद बनाएर त्यसमाथि चढी मुल्ला विहानविहानै कराउँछ, के ईश्वर बहिरो छ ?– कबीर)
समाजको यथार्थतालाई समाज सामु ल्याएर सचेतताको झड्का दिन कबीरको माथिको कथन प्रयाप्त छ । त्यसै गरी ६० वटा लघुकथालाई ‘कालो चायाँ’ सङ्ग्रहभित्र अटाएका स्रष्टा आलेमगर पनि समाजको तस्विर दुरुस्त उतार्न खप्पिस छन् । भयानक प्रसवपीडाबाट बल्लतल्ल राष्ट्र मुक्त हुँदै गएको तर सानातिना समस्याका रहलपहल बाँकीरहेको कारणले हात बाँधेर बस्ने बेला हैन भनी सचेत पार्न ‘काल्पनिक यात्रा’ कथा सफल छ । प्रलोभनमा परेर फूलहरू लुटिएको कुरा ‘फूल’ कथामा आएको छ । हेरचाह गर्ने मालीको लापरवाहीबाट पूजारीले फाइदा लुटिरहेको छ । यस कुरालाई राष्ट्रिय मामलामा आरोपित गरेर हेर्ने हो भने पनि मुलुकको रथ हाँक्ने सारथीहरूको अदूरदर्शी नीतिले राष्ट्र भड्खारामा परेको पनि देखिन्छ । त्यसैले सचेतवर्गलाई अझ सचेत हुन आग्रह गर्दै लघुकथाकार भन्छन्,“मालीको लापर्वाहीले एउटा फूलवारी उजाडिएको छ । सक्छौ भने पर्खाल लगाऊ नत्र यस्तै क्रमले फूलबारीको संख्या उजाडिनेछ ।” स्वतन्त्र जीवनबाट परतन्त्री जीवनमा रूपान्तरित भएका भुटानीहरूको दुःखदायी जीवनयात्रालाई सजीवरूपले चित्रण गरिएको कथा हो, ‘शिविरभित्रको कथा’ । मादक पदार्थको पसलमा तेम्बा तान्ने मान्छेहरूलाई किचकन्नी र मुर्कुटाहरू भन्ने संज्ञा ‘किचकन्नी र मुर्कुटाहरू’ कथामा दिएको छ । यसमा अभाव, अनिकाल र अस्तव्यस्ततालाई सही ठाउँमा ल्याउन हरेकवर्गले अमर्यादित पथ छाडी सही पथ पक्रनुपर्छ भन्ने आह्वान गरिएको छ । बोक्सीको आरोपमा मानवविष्टी खुवाएर अमानवीय कार्य गरिएकी विधुवा नारीका पक्षमा कथाकारले शब्द समर्पण गरेको लघुकथा हो–‘जुर्मुराएका स्नायुहरू’ । यस कथाले समाज जति परिष्कृत भएपनि कुरूप मानसिकता बोकेर बाँचिरहेको देखाएका छन् । यसरी समाजको ज्ञान र ध्यान पुरातनवादी कुसंस्कारमा नै अल्झिएको विद्रुप अवस्थाको चित्रण गरेर स्वच्छ र स्वतन्त्र समाजको निर्माणमा जोड दिने काम भएको छ । जन्म दिने आमा नभएपछि हरतरहले टुहुरो भएको पात्र छ– रने । उसको बाउ दिनभर खोयाबिक्रेमा हराउँछ । पछि सौतेनी आमा भित्र्याउँछ । रनेको टाउकोमा सही नसक्नुको पीडा एकपछि अर्को गर्दै थुप्रन्छ । जोगिएको धन पनि सौतेनी आमाले हडप्छे । पढलेख गरेर स्वाबलम्बी बन्ने उसको सपना चकनाचुर हुन्छ । ऊ भागेर मुर्कुची बजारतिर ओर्लन्छ । त्यसपछि जुठो भाँडा माझेर आफ्नो पढ्ने रहर पूरा गर्छ । उसको लागि जुठेल्नो नै सुनगाभा हुन्छ । पीडाको दहमा कठोर जीवन गुजार्दै उज्जवल जीवन बनाउने रनेको संघर्षशील जीवनको इतिवृत्तिबाट प्रगतिन्नोमुख समाजको परिकल्पना गरिएको कथा हो–‘जुठेल्नोको सुनगाभा’ । माछा मारेर जीवन चलाइरहेको मान्छेले बाढी आएको होस नराख्नाले जीवन नै समर्पण गर्नुपरेको कुरालाई ‘नियतीको फुर्लुङ्ग’ कथाल ेसमेटेको छ । सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ भनेझैँ सम्पत्तिको अभावले दशैँ मनाउन नसकेको माइलोको कारुणीक कथा ‘नमीठो दशैँ’ कथामा आएको छ । गरिबी भगाउन रगत र किड्नी बेच्न पुगेको माइलोले अर्काको देखासिकीमा धनको नजरले दशैँ त राम्ररी मनायो तरपछि अर्को किड्नीले काम नगर्दा उसको जीवन नै धरापमा परेको र दशैँ नमीठो र दशा सावित भएको देखाइएको छ । यसरी सामान्यवर्गको माहिलो भन्ने पात्रकोे सुखदुःखमा आधारित भएर सिर्जेको यस कथाले चाडबाड मनाउने नौलो रीतिथिति रहनुपर्छ जसले रिन हैन उत्साह ल्याउनुपर्छ भन्ने कुरामा कथाकारले जोड दिएका छन् । हस्तरेखा हेर्ने र त्यसमा विश्वास गरेर धन कुम्ल्याउने र गुमाउने दुबै थरी समाजका नालायक पात्र भएको ठहर ‘एक खोला दुई भङ्गालो’ कथाले गरेको छ । यस्ता अन्धभक्तहरूले समाजलाई पराश्रित मात्र पार्ने भएकोले रूढिबाढी कार्यमा नफस्न सचेत गराइएको छ । घुस लिने र घुस दिने दुबै पात्र समाजका लागि अहितकर मानिएकाले नयाँ नेपालको निर्माणका लागि घुसविहीन समाजको परिकल्पना गरिएको कथा हो–‘दुई लघुकथा’ शीर्षकमा अटाइएको कथा । जनताका पीडाका घडी कम हुँदै नजानुको मुख्य कारण शासनव्यवस्था फेरिए पनि काम गर्ने शैली नफेरिएकोले हो भन्ने ठहर गर्दै श्रमको उचित मूल्याङ्कन गर्न आह्वान गरिएको कथा हो– ‘बाल भरिया र ढाक्रे दाइ’ । परिस्थिति बदलेर हैन मनस्थिति बदलेमा मात्र प्रगतिशिल समाजको निर्माण गर्न सकिन्छ भन्ने ठोस निष्कर्षमा समेत उक्त कथा पुगेको छ ।अन्तमा, हामीले समाजलाई नचायौँ, तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ, रुवाइरहेछौँ । आनन्द बर्साउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । आँखा खोलेर हेर्न सके कोही पराई भेटिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ, हामी यहाँ । हृदय खोलेर हेरे प्रेम बर्सन्छ जताततै यहाँ । धनको, पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी, अब भित्र फर्र्कौँ र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ । हामी बेहोसीमै बोल्दा रहेछौ, आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए, यो हत्या र हिंसा किन ? हामीमा प्रेमको ढोका उघ्रेको भए, यत्तिविघ्न घृणा र सन्ताप किन ? बुझौँ, आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन । धनसम्पत्ति, पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिदैन । आफू को हो चिन्नैपर्छ, ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौड्न्छ मान्छे, धनसम्पत्ति, पदका पछि । हामी मान्छेले मानव प्रवृति छाड्न हुन्न, आफूमार्फत् संसार बिग्रनुहुन्न । यिनै र यस्तै विचार पोखेर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ भन्ने कुरा सम्प्रेषण गर्दै नेपाली लघुकथा विधामा कोशेढुङ्गा सावित हुन आइपुगेका लघुकथाकार टंकबहादुर आलेमगर (उपनाम– रोशन थापा) र उनको लघुकथा संग्रह कृति ‘कालो चायाँ’ लाई स्वागत गर्नु मनासिव ठहर्दछ ।

जनयुद्धसाहित्यको गतिलो दर्पण ः ‘रक्तमुच्छेल अंकुरण’

—नन्दलाल आचार्य
साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको विचार व्यक्त गर्नुहुने नेपाली राजनीतिकी जुझारु नेतृ एवं जनयुद्धकी सहासिली योद्धा रामकुमारी यादवको ग्याँस दुर्घटनामा परेर भएको दुखद निधनप्रति नतमस्तक हुँदै शब्दाञ्जली अर्पण गर्दछु र उनै जुझारु नेतृ यादवद्वारा मन्तव्य लेखिएको कवि राजेश विद्रोहीको कविताकृति ‘रक्तमुच्छेल अंकुरण’ वारे एकाध कुराहरू अघि सार्दै छु ।प्रगतिवादी चिन्तन र धरातलबाट नै नेपाली समाजले न्याय, समानता र स्वतन्त्रता प्राप्त गर्न सक्छ । श्रमजीवि, सर्वहारावादी एवं न्यायप्रेमी नेपाली जनताले उज्यालो घाम पाउने अपेक्षा सहित २०५२ सालदेखि अनवरत रूपमा लडेको युद्ध नै जनयुद्ध हो । जनसरोकार र जनयुद्धको विषयवस्तुलाई आधार बनाएर क्रान्तिकारी, समाजवादी, यथार्थवादी विचारलाई समेटी कविता लेख्ने कृष्ण सेन ‘इच्छुक’, पूर्णविराम, जसराज किराँती, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, रामप्रसाद ज्ञवाली, जगदीशचन्द्र भण्डारी, हरिगोविन्द लुइँटेल, पुण्य कार्की, देवी नेपाल, अनिल पौडेल, रमेश भट्टराई, सुधा त्रिपाठी, अमर गिरी, धीरेन्द्र प्रेमर्षि, रामविक्रम थापा, हीरामणि दुःखी, सुकुम शर्मा, प्रदीप बालाचन, गंगा श्रेष्ठ, अशोक सुवेदी, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, खेम थपलिया, डीपी ढकाल, नमुना, एम बटुवा, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृणराज अधिकारी, केदार शर्मा ढकाल, पूर्णवहादुर अधिकारी, माधवप्रसाद सुवेदी, निभा शाह, वेणु आचार्य, रामप्रसाद जैसी, यज्ञवहादुर डाँगी, देवेन्द्र पौडेल, आरपी तिमिल्सिना, अनिल श्रेष्ठ, भानु भण्डारी, यज्ञराज प्रसाई, दिनेश दुलाल, शोभा थापा, कमला रोक्का, चुनु गुरुङ, गणेश भण्डारी, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त, जनक महतारा, धनेश्वर पोखरेल, अनिल शर्मा, सीता शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, दीपक चिन्तक, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पञ्चकुमारी परियार, लोकेन्द्र विष्टजस्ता दर्जनौँ कविकवयित्रीहरूमा दरिलो स्थान बनाएका उदियमान् प्रगतिवादी कवि हुन्– राजेश विद्रोही । जनयुद्धलाई आफ्नो जीवन बनाएर शोषणरहित समाजको निर्माणमा जुटेका कवि विद्रोहीका कवितामा वर्गमाया, उत्तेजना, घृणा, सहिदश्रद्धा, स्नेहको फ्युजन पाइन्छ । उनका कविताहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन् । वर्गप्रेमी र वर्गघृणाको भाव छताछुल्ल रूपमा पाइन्छ । समाज रूपान्तरणका पक्षमा कवि विद्रोही कवितामा खरो साथ उभिएका छन् ।‘कवि राजेश विद्रोहीभित्र खाँट्टी कविमन पाएँ । कविता संग्रह ‘रक्तमुच्छेल अंकुरण’ नसिध्याइ निद्रा लागेन । वेजोड लेखेछन् । विशेषतः सहिदहरू वारेका कविता पढ्दा मन भक्कानियो । मेरो सौभाग्य नै हो कि जनयुद्ध मैदानका खरा र दरा भावनाको पाठक हुन पाएँ । कवि विद्रोहीभित्रको कवित्व भावनालाई लाखौँलाख अभिवादन । यत्रो विशाल मन र क्षमता सप्तरीभित्र पनि लुकेको पाउँदा सप्तरीको सेवामा आफूले जीवन विताएकोमा अहिले रत्तिभर पछुतो छैन । कवि विद्रोहीको जस्तै विचार भएका मात्र १०० मधेश पुत्र जन्मिएका भए र सोही अनुरूप काम गर्दिएका भए मधेशलाई काँचुली फेराउनबाट कसैले रोक्न सक्ने थिएन ।’ कवि विद्रोहीका विद्रोही विचारले भरिपूर्ण कविताकृति ‘रक्तमुच्छेल अंकुरण’ पढेपछि लिट्ल फलावर सेकेण्डरी स्कूल राजविराजकी शिक्षिका लक्ष्मी रिजालले दिएको यस प्रतिक्रियाबाट समेत कविको खुवीलाई आंकलन गर्न सकिन्छ ।एकचोटिको कुरा हो, ठूलो समुद्रमा आँधीबेरी आयो । सामुन्द्रिक तूफान यति भीषण रूपमा आयो कि समुन्द्रका छालहरू टाढाटाढाका बगर र किनारातर्फ हाम फाल्न थाले । छालसँगै सयकडाँै माछाहरू माछाका भुराहरू बगरमा फालिए । तूफान पछि त्यहाँ हज्जारौँ मान्छेहरूको मेला लाग्यो । उनीहरू बालुवामा माछाहरू तड्पिएको दृश्यहरू हेर्न आएका थिए । रातदिन पानीमा बस्ने माछाहरू पानी बेगरको बालुवामा तड्पिएर उफ्रिरहेका थिए । मान्छेहरूका लागि भने त्यो रमिता भएको थियो । हजारौँ मान्छेहरूको भीडमा एउटा मान्छेचैँ ती जीवित माछाहरूलाई दुईटै हातले टिप्दै पानीमा फ्याँक्दै गरिरहेको थियो । सयकडौँ माछाहरू उफ्रिरहेको ठाँउमा ऊ लगातार समुद्रमा माछाहरू फ्याँक्दै थियो । उसलाई देखेर मानिसहरूले भने,– पागल के नचाहिने काम गरिरहेको होला ? यत्रा माछाहरूलाई कहिले यसले समुन्द्रमा टिपेर हाल्न सक्छ । नचाँहिदो काम, दुस्साहसी काम किन गरेको ? यसको के अर्थ छ र ? ऊप्रति गरिएको टिप्पणी सुन्यो । अनि उसले जवाफ दियो,– म के गरिरहेको छु भन्ने कुरा मैले समुद्रमा फ्याँकेको एउटा माछालाई सोध । त्यसले मेरो कामको अर्थ बताइदिनेछ । वास्तवमा मृत्युको मुखमा तड्पिरहेको माछाहरूलाई टिपेर समुद्रमा पु¥याइदिने, माछाहरूलाई पुर्नजीवन दिने व्यक्तिलाई भीडले पागल बनाइदिएको छ । गम्भीरबहादुरहरूको कर्म पनि यो दूषित चेतनाले ढाकिएको समाजमा पागलकर्म ठहरिएको छ । उहाँको काम र जीवनचर्यालाई इङ्गित गर्दै विक्रमश्री एउटा कथा सुनाउनु हुन्छ भनी साहित्यकार पुन्य कार्की लेख्दछन् । त्यस्तै कवि राजेश विद्रोही पनि नेपाली समाजले पाउँदै नपाएका कुरा गर्छन् । जुन कुरो जो कोहीलाई पत्याउन गारो पर्छ । पत्याउनै नसकिने कुरा भए पनि ती नेपाल र नेपालीका कटु सत्य हुन् । हरेक कविताका हरफहरूमा नेपालीको दुःखलाई सुखमा लैजाने उपाय सुल्झाएको महसुस हुन्छ ।जर्मनेली, रूसी र चिनिया जनताले जन्माएका क्रमशः माक्र्सवाद, लेलिनवाद र माओवादलाई आफ्नो आदर्श ठान्दै मालेमावादको नेपाली माटो सुहाउँदो ‘प्रचण्डपथ’प्रति झुकाव, श्रद्धा, विश्वास खन्याउने जनडाक्टरका रूपमा परिचित कवि राजेश विद्रोही नाम सरह विद्रोही कवि हुन् । ४७ वटा कविताहरूको संगालो ‘रक्तमुच्छेल अंकुरण’मा समेटिएका सबैजसो कविताहरूमा मिति र स्थान लेखिएका छन् । थोरै मात्र कवितामा यी दुबै कुरा समेटिएको पाइन्न । कवि जहाँ पुगे र जेले उनलाई छोयो त्यसलाई टपक्क टिपेर मालामा उन्ने काम गरेका छन् । जनयुद्धको रणमैदानमा सहयोद्धाहरूको घाउमा मलहमपट्टी लगाउँदा, शरीर चिरेर गोली निकाल्दाका त्रासदी अवस्थाको सटिक चित्रण गर्न पनि कवि चुकेका छैन । कविमन कमलो हुन्छ । जनयुद्धमा उत्रेपछि कमलो मनलाई कठोरमा परिणत नगरी हुन्न । सहयोद्धाहरूलाई गुमाउँदाको मर्मस्पर्शी क्षणमा कवि शोकाकुल भएका देखिन्छन् । शोकलाई जोशमा रूपान्तरण गरी वर्गदुश्मनको किल्ला तोड्न र सहिदको सपनालाई साकार पार्न आह्वान गर्न समेत कवि भुलेका छैनन् । यस प्रकार उनी सोझासीधा निमुखा जनताका तर्फबाट बोलेका छन् । अवस्था अनुरूप कवितामार्फत् नै आन्दोलित बनेका छन् । कविले आफूले भोगेका, देखेका र अनुभव गरेका अनुभूतिहरूलाई कलात्मक तवरले प्रस्तुत गर्ने अठोट एवं अभीष्ट कवितालाई बनाएको भान हुन्छ ।एकमुठ्ठी सास शरीरमा छउँञ्जेल जसले जतिसुकै जोरजुलुम गरे पनि राष्ट्रियता बचाउने, नयाँ युग निम्त्याउने, क्रान्तिमा लागी नेपाली जनता वर्गदुश्मनसँग लड्न चुक्दैनन् भन्ने उद्घोष गर्दै कवि विद्रोही भन्छन्–
उज्यालो छर्ने चन्द्र र सूर्य
कहिल्यै निभ्दैनन्
देशका लागि रगत दिन
नेपाली चुक्दैनन् । (नेपाली)
गरिखाने वर्गको श्रम चुसेर र खोसेर खाने वर्ग नै दुनियाँको मालिक भएको परिप्रेक्ष्यमा सर्वहारा वर्गको मुक्तिको लागि निरन्तर क्रान्तिको लालझण्डा उठाउनुको विकल्प छैन भन्ने घोषणा गर्दै कवि विद्रोही भन्छन्–
सर्वहारा वर्गको मुक्तिको लागि
विचित्रको संसारलाई सचित्र बनाएर
विसंगति चेतनालाई सुसंगत बनाउन
अविचल जहाजको यात्रु बन्दै
निरन्तर क्रान्तिको रातो झण्डा उठाउँदै । (संसार र क्रान्ति)जीवन
जिउँने कला थरिथरीका छन् । अग्रसोचले युक्त जीवन साँघुरो कुनामा थुप्रिएर रहन सक्दैन । स्वाभिमानी जीवनले कर्मबाट, क्रान्तिबाट, संघर्षबाट वास्तविक जीवन खोज्छ । कविको भनाइ छ–
जीवन दुई ढुंगा बीचको तरुल होइन, हजुर
जीवन दुई ढुंगा बीचको डाइमाइट हो, हजुर
जीवन क्रान्ति हो, जीवन संघर्ष पनि हो
त्यसैले क्रान्तिमा म जीवन खोजिरहेछु, हजुर
अनन्तसम्म क्रान्तिकै बाटो रोजिरहेछु । (मान्छे र जीवन)
सर्वहाराहरूको राज्यसत्ता कायम गर्ने महान् लक्ष्यले प्रेरित भएर जनयुद्धमा होमिएका बेदप्रसाद भट्टराईलाई शाहीसत्ताले कब्जामा लिई निर्ममतापूर्वक हत्या गरेको क्षणलाई सम्झँदै कवि सहिदहरूको रगतले लाखौंलाख रक्तबीज क्रान्तियोद्धा जन्माएको स्मरण गर्दछन् ।
जब म पस्छु जनता माझ
अनि सुन्छु तिम्रा उर्जायुक्त विचार
हो, तिमीले मृत्युलाई पराजय गरेरै छाड्यौ
नयाँ रक्तबीजको दर्शन बनेरै गयौ । (रक्तमुच्छेल शब्द श्रद्धाञ्जली)
राष्ट्रघाती र विदेशी दलालहरूलाई पराजित गर्न नेपाली भूमिमा हजारौंहजार रक्तमुच्छेल अंकुरणहरू जन्मेको विचार व्यक्त गर्दै त्यस्ता रक्तमुच्छेल अंकुरणहरूलाई (नयाँ योद्धाहरूलाई) दृढ इच्छाशक्तिका साथ मुठ्ठी उठाएर सलाम गर्न कवि आह्वान गर्छन् ।
उन्नत र परिष्कृत चेतनाले धनी बनाउँदै
सुन्दर, शान्त, स्वर्णिम संसार निर्माण गर्दै
जन्मिए जनक्रान्तिका रक्तबीजहरू
हजारौं नेपाली रक्तमुच्छेल अंकुरणहरू । (रक्तमुच्छेल अंकुरणहरू )
सामन्ती सत्ता मात्र हैन सोचलाई नै धरासायी गर्न पसिनामा संसार देख्ने जतिलाई जनयुद्धमा होमिन कवि विद्रोहीले आह्वान् गरेका छन् ।
भोकै पेट मर्नुभन्दा लडी मर्नु वेस
मरे हामी सहिद हुन्छौँ, जिते हाम्रो पूरै देश
गरिव पनि हुनुपर्छ यो देशको मालिक,
बाँकी राख्न हुन्न अब सामन्तका सालिक । (भोको पेट र जनयुद्ध)
दबाएर बसिखानेहरूको एकाधिकार हटाई रुढिग्रस्त कुरूप समाजको रूपान्तरण गरेर समृद्धशाली समाज निर्माण गर्ने चाहनाबाट प्रेरित भई क्रान्तिकारी लालयोद्धाहरूलाई मुक्ति या मृत्युको पक्षमा उभिन आग्रह गर्दै कवि विद्रोही विद्रोह ओकल्दछन्–
मुक्ति या मृत्युकोउद्घोषका साथ
रक्तक्षितिजमा परेट खेल्ने
क्रान्तिकारी योद्धाहरू
शोषणरहित,वर्गविहीन
समाज निर्माणार्थ
लामबद्ध छन् अनन्तसम्म । (शोषण रहित संसार)
मनुवादी सोचले समाजलाई नकारात्मक संदेश सम्प्रेषण गरेको विचार राख्दै सोझो गोरु र स्वामीभक्त गधा बनेर दलितहरूले रहनुहुन्न । वर्गीय चेतनाले ओतप्रोत भई नेतृत्व तहमा पुग्न र आफ्नो हक अधिकार स्थापित गर्न कम्मर कसेर लाग्नुपर्ने विचार कविको छ । जनयुद्ध संहारको लागि हैन, मृत्युका लागि हैन, अशान्तिका हैन । निर्माणका लागि, जीवनका लागि र शान्तिका लागि भएको ठहर कविको छ ।
आमा ! मर्न हैन, बाँच्न जाँदै छु
अग्निकुण्डमा होमिन हैन, आमा
अग्निकुण्ड निभाउन जाँदै छु ।
लडाइँ हैन, शान्ति ल्याउन जाँदै छु । (त्यो छोरो)
मालिक र मजदुर नछुट्निे, सबै जना मिलेर कर्ममा लिप्त र मख्ख हुने, बेरोजगार एउटै नपाइने जताततै जनसरोकारका सुविधा प्राप्त अवस्था भित्र्याउने महान् आकांक्षा जनयुद्धको थियो भन्ने ठम्याइ कविको छ । सर्वहारा वर्गको अग्रदस्ता बनेर जनमुक्तिसेना देश र जनतालाई वर्गवैरीबाट बचाउन आएको विचार कविले प्रकट गरेका छन् ।
वर्गीयप्रेमको स्वर्गीय आनन्द
वर्गका निम्ति जीवन चढाउने
त्याग र समर्पणको महान् इतिहास भेट्टाउने
आहा ! कति राम्रो, कति महान् । (त्यो सुन्दर ठाउँ)
सगरमाथाको देशमा उदाएको प्रचण्डपथ पुँजिपति डाकाहरूको मृत्युपत्र हो भन्दै त्यसको राजमार्गमा हिंड्न कविले प्रेरित गरेका छन् ।
आडविक शस्त्रहरूको बीचमा
डाइनामाइट बनी पड्किएको
हो, यही हो ‘प्रचण्डपथ’ । ( प्रचण्डपथ )
गरिब जनताको पक्षमा लागेर असम्भवलाई सम्भव बनाउन कम्मर कसेर लाग्न सहयोद्धा कमरेडहरूमा कविले निवेदन गरेका छन् ।
क्रान्तिकारी नै अथक र अचुक
अविचल हाइ–टेक हौँ
श्रमजीवि वर्गको हाइ–टेक क्रान्ति हो । ( हाइ–टेक खोज्नेहरू)
सामन्तको एकछत्र राज भत्काउने ऊर्जाशील मानवको रूपमा कवि एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई उनले चित्रण गरेका छन् । कम्युनिष्ट दर्शन पढेपछि मातृभूमिको रक्षार्थ विद्रोही बन्दुक लिएर मुक्तियुद्धमा हामफालेको प्रसंग कोट्याउँदै कविले पुरानो सडेगलेको सत्ता नमिल्काएमा शोषित, उत्पीडित जनताले साँचो मुक्ति नपाउने ठोकुवा गरेका छन् ।
नेपाली ज्वलन्त आस्थाहरूमा जहाँ
लामबद्ध रहे मुक्तिकामीहरू थर्काई
सामन्तीहरूको एक छत्र शासन भत्काई
हुर्काइरहन्छन् समर्पित विचारहरूलाई ।(इच्छुक ! तिम्रै सम्झनामा)
गर्नुपर्ने कुरा गर्दा विद्रोही हुनुपर्ने, आफ्नो हक माग्दा आतंककारीको विल्ला बोक्नुपर्ने जस्ता इतिहासका पाटाहरूलाई स्मरण गर्दै अन्यायी बन्दुकलाई परास्त गर्न बन्दुकै उठाउनु जरुरी ठान्दछन् ।
उन्मुक्ति र अधिकारको लागि त
कुरूप संसार पो फेर्नुपर्छ त
बन्दुकलाई खत्तम गर्न त
बन्दुक नै बोक्नुपर्छ ।
समग्रमा कवि विद्रोहीका काव्यगत प्रवृतिहरूलाई यस प्रकार केलाउन सकिन्छ ।
(१) समाजवादी, यथार्थवादी धारामा कलम चलाउने सशक्त कवि,
(२) वर्गीय चेतनाले ओतप्रोत भई माक्र्सवादी दर्शन अंगिकार गर्ने कवि,
(३) पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याउने कवि,
(४) जनयुद्धका क्रममा देखे, भोगेका कुराहरूलाई रिठ्ठो नविराई प्रस्तुत गर्ने कवि,
(५) वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोज्ने कवि,
(६) साहित्य, कलाबाट पनि समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार राख्ने कवि,
(७) जनयुद्धको सजीव चित्र उतार्ने कवि,
(८) मालेमावाद र प्रचण्डपथलाई आफ्नो आदर्शपुञ्ज ठान्ने कवि,
(९) कमरेडहरू सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउने कवि,
(१०) मुक्तिको रणमैदानमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याउने कवि,
(११) यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिशामा लाग्न उक्साउने कवि,
(१२) राज्यआतंकको खुलेर भत्र्सना गर्ने कवि,
(१३) राष्ट्रप्रेमी र राष्ट्रसुधारको स्वर गुञ्जाउने कवि,
(१४) श्रमजीविहरूको जीत निश्चित रहेको आशावादी विचार प्रेषण गर्ने कवि,
(१५) दलितहरूको आवाज बुलन्द पार्ने कवि,
(१६) नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गर्ने कवि,
(१७) आमूल परिवर्तनको पक्षमा उभिएर चेतना छर्ने कवि ।
अन्तमा के भन्न सकिन्छ भने सप्तरी जिल्लामा जन्मेहुर्के पनि र मैथिली भाषामा पोख्त भए पनि कवि विद्रोहीले मुलुकका जल्दाबल्दा विषयमा लक्ष्य भाषा (नेपाली)मा मनमोहक भाषाशैलीमा कविता लेखेका छन् । साहित्य संसारमा रमाइरहेका कवि विद्रोहीका कृतिले प्रकाशन, भाषिक परिष्कार, परिमार्जन र समालोचनाकोे चौतारी भेटे प्रगतिवादी नेपाली साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपूर्ण हुनसक्छ । उनका कवितामा नयाँ विचार, नयाँ शैली, विम्ब, प्रतीकको उचित समायोजन छ साथैे चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी कविता बनेका छन् । अझ परिष्कारको खाँचो महसुस हुने ठाउँ भने प्रशस्त छन् । कवितामा गम्भीरता र रोचकता भर्न सक्नु उनको विशेष खुबी हो । कवि राजेश विद्रोहीका कविता सार्थक र बौद्धिक छन् जसले उनको माक्र्सवादी साहित्य अध्ययन र जनयुद्धको अनुभवको व्यापकता झल्काउँछ ।.