Tuesday, May 25, 2010

जस्तो मति उस्तै गति

पात्रहरूः—
प्रभु ः– पतिप्रभा
ः–प्रभुकी पत्नीप्रमोद
ः– प्रभा र प्रभुको छोरोप्रमिला
ः– प्रभा र प्रभुकी छोरीप्रकाश
ः– प्रभा र प्रभुको छिमेकीप्रणिता
ः– प्रकाशकी पत्नीप्रपन्नाचार्य
ः– गाउँका जान्ने बुझ्ने मानिसप्रकृति
ः– प्रपन्नाचार्यकी पत्नीअन्य
ः– मञ्चमा भौतिक उपस्थिति देखाउने तर अमुक व्यक्तिहरूस्थान
ः– पीपलको चौतारीसमय
ः– दिनको नौ बजे
(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ—
पत्नी पीडित महासंघको दोबाटे कार्यालय
पत्नी पीडितहरू — एक हौं
पीडाको कहिरन — लेखौँ÷लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।
प्रभु ः–(माइक्रोफोनमा बोलेको जस्तो गरेर) हेलो, हेलो, हेलो । आउने जति आउँनुस् । जाने जति जानुस् । जोजो जानुहुन्छ, जानुस् तर पीडा बोकेर फेरि आउँनुस् । पीडा अरूले दिएको हुनुहुन्न । मात्र पत्नीले दिएको पीडा हुनुपर्छ । आजकी एक्काइसौँ शताब्दीकी पत्नीले दिएको पीडा हुनैपर्छ । पेट नभरिउँञ्जेल पीडा खानुस् । भरिएपछि यहाँ आउनुस् । पीडा जति यहीँ खन्याउँनुस् । अनि रित्तो पेट पार्नुस् । यो ठाउँ पत्नी पीडित पतिहरूको पीडा जम्मा हुने पोखरी हो । (यत्ति भन्दा नभन्दै मान्छेहरू त्यहाँ जम्मा हुन्छन् ।)
प्रकाश ः– (नमस्कार गर्दै) प्रभु, पीडाको पोखरीमा के फुल्छ ? के कमल फुल्छ ?
प्रभु ः– (नमस्कार फर्काउँदै) हैन, हैन । कमल फुल्दैन । यहाँ फुलेकी कमली अन्त्य भएको इतिहास छ । हुर्केकी मखमली ओइल्याएको प्रमाण छ । तिनै मखमलीहरू बाइसौँ शताब्दीमा पनि पतिहरूलाई पीडा दिन सक्षम हुन्छन् । तिनीहरूलाई आजै ओइल्याउन आवश्यक छ । तिनीहरूलाई पाठ पढाउन पनि पोखरी निर्माण हुनुपर्छ ।
प्रणिता ः– (अघि सर्दै) उसो भए यो नाङ्गो नाच यहाँ किन ? मान्छे बहकाउन कत्रो नाटक !प्रभु ः– (तथास्तु भन्दा हात उठाएझैं गरेर) शान्त, शान्त बालिके । मसँग पीडाको सानो कुवा छ । त्यस्तै कुवाहरूको मेल र योगबाट म पोखरी निर्माण गर्न चाहन्छु । त्यस पोखरीमा कमलीहरूको इतिहास फुलाइरहेको हुन्छु । हुर्किरहेका भविष्यका मखमलीहरूलाई पाठ सिकाइरहेको हुन्छु ।
प्रणिता ः– (रिसाउँदै) धत्, यो म यत्री स्वास्नी मान्छेलाई पनि बालिके भन्छ । नारीको तागत नूनभन्दा चर्को छ । नारीको आवाज खुनभन्दा महंगो छ । नारीको नसा खोर्सानी भन्दा पनि खरो छ । हाम्रो एक चुड्कीमा सारा पतिहरू पत्नीकै वरिपरी (जाँतो घुमेझैं हात घुमाउँदै) ¥याइँ¥याइँ घुम्छन् र सुख जति धुलोपिठो पार्छन् । हाम्रो सुख तिमेरूको दुःख हुन्छ । हाम्रो एक चुड्की तिमेरूको फुर्ती हुन्छ । पहिले पत्नीलाई दुःख पतिलाई सुख, अहिले पत्नीलाई सुख पतिलाई दुःख । नारी–पुरुष बराबरी । सारा पतिका पीडक पत्नीहरू— जिन्दावाद ! सारा पत्नीका पीडक पतिहरू— मुर्दावाद ! (ऊ आफ्नो पति प्रकाशकोे कठालो समाएर मञ्च बाहिर ल्याउँछे ।)
प्रभु ः– देख्नुभो त, महानुभावहरू ! पत्नी राज्यमा पतिको कस्तो हालत हुँदो रहेछ । महानुभावहरू ! (आफ्नो घर देखाउँदै) उः त्यो घर छ नि । हो, त्यस घरमा एक पत्नी महारानीको खोपी छ । मौसूफ त्यहीँ विराजमान होइबक्सन्छ । विहान सवेरै चिया–नास्ता ज्युनार गरिबक्सन्छ । विहान आठ बजे मोर्निङ्ग वाकका लागि सवारी होइबक्सन्छ । नौ बजेसम्ममा पतिले खाना तयार पारिसकेको हुनुपर्छ । पत्नी महारानीका निमित्त पतिले बाहिरीदेखि भित्रीसम्मका लुगा वाथरुममा टक्रयाइसकेको हुनुपर्दछ । मन तातो पानीले ट्याङ्की भर्दिसकेको हुनुपर्दछ । स्नान पछि मौसूफको डिनर ज्युनार हुन्छ र अफिसतिर सवारी हुन्छ । त्यसपछि भने सञ्चको श्वास फेर्न पाइन्छ । फेरि साँझमा त उही कडा ड्युटी गर्नैपर्छ । मौसूफ सरकारका आदेशहरू अक्षरशः पालना नगरे के–के भोग्नुपर्छ, पर्छ ।
प्रपन्नाचार्य ः– के–के भोग्नुपर्छ ? हामी पनि सुनौँ न ।
प्रभु ः– के भन्नूँ ! भन्न पनि लाज हुन्छ ।
प्रपन्नाचार्य ः– भएको कुरा भन्नलाई केको लाज । लाज मान्ने मान्छे भए यत्रा नाराहरू लेखेर किन मान्छे भेला पाथ्र्यौ ?
प्रभु ः– लौ त भन्छु । त्यसको नालीबेली छैन । लेखाजोखा छैन । (रुन्चे स्वरमा ) गल्ती गरेमा मात्र दुई घण्टा मुर्गा बन्नुपर्छ । मात्र आधा घण्टा डान्स गरेर पत्नी महारानीलाई खुस तुल्याउँनुपर्छ । के गर्नु बाचामा बाँधिए पछि निल्नु न ओकल्नु हुँदो रहेछ । अति भएपछि मात्र बल्ल होस खुल्यो । होस खुलेको छ र पो म यहाँ तपाईंहरू सामु छु । नत्र त गुलामी गरिरहेको हुनेथिएँ ।
प्रकृतिः– महिलालाई मैला बनाउँन खोज्दा यस्तै हुन्छ ।
प्रपन्नाचार्य ः– अनि यस चौतारीमा किन आएका त ? किन यो संगठन खोल्यौ ?
प्रभु ः– किन भन्नूँ । आफूलाई परेको भए चाल पाउँनुहुन्थ्यो । आजसम्म म जीवनमा १० पटक मुर्गा बनिसकेँ । १५ पटक महारानीलाई डान्स देखाइसकेँ । हिजो बेलुका खै कहाँ सानो त्रुटी भएछ । आज विहानै सजाय भोग्नुपर्ने फैसला सुनाइयो । पहिलेकै दरमा भए त ठीकै थियो । चारैतिर महंगीले आकाश छोयो रे । हरेक कुराको भाउ बढेजस्तै सजायको पनि भाउ बढ्यो रे । अब मैले दुई घण्टाको बदलामा तीन घण्टा मुर्गा बन्नु पर्ने भो रे । आधा घण्टाको सट्टामा एक घण्टा डान्स गर्नुपर्ने भो रे । जब सजाय बढाइएको ज्ञात भो, ममा विद्रोह जाग्यो । विग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर । सन्यास जीवन धारण गरियो । बस् लण्ठासाफ !
प्रकृति ः– कुरा त ठीकै हो । बाचामा जो बाँधिने काम गर्छ, त्यस अनुसार काम फत्ते गर्नैपर्छ । तिमी उम्कन पाउनौ ।
प्रभु ः– नियमलाई गोली मार्दिएँ । म अब घर फर्कन्न । मैले पूर्णरुपेण सन्याश्रम लिएँ । म पीडा खाएर प्राण बचाउँदिन । म साधुको भेषमा सोझा पतिहरूलाई उकास्छु र पत्नीहरूलाई पीडित बनाउँदै जान्छु । (केही कडा स्वरमा) अनि सबैले भेट्नुहुनेछ । प्रत्येक घरमा पीडा सहेर बाँचेका पत्नीहरू ।
प्रपन्नाचार्य ः– एउटा बिराउने सारा पिराउने । यो त जायज काम होइन त ।
प्रभु ः– जायज र नाजायजको तुलना अब सिद्धान्तमा हुन्छ । मेरो सिद्धान्तले भन्छ— जति पति पीडामा बाँच्ने पत्नीहरूको सङ्ख्या बढी हुन्छ त्यत्ति नै पत्नी पीडामा बाँच्ने पतिहरूको सङ्ख्या कम हुन्छ । यो नियम माँग र पूर्तिको नियमसँग मिल्छ । अर्थात् पत्नीको मूल्य घट्दा पतिको मूल्य बढ्छ भने पत्नीको मूल्य बढ्दा पतिको मूल्य घट्छ । मेरो उद्देश्य सारा पत्नीहरूको सम्मान क्षय गराउँनुछ । तसर्थ महानुभावहरू ! आउँनुस् पतिहरूको सम्मानमा वृद्धि गराऔँ ।
प्रकृति ः– उसो भए तिमी पत्नीलाई खेलौना नै सम्झन्छौ, हैन ?
प्रभु ः– कागले आफ्नो नाम आफै काड्छ । मैले भन्न पर्दैन ।
प्रपन्नाचार्य ः– प्रकृति ! तिमीले धन्दा मान्नुपदैन । अब तिमी घर जाऊ । पति एउटा पाङ्ग्रो पत्नी अर्को पाङ्ग्रो । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखान बुझेकै हौली । मैले धेरै भन्नु नपर्ला । (ऊ जान्छे । एकै क्षणमा प्रभुका छोराछोरी क्रमशः प्रमोद र प्रमिलाको प्रवेश हुन्छ ।)
प्रमोद ः– (आत्तिएझैं गरेर) बाबा, बाबा आमाको नाना खै ?
प्रभु ः– अझ पीडा थप्न आएका तिमेरू ! तेरी आमाका नाना थानामा पुगे ।
प्रमिला ः– बाबा, भोक लाग्यो ! खाना !
प्रभु ः– अब आमाले मामा बोलाउँछे । मामाले खाना बनाउँछ । त्यत्तिञ्जेल तिमेरू चाहिँ हावा खाएर बस्ने । अहिले जाओ, झट्टै गइहाल । (केही बुझेजस्तो केही नबुझेजस्तो गर्दै दुबै बाहिरिन्छन् ।)
प्रभु ः– यिनीहरू मेरो सेरोफेरोबाट त हटे । प्रणिताले प्रकाशलाई आफ्नो पञ्जामा पारेर पीडाको पहाड बोकाएझैं आज सारा पतिहरू पत्नीको पुच्छर भएका छन् । मेरो यस महान् अभियानमा साथ दिन खुलेर कोही आएनन् । हुन त, पुच्छर हुनु र पुच्छर पार्नु पौराणिककाल देखिकै रीतिथिति हो ।
प्रपन्नाचार्य ः– अनि त्यसको उलंघन गर्न हज्जार जिब्रा भएका शेष नागले त सकेनन्, महादेवको त वसको कुरा रहेन भने तिमी हामीको के जोर चल्छ र ? महिलाको मन बुझेमा नै महान् काम मज्जाले फत्ते गर्न सकिन्छ ।
प्रभु ः– (हेलैसित हात जोडेर) पत्नीभक्त परमेश्वर प्रपन्नाचार्य प्रभु ! प्रष्ट सुन्नुस् । आफ्नी पत्नीलाई घर पठाएर पत्नीका वारेमा प्रकार प्रकारका कुरा प्रकट गर्न लाज लाग्दैन तपाईँलाई । सारा पतिहरूको पीडा परपर पार्ने हो भने मनैदेखि, तनैदेखि फरक्क फर्किनुस् । आउनुस् यस महायज्ञमा साथ दिनुस् ।
प्रपन्नाचार्य ः– प्रभु ! तिमीले गलत बुझेछौ । तिम्रो दुःख साराको दुःख हुनसक्दछ । दुःख परेकाहरूले मात्र तिम्रो साथ दिनुपर्छ भन्ने छैन । नारी नाम महान् छ । यही महानता भित्र तिमी पनि अल्झियौ । म पनि बल्झिएँ । साथ होसियारको लिनुपर्छ, वात काम चोरको पनि सुन्नुपर्छ । काम नाम राख्ने गरी गर्नुपर्छ ।
प्रभु ः– हामीकहाँ यही छ । आज जसलाई जे पर्छ उसले मात्र सहन्छ । भोलि जसलाई जे पर्ला उसैले मात्र सहला । एकले अर्कोलाई अर्कोले एकलाई सहयोग गर्ने र सहयोग लिने चलन नै छैन । हिजो छिमेकीकहाँ चोरले चोरी गर्यो म टुलुटुलु हेरी बसेँ, भोलिपल्ट मकहाँ चोरी गर्ला ऊ टुलुटुलु हेर्ला । चलन यस्तै छ । तर आज चाहिँ मलाई पर्यो, मजस्तै पर्नेहरू आओ । सडक जाम गरौँ । आम हडताल गरौँ । पत्नी पीडित पतिहरूको महासंघको विस्तार गरौँ । समस्या अझै चर्काऔँ । पत्नी विरोधी माहोल बनाऔँ । समस्या जन्माऔंँ । समस्या खुवाऔंँ । समस्या लगाऔंँ । समस्या नचाआँैं ।
प्रपन्नाचार्य ः– (कडा स्वरले) समस्या ! समस्या !! समस्या !!! यता समस्या, उता समस्या, जताततै समस्यै समस्या । समस्याको यस महासमुद्रबाट सरासर सास्ती मुक्त गर्न नसक्नु सरोकारवालाहरूको सोचको कमी हो । तसर्थ पुरुषहरू महिलाकहाँ जाऔंँ । महिलाहरू पुरुषहरूकहाँ धाऔंँ । आपसमा मिलेर मिलन राज्य बनाऔंँ । विछोडको विद्रुप विष नपिआँैं, नपिलाआँैं ।
प्रभा ः– (ताली बजाउँदै मञ्चमा एक्कासी देखापर्छे ।) महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरा मसिना कुराहरू राख्दै छु । (प्रभुतिर फर्केर) मेरा पति महाशयको नजरमा यो संसार सबैका लागि र सधैँका लागि स्वर्ग थियो । म नयाँ छँदा मलाई उहाँ स्वर्गकी अप्सरा बनाएर राख्नुहुन्थ्यो । म उहाँकी भोग्या वस्तु थिएँ । न म काम गर्न पाउँथेँ न उहाँ नै दुई पैसा कमाउँनुहुन्थ्यो । मैले पुर्खेउली धन जोगाउन हरप्रयत्न गरेँ, सबै प्रयत्नहरू बालुवामा पुल बनाए सरि भए । म रातोदिन उहाँलाई खुशी पार्न, मनोरञ्जन दिन खटिएकी थिएँ । त्यस बेला आम्दानी चाराना हुन्थ्यो भने खर्च सोह्र आना हुन्थ्यो । उहाँ वर्ष पाँचेकमै करोडपतिबाट कंगालपति हुनुभयो । उहाँसँगसँगै म र हाम्रा यी (छोराछोरीतिर हेरेर) दुई सन्तान पनि कंगालपतिका हिँस्सेदार भयौंँ । हाम्रो भविष्य कुहिरोको काग भयो । ठूलो प्रलय आएपछि मैले एउटा सर्त तेर्साएँ ।
प्रपन्नाचार्य ः– सर्त के थियो ?प्रभा ः– (प्रभुतिर संकेत गदै) भन्नुस्, सर्त के थियो ? मुख खोल्नुस् ।
प्रभु ः– (मलिन स्वरले) सब थोक नासिएर, सब थोक मासिएर मरुभूमि भएको यस घरलाई म पहिलाझैँ हराभरा पार्छु, सदाबहार राख्छु भन्ने यिनको सर्त थियो ।
प्रभा ः– मुख्य कुरा महत्वपूर्ण हुन्छ । कुरो चुरोमा नै पुगेको छैन । धन छउँञ्जेल उहाँले मलाई सक्तो सताउँनुभयो, भरमग्दुर नचाउँनुभयो । पुर्खेउली धन छउँञ्जेल धनको चुरिफुरी देखाउँनुभयो । हामीलाई पनि जोड्न दिनुभएन । कंगालपति भएपछि मैले प्रस्ताव राखेँ– अब म कमाउँछु । मेरो कमाइले बाँचुञ्जेल मेरो भनाइ अनुरूप तपाईं चल्नुपर्छ । उहाँले त्यत्तिखेर स्वीकार्नु भयो । जे भोगेकी थिएँ मैले उहाँलाई त्यही मात्र गर्न लगाएकी हुँ । यसमा मेरो के दोष ? शुरुवात उहाँले नै गर्नु भा‘को हो क्यारे । अहिले यो विद्रोह ? महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरो कुराको सुनुवाइ गर्न अनुरोध गर्दछु । (प्रभुतिर फर्केर) बोल्नुस् । अघि बढेर बोल्नुस् । साधु भएपछि अझै स्वतन्त्र भएँ भन्ठान्नुभएको होला । अझ परतन्त्री बन्नुपर्छ । सहमतिमा आए जे पनि सम्भव हुन्छ । असम्भव मेरो शब्दकोषमा छैन ।
प्रपन्नाचार्य ः– हो, प्रभु ! प्रभाको कुरा सत्य हो ?
प्रभु ः– (मनमनै) हुनसम्मको अल्छ्याइँ त मैले पनि प्रदर्शन गरेकै हुँ । म पनि श्रीमती जस्तै कमाउने भएको भए यस्तरी काम किन गर्नुपथ्र्यो ? ममा पुरुषत्व हराएको रहेछ । आफूले श्रीमतीबाट अपहेलनना पाएँ भन्दैमा अरूलाई पनि भड्काउँदै हिँड्नु किमार्थ उचित होइन । यो फत्तुरको सन्याश्रम रोज्नुभन्दा कर्मशील बन्नु लाख गुणा उत्तम हो । मसँग पाखुरी चलाउने क्षमता पनि छ । सानो तिनो जागिर खाने योग्यता र अनुभव पनि छ । अरूका श्रीमतीले कमाउँदैनन्, मेरीले कमाउँछे । आखिरमा आम्दानी बढ्नु र बढाउनु त उत्तम हो नि । मैले पनि उत्पादनमुखी अन्य काम गर्न थालेँ पछि त श्रीमतीले त्यस्तो व्यवहार नगर्ली ।
प्रपन्नाचार्य ः– के हो ? किन बोल्दैनौ ?
प्रभु ः– (सर्माउँदै) हो, सबै कुरा सही हो ।
प्रपन्नाचार्य ः– प्रभु, सही पनि भन्छौ, अर्थोक केही पनि बोल्दैनौ । बोल्नुपर्ने ठाउँमा बोल्नुपर्छ ।
प्रभु ः– (मुण्टो हल्लाउँदै र केही सर्माउँदै) हो, म नै गलत हुँ । पुर्खेउली धन बढाउँनु पर्नेमा सक्दै गएँ । पत्नीको सर्त मान्नुपर्नेमा लत्याउँदै गएँ । कस्तुरी मृगले आफ्नै नाभीबाट निस्केको बासना थाहा नपाई रनवन डुलेझैँ म पनि दगुरेँछु । (प्रभातर्फ फर्केर) अब म होसमा आएँ । मेरो पुनर्जन्म भयो । जसरीे भए पनि कमाउँछु अब । पाखुरी चलाएर होस् या दिमाख खियाएर होस् । जबसम्म मेरो मति सुधारोन्मुख र उत्पादनमुखी हुन्छ तबसम्म मलाई तिमी त्यो गतिमा लग्न पाउँदिनौ जुन गति मेले भोगेर आएको छु । (प्रभा खुशी हुन्छे र सर्माउँदै प्रभुका हात समाउँछे । ऊ पनि खुसी हुन्छ । सबैले ताली बजाई रहन्छन् । पर्दा विस्तारै खस्दै जान्छ ।)
२०६५.०५.०७ (दायित्व)

Wednesday, May 19, 2010

राष्ट्रिय अस्मिता

कहिल्यै नजलेकी
यसवर्ष तिमी जल्न पुग्यौ
कहिल्यै त्यत्तिविघ्न नगलेकी
यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ
हुन त हो ,
कही नभाको जात्रा हाँडी गाउँमा
यो पनि यहीँ
त्यो पनि यहीँ
सबै यहीँमात्र छ
र त धुलो उडिरहेछ
र पो असाध्यै ज्वाराभाटा चलिरहेछ ।
एक गर्भवतीकै रुपमा
तिमी धेरै कालसम्म विस्तारामा थियौ
अब भने ,
पलपलमा तिमीले इतिहास रच्नुपर्ने भयो ।
नयाँ वसन्तको आगमन सँगसँगै
हज्जारौं भञ्ज्याङ्गहरु जोड्नुपर्ने भयो ।
हरेक जलेका स्थानहरुमा नयाँ पालुवाले भर्नुपर्ने भयो ।
धन्य, चन्द्र–सूूर्य अंकित ध्वजा !
तिमी छौ
र पो म तिम्रो छहारीमा छु
र अरुहरु पनि
एकताको अंगालोमा बाँधिएका छन्
आस्था र विश्वासको पछ्यौरीले बाँधिएका छन् ।।

Wednesday, May 12, 2010

आजका मान्छेहरु

रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु
सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु
अर्काको मन बुझ्न खोज्ने मनहरु
थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु ।

कस्तो विडम्बना
के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?
आवश्यक छैन
रुखहरुले शिशीरमा नाङ्गिनैपर्छ भनेर
नाम नाममा लज्जित आँखा जन्माउनैपर्छ भनेर
यसो नहुने हो भने
नाङ्गिएर आउने वसन्तको खाँचो छैन
पात्तिएर आउने सभ्यताको मृ्ल्य छैन
यो कलम पनि जोडतोडका साथ
ह्वालह्वाली मसी छाद्दो छ
शिशीरलाई पचाएर रुखहरु वसन्त अंगालृ्न्
अत्याधुनिकता पन्छाएर
मान्छेहरु संस्कारपृ्र्ण सभ्यताको
गम्भीर पहाडहरु उक्लियृ्न्
दानव मन पन्छाएर मानव मन धारण गरुन् ।

Sunday, May 9, 2010

विदेशी ‘क्षितिज पर’लाई स्वदेशी आँखाले नियाल्दा



पहाडको फेदैमा मेरो छ गाम हजुर
गरिवको छोरो परेँ गगन मेरो नाम हजुर ।

काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि
आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर ।

आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर
हुने खानेलाई नै पुरस्कारका खाम हजुर ।

थुप्रै हुन्छन् मान्छेहरू ढिलो आयोग खुल्दा
छैन हामीसँग बुझाउनलाई त्यहाँ दाम हजुर ।

कहाँ जाऊँ, के गरूँ जीवनदेखि हार खाएँ
यो वैरागीको जाने छैन कहीं पनि ठाम हजुर । (‘हजुर’ शीर्षक दिइएको केदार श्रेष्ठ ‘गगन’को ‘क्षितिज पर’ कृतिमा समेटिएको गजल)

आफूले आफ्नै ढंगले सृष्टि गर्नु एउटा काइदा हो, अरूले रचेका कुरा वारे भन्नु जोखिमको विषय हो । ठूलाले जे भन्दा पनि मान्नु पर्छ सानाले, सानाले रिठ्ठो विराएमा त्यो हुने गर्छ अबगालको बिउ । कहिले जस भेटिन्छ त कहिले अपजस । लेखनमा जसको मनोकांक्षा राख्दा असफल भइँदो रहेछ । जस्तो देख्यो त्यस्तै नलेखीकन पूर्वाग्रह वा अनुग्रह मध्ये एकको बुइँमा चढिएला कि भन्ने त्रास हुन्छ मनमा । गजल पारखी केशु विरहीले नेपाली गजल विधाको विकासका निम्ति मेरो अवधारणा माग्नुभएको रहेछ । नेपाली साहित्यको विद्यार्थी भए पनि मौलिकरूपमा गजलको अवधारणा बनाउँन सकिनँ । गजल पढ्न रस छ तर लेख्ने रीतिको कमि छ । मन नै नखाने पंक्तिबाट गजल निर्माण नहुने भएकाले मेरो वसभन्दा बाहिर रहेछ गजल भन्ने लाग्दै छ । गजल निर्माण चानचुने चुनौति होइन । गजलको बाढी आएको छ । त्यस बाढीमा मोतीहरू पनि तैरिरहेका हुन्छन्, फोहरमैला पनि उत्रिएका हुन्छन् । मोती जति चुन्नेर भण्डारण गर्ने र फोहरमैला जति पाखा लगाउने यो एउटा काइदा हो । माया गर्नेहरूले नै गजललाई जीवन्त रूप दिनुपर्छ । नामका भोकाहरूले गजललाई फजल बनाएको टुलुटुलु हेर्न हुन्न । दियाले– ३, ओखलढुङ्गा निवासी साहित्यकार इन्द्रकुमार श्रेष्ठकी बहिनी रीता श्रेष्ठका गजलहरू पत्रपत्रिकामा धेरै आउँथे ३, ४ वर्ष पहिले । मलाई खुब मन पर्थे पनि । उनको रुचिलाई सम्बोधन गर्दै पत्रमार्फत् मैले किन गजल लेख्नुहुन्छ, अन्य विधामा ठूलो मन पारेर ठूलै क्षेत्रफल ओगट्ने गरी लेख्न पाइन्छ भनेर सोधेको थिएँ । उनले भनेकी थिइन्–“गजल जस्तो रसिलो र मनमा अमीट छाप छाड्ने कुनै विधा नै छैन । अथाह कुराहरूलाई गजलका दुईचार हरफमा उतार्न सकिन्छ । तपाईंले ३,४ हजार शब्द खर्चेर लेखेको नाटकलाई गजलका १०, १२ हरफले समेट्न सक्छन् । निरन्तर साधना गर्ने साधकका निम्ति गजलमा मनको कुरा लेख्नु घिउभात खाए सरह हो, रहर मात्र गर्नेहरूका लागि ओखर चवाउनुभन्दा साह्रो हो ।” (गजलप्रेमी रीता श्रेष्ठ त्यसबेला मुटुरोगले पीडित थिइन् । विगत तीन वर्षदेखि मेरो कुनै सम्पर्क छैन । मेरा साहित्यिक मित्र तथा उनका दाजु दियाले– ३, ओखलढुङ्गा निवासी साहित्यकार इन्द्रकुमार श्रेष्ठसँग धेरै पहिले उनका बारेमा जिज्ञासा राख्दा बच्न र बचाउन गाह्रो छ, काठमाण्डूले हारेको छ भन्थे । अचेल भने रीताको कुरा उठाउँदा उनी कुनै उत्तर दिइरहेका छैनन् । सायद कुनै अनीष्ट अवस्थाको सामना गर्नु परेकोले पो हो कि भन्ने शंका लागिरहेछ । यस बारे कुरा प्रष्ट बुझ्ने अवसर पाइएछ भने उनका गजल सम्बन्धी अवधारणाहरू छुट्टै अध्यायमा लेख्नेछु ।)

सँगै बसी पिरतीको गीत गाए हुन्थ्यो
जीवनभरि नछुट्टिने नाता लाए हुन्थ्यो ।

पिरतीको खडेरीले यो ज्यान गल्न लाग्यो
यो मायाको सागरमा डुब्न पाए हुन्थ्यो ।

चोरी चोरी हेरी मात्र के हुन्थ्यो र
सुनकोशीको पानी छोइ कसम पनि खाए हुन्थ्यो ।

बाटैभरि मुस्कान छर्दै किन टाढा भाग्छौ ?
कहिलेकाहीँ यतातिर पनि धाए हुन्थ्यो ।

अभावले मात्र यो गगनलाई ढाक्छ किन ?
फूलैफूलको वहार पनि कहिलेकाहीं आए हुन्थ्यो । (अभावको जिन्दगी)
यस पटक भने दुबईलाई कर्मथलो बनाई लेखन विधामा सक्रिय यी माथिका गजलका स्रष्टा केदार श्रेष्ठ ‘गगन’को ‘क्षितिज पर’ गीतिकृतिको विचरण गर्दा मनमा उठेका छालहरूलाई लिपिबद्ध गर्न तम्सिएको छु । ढाँचाकाँचा सामान्यतः भिन्न प्रकारको छ । विदेशी माटोमा उभिएर स्रष्टा केदार श्रेष्ठ ‘गगन’ लेख्छन्–
सोध्छन् होला मेरा साथीहरू म आउने खवर
कहिलेकाहीं निराशाले बनाउँदो हो उनको मन बगर ।

गाई चराउँदै मेरै यादमा चहार्दी होलिन् वनभरि
सपनीबाट ब्युँझिएर खोज्छिन् होलिन् ओछ्यानभरि । (जीवन साथी)

बीच बाटोमै हराएँछु क्षितिज पर जान खोज्दा
बिचल्लीमा परेँ म त सागरको मोती रोज्दा । (आफूभन्दा प्यारो माया)

कहिँलेकाहीँं रिसाइदिँदा कान्छी भनी बोलाउँला
बाध्यताले टाढा भएँ भने सम्झिएर फर्की आउँला । (मुटुभरिको माया)
यता म भने मेरै मुलुकमा नै बेरोजगारी हात हल्लाउँदै सामन्तहरूको चाकरी गर्न लिप्त छु । चाकरी नगरी पेट नभरिने र अझ चाकरी नगरीकन यहाँ त शिर ठाडो पार्न नसकिने रोगले मलाई पनि गाँजेको छ । मेरो वर्तमान शब्द तौलेर बोल्नुपर्ने अवस्थामा छ । एकाध पटक शब्दले नै ज्यान जोखिममा परेको कटु अनुभव छ । समझदारहरूको मनको मान्छे भइएको छ भने असमझदारहरूको आँखाको कसिंगर । स्रष्टा कृष्ण धरावासी त द्वन्द्व भएका ठाउँमा लेखनका खुराक प्रशस्त हुन्छन् भन्थे । हो, दुईथरि बीच द्वन्द्व हुँदा र द्वन्द्वरत्हरूको गन्तव्य निर्धारण हुँदा उक्त नीति लागू हुन्छ । यहाँ त हकअधिकार प्राप्तीको आन्दोलनमा सरिक भन्दै नाट्यशालामाजस्तो नाटक देखाउने जम्मा पाँच कोरी भन्दा बढी दल, समूह छन् । भारतले चुड्दाचुड्दै कति बाँकी राखेको छ भन्न सकिन्न तर १,४७,१८१ वर्ग किमि क्षेत्रफल हुनुपर्ने यो मुलुकलाई र पौने तीन कोटी जनतालाई सुख दिन हैन दुःखमा पार्न पाँच कोरी भन्दा बढी दल, समूह सक्रिय भएको स्पष्ट छ । मधेस मात्र हैन नेपालकै कुनाकाप्चामा लेख्दा ज्यान हत्केलामा लिनु परेका घटनाहरूको वेलिविस्तार लगाउँदा महाभारत नै बन्छ । अतः थोरै कुरा ‘क्षितिज पर’ कृतिको सहयोगले उल्लेख गर्ने उद्देश्यले हात अघि बढाउँदै छु । राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् । विशेष गरी आख्यानमा बीपी कोइराला सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र । तन नै घुम्छ, मन नै घुम्छ, अमनचयन अपहरणमा पर्छ । जहाँ छु, विहान भन्न पाउँदिनँ, दिन भन्न भेट्दिनँ । अझ रात त अर्काकै पर्यो । आफ्नो भन्ने कुराले त सञ्चो अनुभूति दिनुपर्ने । खोज्दा पनि भेट्दिन । मन ठीकमा आउने अवस्था हुन्न । थोत्रो कलमा श्रीमती झुण्डिन्छे । पानी खस्दैन । जताततै खडेरीले पक्रेको छ । कुरा बुझ्दिनँ । झर्कोफर्को गर्छे । एउटा हैरानमा अर्को हैरान थप्छे । सहन्छु । धेरै कुरा सहिरहेछु । निःशुल्क सङ्गीत पनि सुनेर सहेँ । निःशुल्क रक्तदान पनि भोगेर सहेँ । प्याट्ट एउटा गालामा थप्पड बजार्छु, अर्को चिलाइरहेकै हुन्छ । त्यहाँ थप्पड बर्साउन नभ्याउँदै शरीरको कुनै अवयव चिलाउन थालिहाल्छ । प्याट्ट र पुट्टको थप्पड बर्साइले पीडा थोरै कम हुन्छ, हात भने रक्तमुच्छेल । उतै ध्यान जान्छ, मन हर्दम शरीर बचाऊ आन्दोलनमा हुन्छ । मनबाट शब्द चुहलान्, चुहलान् भएकै बखत पुनः शरीर थङ्थिलो पार्न हिर्काउनैपर्छ । लेख्दै गरेको कलम खुत्रुक्क खस्छ । कलमसँगै मन पनि खस्छ । मन उठाउन सोच्ने गर्छु– चराचर सृष्टिमा यही एउटा मच्छड नामधारी जीवको जन्म नभइदिएको भए त हुन्थ्यो । चैन पनि खाने । ध्यान, ज्ञान मात्रै हैन मौका परे ज्यान पनि लाने । नाना रोग बोकेर नृत्य र सङ्गीतमा भुल्ने, भुलाउने र बदलामा रक्तदान लिने । यस जीवका लीला पनि अनमोल । राजनीति नाम मात्रको दबाई फ्याक्छ । रकम कुम्ल्याउँछ र व्यक्ति पोसिन्छ । धेरै भए पार्टी पोसिन्छ । राजनीति बडेमानको घरमा चारैतिर बलिया जालीले घेरिएर बस्छ । जनता कहाँ मर्दैछ ? के सकस छ ? बुझ्ने उसको दिमाख छैन । सुन्ने उसको कान छैन । हेर्ने र भोग्ने फुर्सद छैन । मात्र बोली छ । बोल्छ । के बोल्छ, बोलीसकेपछि उसैलाई थाहा हुन्न । तालीको अभिलाषी भएर बोल्छ । पत्रिकामा आएपछि झसङ्ग हुन्छ र पत्रकारको मनपर्दी हो, मैले बोलेकै हैन भन्छ । कुरा एक कान, दुई कान मैदान हुन्छ । न बोलीको काम हुन्छ । न कामको बोली रहन्छ । सोचमग्न हुनबाट मन जगाउँछु । कलम पक्रन्छु, वत्ती जान्छ झ्याप्पै । जलस्रोतको दोस्रो धनी राष्ट्र नेपाल । पानीको खडेरीले विजुली नभ’को । हुकुम गर्न सजिलो छ । व्यवहारमा चाहिँ राजनीति सधैँ उज्यालो खान्छ, उज्यालै पिउँछ । फ्याक्न मात्र अँध्यारो फ्याक्छ । छक्कापञ्जाको खेललाई रमरम अँध्यारो नभई हुन्न । बत्ती जानु एक क्षण सारा सुनसान छाउँनुहुन्छ । मन पनि सुनसान । मट्टितेल बालौँ बाल्ने मन हुन्न । दाम बढ्छ सुनकै भाउमा । त्यस उज्यालोले मनलाई पगाल्न पनि सक्दैन । मन नपग्लिए शब्द चुहने कुरा पनि हुन्न । बरु पहिले देखिकै नृत्य र सङ्गीतमा झुम्नुको विकल्प देख्दिनँ । अराजक साहित्य जन्माउन खोज्दा, अर्को अराजकता भोग्नु परिरहेछ । अराजकताको झोला बोकेर हिँडिरहेछु । नसक्ने जीवन बाँचिरहेछु । बाँच्नुभित्र पनि मूल्य खोजिरहेछु । बिसाउने ठाउँ छैन । सहिरहेकै छु । सहनुको अर्को नाम नै जीवन रहेछ । विदेशी भूमिमा संगालेका यस्तै, त्यस्तै औडाहाहरूलाई स्रष्टा गगनले समेटेका छन् । यस्तै जीवन सहँदै ‘क्षितिज पर’ कृतिका सर्जक गगनले बैसठ्ठीवटा गीत र गजलको संगालो तयार पारेका छन् । जसमा मिलनको आशमा विरहका भाव मनग्यै समेटेका छन्, श्रृङ्गार रस उत्पन्न गरेका छन् । डायास्पोरिक चेतनालाई मार्मिक तवरले प्रस्तुत गरेका छन् । प्रणयलीलामा नैतिकताको ह्रासबाट सचेत भएर परोक्षरूपमा खबरदारी गर्न भुलेका छैनन् । मातृभूमिको प्रेमका लागि नेपालीको वीर गाथा सवैभन्दा माथि भएको कुरा पनि लेख्न भुलेका छैनन् । आजको लेखनको अभीष्ट समाज सुधारको चिन्तनबाट प्रेरित हुनुपर्छ भन्ने ठहरलाई उनले राम्ररी नै अठ्याएका छन् । यी हरफहरूमा भने गगनका गजलका पंक्तिहरूलाई घुमाइफिराई चर्चाको विषय बनाउँदै छु । विदेशिने नेपाली विदेशमा घुम्दै छ, म भने स्वदेशमै । घुमेँ, बेस्कन घुमेँ, राजनीतिको जाँतोमा फनफनी घुमिरहेछु । मुख भन्छ–अधिकार चाहियो । काम भन्छ–एनी हाउ दाम चाहियो । ए बाबा, जाऊ सरकार सामु जाऊ । टेबलमा बस । कुरा सुन । कुरा राख । कसले कसको भाग हरण गर्यो ? कसले थोरै पायो, कसले धेरै पायो ? हिसाबकिताब गर । मसँग हिसाब किन माग्छौ ? म आफैँ मगन्ते हुँ । पलपल मृत्यु नजिक पुगिरहेछु । निम्त्याएका सन्ततीका लागि मुण्टो लुकाउने ठाउँ जोडिदिएको छैन । शरीर त्याग्न आफ्नै छाप्रो भए हुन्थ्यो भन्ने कामना गरिरहेको छु । मसँग अराजक कलम छ । मसँग दरिद्र मानसिकता छ । छ नै भने भोको पेट छ, मुस्किलले लाज छोपेको काया छ । मन च्यात्छौ भने राम पनि छैनन्, सीता पनि छैनन् । मात्र ठूलाठूला आकांक्षाका महल छन् । मखमली विस्ताराहरू छन् । अत्तरले सुवासिला ठाउँ छन् । हुन सक्छ, भौतिक दुनियाँका अरू थुप्रै कुरा छन् । भएका कुरा तिनै हुन् । न गोजी दाम छ, न बाहिर नाम छ । आएको थिएँ भन्ने सूचना छाड्ने मन छ । सूचना बेगर छाड्ने मन छैन । मैले छाड्दैमा न दाम हात पर्ला न अधिकार नै पोल्टोमा आउला । दाम अधिकारका लागि हैन, मामका लागि पनि हैन । मलाई पनि थाहा छ–सोमरस र सूरासुन्दरीका लागि । अधिकारसँग जोड्ने साइनो त हतियारका खरिदका लागि । हतियार आत्मसुरक्षाका लागि । साँचो कुरो कहाँ छ ? मुखमा एकथोक छ, कार्यमा अर्कैथोक छ । यहाँ त देखिरहेछु, भोगिरहेछु । छोरो डराउँछ बाबुदेखि । यो त ठीक छ तर बाबु डराउँछ छोरोदेखि । दिदी अत्तालिन्छे बहिनीदेखि बहिनी काँप्छे दिदीदेखि । डर ओडिन्छ, डर लगाइन्छ, डर खाइन्छ, डरसँगै सुतिन्छ, डरसँगै उठिन्छ यहाँ । डरले साम्रज्य जमाएको छ, यहाँ । खुल्ला सीमानाले राज गरेको छ, यहाँ । वैद्य होस् या अवैद्य आउन र ल्याउन, जान र लैजान रोक छैन, टोक छैन । कतै ‘रोक’ नामक स्वर सुनियो गोजी भर्दियो भइगयो । हुन त मैले गोजीको कुरा भन्दा बाहिर सुन्न परेको छैन । पढ्न परेको छैन । लेख्न परेको छैन । यहाँ त, मामका लागि काममा धसिने धस्सिएकै छन् । दामका लागि हानथाप चल्ने कुरा चलेकै छ । मन चुँडेर फ्याकेको छु र म यहाँ छु । मन राखेर तन रहँदैन यहाँ । नत्र पुग्थेँ कहाँ हो कहाँ ? मेरा ज्ञानेन्द्रीयले समय समयमा काम गर्दैनन् यहाँ । इन्द्रिय बसमा राख्न हुन्न । परिचय बोकेर शिर उच्च पार्नु जोखिमको शिर कुल्चनुहुन्छ यहाँ । महान् इतिहास बोकेको मधेसले महानतालाई बोक्न पाएको छैन । उम्रदैका नेताले, च्याउ सरिका समूहले मधेसी जनताका नाममा भजाउँने नम्बरी नोट भएको छ मधेस, यत्तिखेर । यो नेपालमा छ वा छैन ? म घरिघरी तर्सन्छु । पचहत्तर जिल्ला छँदा अहिले म उभिएको ठाउँलाई छयहत्तरौँ जिल्ला भन्थे । सङ्घीय राज्य भएपछि भने के नामाकरण हुने हो पर्खेर बस्नुको विकल्प छैन । त्यस्तै गगनलाई विदेश कस्तो लागेको छ त, हेरौँ यी पंक्तिहरू–
जता हेर्यो बालुवैबालुवा छट्पटाउँदैछु प्यासमा
धेरै दूर मेरी उनी म यो विरानो परदेशमा ।
यो मन त्यसै हतारिन्छ उनीलाई एक झल्को हेर्न
उडी जाऊँ पंख छैन हिँडी जाऊँ सकिदैन सागर तर्न
अनयासै वर्वराउँछु उनको नाम प्रत्येक पलको सासमा
धेरैं दूर मेरी उनी म यो विरानो परदेशमा ।

उनकै यादमा पिउँदा पिउँदै गलिसक्यो ज्यान पनि
देउता भाकी बसिरै छु भेट गराईदेऊ लौन भनी
बित्यो दिन, महिना, वर्ष उनीसँग भेट हुने आशमा
धेरै दूर मेरी उनी म यो विरानो परदेशमा । (बलुवैबालुवाको देशमा)

म कहाँ पनि उर्दीको उरुङ्ग थियो, मुसहर्नियादेखि नाम्चेसम्मको । ‘ओ दाजु, तिमीलाई हामी मान्छु । तिमी दुःख खाने काम नगर् । हामीले भनेको मान्छ भने हामीलाई सहयोग गर् । हामीलाई मात्र एक पेटी दे । नदिने भए माथि, माथि जा, कहिल्यै नफर्कने गरी जा ।’ सम्झन्छु– मर्नु त छँदै छ । जता गए पनि,जता पुगे पनि, जहिले भए पनि आउनेले नगई हुन्न । मलाई झट्टै जाने मन छैन । मजस्तै अरूलाई पनि गइहाल्ने मन छैन । ठाउँ छाडूँ– कहाँ जानू भोको पेट देखाउँन । आफ्नो हातको कार्य शैली स्वर्ग गइगो । दिमाख शैलीको महामारी चलेको छ, जताततै । ठाउँ छाड्दा पनि मर्नुको विकल्प देख्दिनँ म । ठाउँ राख्दा पनि नाम्चे बजार उकालो लाग्न थाल्यो–उर्दी । जा, माथि नै जा । सगरमाथाको फेदीमा मात्रै हैन टुप्पामै पुगे पनि पुग् । आखिर जहाँको पानीले बनेको रगत छ, त्यही रगतले यहीँँँ धर्ती रंगिने त हो । उर्दीवालाका लागि एक क्षण रक्तहोलीको मौका न आउने हो । तर एकजनाको रगतले धेरै ज्यानको वचत हुने अवस्था नै देखिनँ । नदेख्नुमै हराउन थालेँ । बरू कानै नभइदिएका भए, आँखै नरहिदिएका भए बेस हुन्थ्योजस्तो पनि लाग्न थाल्यो । मन पत्थर भो । तन बूढो भो । बोली बन्द भो । कान कानेगुजीको राजधानी भो । आँखामा रतन्धो रोग पस्यो । म सजीवको रूपमा निर्जीव अवतार भएँ । तब त छु, यहाँ । चोरी, चोरी कलम उठाउँदै छु । नामलाई पनि निर्जीव पार्ने हो भने मनको वहलाई विछ्याउन सहज पथ्र्यो कि ? यी अक्षरहरू जोडेर उघ्राएर थाकी सुस्ताएको सिंहलाई कोट्याउँदै छु । त्रास घाँटीसम्म आएको छ । शब्दकै कारणले मृत्युले आशीर्वाद दिएका धेरै घटना पढेको छु । थोरै देखेको छु । भोगेको छैन र पो छुच्चो हुँदै गएको छु । भन्ने कुरा धेरै छन्, मनले मनसँग । अरूलाई देखाउने र सुनाउने भने एकदमै नगन्य । छटपटी र बेचैनीलाई मुख्य साथी बनायो, लण्ठासाफ । मुखबाट पौराणिककालकोजस्तो आदर्श वाक्य बाहेक अर्थोक ननिकालो, बस् लण्ठासाफ । विद्रोही स्वर कुन जन्तुले निकाल्छ, थाहै नभको भएर बस्यो, बस् लण्ठैसाफ । सबै कुरा साफ गरेर मात्र सधैँ बस्न नसकिने रहेछ । फोहरमा बस्नु पनि जिन्दगीको परिचय रहेछ । धोका माथि धोकाको खेल हुन्छ जताततै । त्यही धोका खाँदाखाँदा त मन पाकिसक्यो, थाकी सक्यो । पाक्नु र थाक्नु त चुप भएर बस्नु हो । मन न हो, कहाँ बस्छ र ! राख्ने ठाउँ नभई यसले अडिन नै जानेको हुन्न । मन ठाउँको खोजीमा स्वतःस्फूर्त लाग्छ । कतैकतै झिनो आशाको त्यान्द्रो बाँकी नै रहेको पाउँछ । थोरै प्रकाशवाला भए पनि दीपक जगमगाए राखेको भेट्छ । त्यही सानो उज्यालोले ठूलो उज्यालो डाक्छ कि भन्नु पर्या छ । जसो गरे पनि यहाँ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ । उता स्रष्टा गगनको कलम चाहिँ भन्छ–
हाँस्दै भेट्न आउने मान्छे आज तर्किएझैं लाग्यो
मतिर धाउने पाइला अन्तै आज लम्किएझैं लाग्यो ।
सँगै बसी अघाउँदिन मुटु भित्रै बसूँ लाग्छ भन्थी
फूलजस्तै अर्कै भमरासँग आज पल्किएझै लाग्यो ।
रूप हे¥यो हेरिरहूँ बोली झनै कोइली जस्तै
त्यति मीठो लाग्ने बोली आज झर्किएझैं लाग्यो ।
हिरामोती हैन माया दिनु भन्दा मख्खै पर्थेँ म
त्यही धनदौलत र महलमा आज रित्तिएझैं लाग्यो । ( तर्किने माया)
थुप्रै खेलबीच एक खेल छ, जहाँ भेल मात्रै हैन मेल पनि छ । आशय थुप्रै निस्कन्छन् । चोट दिनेले भोट पाउन्न । चोटको दर्द नमेटिउञ्जेल मनमा आदर जन्मदैन । मनको स्वभाव नै चित्रविचित्रको हुन्छ । सबैलाई सधैँ एकै खाले तुलोमा राखेर हेर्दा इतिहास झुटो बन्दो रहेछ । मन खाने कामको कुरा छाडे निष्पक्षता कहाँ पाइन्छ र ! सधैँ फलामलाई फलामले नै काट्दै आएको छ । बन्दुकलाई बन्दुकले नै पहरा दिँदै आएको छ । फलामका अघि फलाम झुक्दैन, बन्दुकका अघि बन्दुक झुक्दैन । त्यहाँ मानव मन जुट्ने हो भने फलाम पनि रूपान्तरण हुन्छ । बन्दुक पनि थान्को लाग्छ । जहाँ जति बढी द्वन्द्व छ, त्यहाँ त्यत्ति बढी मेल लुकेको छ । मेललाई झेल देख्नु विनासको सूचक हुन्छ । मधेसमा देखिएको मसिनो भावनामा मन कल्पाउने तागत पनि लुकेको पाएको छु । म यहाँ सम्पूर्ण नेपाल र नेपालीकै भोलि देखिरहेको छु । थोरै भए पनि सुनौला फूल फूलिरहेको पाएको छु । मनले मधेसलाई जित्नुपर्छ, बाँकीलाई मधेसीले नै जिताउँछन् भनिरहेछु । थोरै मधेसलाई जितेर त हेर, पूरै मधेसलाई जित्ने मौका स्वतः आउँछ । आजसम्म मधेसलाई हराएर राज भो, हारेकाले जित्न खोजेको मात्र हो । जित्नका लागि त्यान पनि सक्नुपर्छ । विना त्यागको जितौरी दुई दिनको मात्र हो । फेरि हार्नकै लागि दुई दिन जित्नु अनिष्ट निम्त्याउनु हो । हार्न नजान्नेले जित्न पनि जान्दैन । जितलाई बचाउँन नसक्नेले हारलाई सहन पनि सक्दैन । सधैँ थिच्न जित्नु परेको छैन । सधैँ विगत विउँझाउन मनासिव पनि छैन । विगतको अध्यायलाई उल्टाएर नपढे नयाँ रोडम्याप पनि पत्ता लाग्दैन । रोडम्याप विनाको काम अँध्यारोमा बन्दुक चलाएझैँ घातक हुन्छ । मनले मधेसीलाई हृदयमा पसाउँनुपर्छ । मनले मधेसीलाई नेपालीमा रूपान्तरण गर्नुपर्छ । मन नै नभएकाहरू मधेसमा मह चाट्न आउँछन् । तिनै चटुवाहरूले मधेसलाई मसानघाट बनाए । दानवीर बन्नु परेको छैन, खानी छ यहाँ । दिन परेको छैन, नखोसे भएको छ यहाँ । दयालु मनले रित्तो झोला लिएर आऊ, भरेर लैजाऊ । क्रोधी मन र षडयन्त्रपूर्ण दिमाख लिएर आऊ, मार र मरेर जाऊ । यो पनि हो–भर्ता झोला ल्याऊ, खन्याउने ठाउँ मिल्छ यहाँ । बाँकी दुःखका घर कैँटे बन्दुकहरू स्थूल मनको अघि टिक्न सक्दैन । कैँटेलाई मधेसले नै पाताल भसाउँछ । भरौटेलाई पाखा पार्दिन्छ । मधेस विवेकले ताते चैत्र, बैशाख आउँनै पर्दैन, सधैँ, सधैँ वसन्त बहार रहिरहन्छ । वसन्त फुलिरहन्छ । वसन्त फक्रिरहन्छ । म पनि फुल्छु वनैभरि लालीगुँरास भएर । म पनि फक्रन्छु, मुसहर्नियादेखि चोमोलुङ्मासम्म पुगेर । जनताका नाममा सर्तहरू मानिदिएमा शान्ति, सुव्यवस्था नआउने कुरै छैन । वसन्त नआउने र लालीगुँरास नफुल्ने कुरै आउँदैन । यता स्रष्टाको मनमा रंग चढ्दै छ, हल्का हल्का ।
नक्कली मैयाको नखरा हल्का हल्का
तिम्रो नाममा पिएँ मदिरा हल्का हल्का ।

वेइमानीले चटक्कै भुलेर गई मलाई
म भने तिम्रै यादमा तड्पिरा हल्का हल्का ।

वैगुनीको मन त ढुङ्गै हुन्छ क्यारे
मेरो मुटुमा विछोडको सुइरा हल्का हल्का ।

वेसारे त अर्कैसँग रमाइरहेकी होली
म चाहिँ सधैं रोइरा हल्का हल्का ।
उद्देश्य लिएको थिएँ के के न गर्ने
तर गगनको जीवनमा धमिरा हल्का हल्का । ( हल्का हल्का)

Saturday, May 8, 2010

वादविवाद (एकांकी नाटक)

पात्रहरू–
(१) श्रीमान्
(२) श्रीमती
(३) बहिनी
(४) छोरी
(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)
बहिनी– आदरणीय दाजुभाउजू र मेरी प्यारी नानी ! भोलिका पुस्ताका निम्ति यही धर्तीमा रहने र हिँड्ने पूर्वाधार आजै बनाउन वादविवादको अन्त्य गरौँ । वादविवादविनाको अवस्थाको लागि मुखमा ताल्चा लगाउने चाहिँ हैन, ठीक ठाउँमा मुख खोलौँ । बेठीक ठाउँमा मुख खोलेर समय र शक्तिको व्यय नगरौँ । हरेक दिन पटकपटक विवादमा फस्नुभन्दा समय निकालेर एकै पटक विवाद गरौँ र ठोस निष्कर्षमा जाऔँ ।
श्रीमती– सपना सजाउने छुट मान्छेलाई हुनुपर्छ । किनभने सपना सजाएर मान्छे बाँच्छ । सपनामै जताततै पुग्छ र भविष्यका लागि वर्तमानमा पाइलो चाल्छ । सपनाको महल ठड्याउन नसक्ने वर्तमानकै यो हुलमा हराउँछ ।
श्रीमान्– (सामान्य कपडामा सजिएको छ ।) मान्छे वर्तमानको लागि बाँच्छ, भविष्य त उसको वसभन्दा बाहिरको कुरा हो । वर्तमान सप्रिए भविष्य त स्वतः सप्रिन्छ । (त्यतिकैमा श्रीमती उसलाई ठेल्दै अघि सर्छे र जोड जोडले बोल्न थाल्छे ।)
श्रीमती– वर्तमान–भविष्य, भविष्य–वर्तमान यी सब मान्छेकै लागि त हुन् । विवादलार्ई तन्काउँदै तपार्इं त भन्नुहुन्छ– इहलोक सपार्नु छ भने वर्तमान सपार, परलोक भन्ने कुरो कल्पना हो । तर म भन्छु– यो जगत् ईश्वरीय लीला हो । त्यसैले इहलोक र परलोक दुवै सपार्न ईश्वरको साथ चाहिन्छ । ईश्वरसँग अलौकिक शक्ति छ ।
श्रीमान्– देवता, ईश्वर, परमेश्वर आदि भनिने कुरा कहीँ कतै छैनन् । छन् नै भने केही मान्छेको कल्पनामा सीमित छन् । (केही आक्रोशयुक्त स्वरमा) मानिसले बनाएका, मानिसले कल्पना गरेका कुनै कुरा पनि कहीँ अलौकिक हुन्छन् र ? तिमीले भन्ने गरेको अलौकिक शक्ति भन्ने कुरो पनि कल्पना सिवाय अर्थोक होइन ।
श्रीमती– सानो वस्तु निर्माण गर्न नसक्ने मान्छेले ईश्वर छैनन् भन्नु नुन गुलियो हुन्छ भन्नु बराबर हो । उसो भए मान्छे आफँै ईश्वर हुनुपर्छ । लौ, त मान्छेले अर्कै पृथ्वी सृष्टि गरोस् त ?
श्रीमान्– मान्छे चन्द्रमामा बस्ती बसाल्दै छ । अन्य ग्रह, उपग्रहमा प्राणीको अस्तित्व खोज्दै छ । चन्द्रमाको बाटो भएर मान्छे यात्रा गरिरहेको छ । तिम्रो प्रश्नको जवाफ आजको मान्छेले नै दिइरहेको छ । वैज्ञानिक चमत्कार भित्रिनु नै पृथ्वीले नयाँ स्वरूप धारण गर्नु होइन र ? ईश्वरीय अस्तित्व र स्वर्ग–नर्कको कुरा मान्छेको कोरा कल्पना हो । स्वर्ग–नर्कको कुरा गरेर महात्मा भनाउँदाहरूले आफ्नो प्रभुत्व जमाउन खोजेको कुरा तिमी किन बुझ्दिनौ ?
श्रीमती– ईश्वरले नै लालनपालन गरेका छन् । यो ब्रह्माण्ड संसारलाई अस्तित्ववान् पारेका छन् । ईश्वरको कृपा हुन्नथ्यो भने यस धर्तीमा ठमठम्ती हिँड्न सकिन्थ्यो र ?
श्रीमान्– (अघि सर्दैै) भ्रम, यो सब भ्रम बाहेक अर्थोक केही हैन । ईश्वरको नाममा अन्धविश्वास जन्मिरहेछ, भ्रान्ति फैलिरहेछ, अहङ्कार झाँङ्गिरहेछ, जिद्दीपन बढिरहेछ । तिम्रै ईश्वरीय विश्वासलाई नियाल्ने नै हो भने पनि ईश्वरको नाममा भ्रम र त्रास फैलिएको मात्र देखिन्छ ।
श्रीमती– यो मान्छेले गरेको विश्लेषण हो । मान्छेले भनेको कुरा सबै ठीक हुन्छ भन्न सकिन्न । झुटको खेती गर्ने पनि धेरै छन् यहाँ ।
श्रीमान्– हो, अहिले भने ठीक बाटामा आयौ । यत्ति कुरा बुझ, ईश्वरीय लीलाको वकालत गर्ने पनि मान्छे नै हुन् । मान्छे झुट हुनसक्छ भन्ने तिम्रो कुरालाई म स्वागत गर्छु । अधोगतीतिर लम्केका साधुमहात्मा भनाउँदाहरूले स्वर्ग र नर्कको कल्पना गरी ईश्वरीय सत्ताका झुटा कथा सुनाएर जनतालाई ठगिरहेछन् र आफ्नो स्वार्थ सिद्ध गरिरहेछन् । हाम्रो बुद्धि बिगार्न, हामीमा भ्रान्ति पैदा गर्न र हामीलाई धार्मिक कट्टरपन्थी बनाउन ईश्वरको प्रपञ्च रचिएको हो । मिलेर हामी अघि बढ्न सके विष्णुको अंश मानिएका राजाहरूलाई त सत्ताच्युत गरी सामान्य नागरिक बनाइदिन सक्ता रहेछौँ भन्ने कुरो हाम्रो व्यवहारले प्रमाणित गरिसकेको छ । अझै विष्णुको अस्तित्वलाई स्वीकार गर्नु बोक्रे आस्तिकता मात्र हो ।
श्रीमती– मसँग दह्रो विश्वास छ, ईश्वरीय लीला अनमोल छ । गल्ती गर्नेलाई सजाय ईश्वरले नै दिन्छन् । गल्ती सामान्य नागरिकले गरोस् या राजाले । ईश्वरले पनि सङ्कट भोग्नुपरेका थुप्रै घटनाहरू छन् । विश्वका हरेक कुरामा रहस्य छ । सृष्टिको संरचना सन्तुलित छ । समुद्रको पानी पृथ्वीभरि पुग्छ । पृथ्वीभरि छरिएको पानी अन्ततोगत्वा समुद्रमै मिल्न पुग्छ । ओहोरदोहोर भइरहन्छ । यो सब ईश्वरीय लीला हो ।
श्रीमान्– हो, समुद्रको पानी खेतखेत पुग्छ, खेतखेतको पानी समुद्रमा मिल्न आउँछ । यो सबै प्राकृतिक नियम हो । प्रकृतिले नै सम्पूर्ण कुराको तारतम्य मिलाएको हुन्छ । तारतम्य बिग्रियो कि भूकम्प हुने, बाढी–पैह्रो जाने, महामारी फैलनेजस्ता विनासकारी अवस्था सिर्जना हुन्छन् । तर तिम्रो मत भिन्न छ । के यी सब ईश्वरीय अनुकम्पाका प्रतिफल हुन् त ?
श्रीमती– (उत्साहित हुँदै) जरुर ! जब अधर्म बढ्छ, अन्यायीका हातबाट न्याय मर्छ, ईश्वरले नै यी सबै घटना घटाउँछन् । घटनापश्चात् धर्मको, न्यायको स्थापना हुन्छ ।
श्रीमान् – (मुस्कुराउँदै गिल्ला गर्ने ढाँचामा) हो, तिम्रो कुरा मनासिव हो ! पूर्वी नेपालमा ०६५ भदौ २ गते सप्तकोशी बाँध भत्केर हजारौँ जनताको उठिवास भो, लाखौँ जनाले महिनौँ कहर काट्नुपर्यो । पश्चिमी नेपालमा फैलिएको हैजाले सयौँ जनाको ज्यान लियो, सयौँ परिवारलाई विचल्नीमा परेको छ, अन्य क्षेत्रको बाढीपहिरोको कहिरन गरी साध्यै छैन । यी सब कुरा ईश्वरले धर्म र न्याय स्थापनार्थ गरेका हुन् होला, हैन ? धनसम्पत्ति गुमाउने, मर्ने र दुःख पाउने सबै जना अधर्मी थिए, अन्यायी थिए, हैन ?
श्रीमती– त्यो त एकाधले गरेको गल्तीको प्रतिफल सबैले भोगेको मात्र हो ।
श्रीमान्– उसो भए चिन्दै नचिनेको, जान्दै नजानेको मान्छेले गल्ती गर्छ भने त्यसको सजाय तिमी भोग्छ्यौ ?
श्रीमती– (केही उत्साहित हुँदै) हँ, त्यसो गर्न म बन्दै तयार छैन ।श्रीमान्– उसो भए अन्याय र अधर्म त तिम्रै ईश्वरबाट हुँदो रहेछ भन्ने यो ठोस प्रमाण हो, हैन र ?
श्रीमती– (एक क्षण घोरिन्छे ।) तपाईं जे ठान्नुस् । ईश्वरको लीला अपरम्पार छ, त्यसै भनिएको हैन ।
श्रीमान्– उसो भए अझै वादविवाद छ । (सहज हुँदै) सुन, मानिसमा हुने आत्मबल, मानिसले देखाउने उदारता, मानिसले गर्ने प्रेम र इमान्दार भएर देखाउने सुकर्म नै धर्म हो । यस्तो धर्मले सबको कल्याण गर्छ । बरू यस्तो धर्मलाई नै ईश्वरको नाम दिएकी भए हुन्थ्यो । बुझ– प्रकृतिले कसैको अहित गर्दैन । हो, जब मानिसले प्रकृतिलाई बिगार्छ, तब प्रकृतिले पनि मानिसलाई बिगार्छ । प्रदुषण बढाएर होस् या अन्य खाले अहङ्कार थोपरेर होस्, मानिस दिनानुदिन गलत कदम चाल्दै छ । त्यसबाट प्राकृतिक र भौतिक वातावरण बिग्रन गई असन्तुलित वातावरण देखापर्छ । त्यसैको परिणामस्वरूप अनिष्टकारी अवस्था जन्मिएको हो ।
श्रीमती– उसो भए शान्ति खोई त ?
श्रीमान्– शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ जसले मानिसलाई जीवनवोध गराउँछ, आत्मबल दिन्छ, कर्ममुखी बनाउँछ र शान्ति दिन्छ । यसका लागि मैले फूल, अगरवत्ती, धूपदीपको सट्टामा कलम, कुचो र खुर्पाको प्रयोग गर भनेको हुँ ।
श्रीमती– उसो भए गर्ने के त ?
श्रीमान्– आजैदेखि आफ्नै हातमा सबथोक रहेछ भन्ठानी आफूलाई सरिक पार्ने हो भने सिर्फ एक दशकमा चमत्कार भित्रन्छ ।
श्रीमती– आपत् पर्दा ईश्वरलाई पुकार्ने र सुख पाउँदा अहङ्कार देखाउने त आजका मानिसको स्वभाव नै बनेको छ । हेर्नुस्, प्राणीमा पाइने चेतना नै ईश्वरीय सत्ताको प्रमाण हो । फेरि तपाईं एक दशकमै चमत्कार भित्रन्छ भन्नुहुन्छ । त्यो कसरी सम्भव हुन्छ ?
श्रीमान्– सही रूपमा प्रगति गर्नका लागि प्रथमतः मानिसमा अहङ्कार, ईष्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । कर्मशील पाखुरीको विकास गर्नुपर्छ, आफ्नो बौद्धिक स्तर उकासेर मनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । न्यायको स्थानमा उभिने प्रण गर्नुपर्छ । शरीरमुखि हैन श्रममुखि हुनुपर्छ । मनमा आउने अलौकिक कुराहरूको पछि दगुर्नु हुन्न । यसो गर्न सक्यौ भने तिमी सप्रन्छ्यौ । तिमीजस्ता एकएक गर्दै मान्छेहरू सप्रिए भने पूरै मानव समुदाय नै सप्रन्छ ।
श्रीमती– यी सब मनगढन्ते कुरा हुन सक्छन् । प्रमाण पनि हुनुपर्यो नि । बिना प्रमाण पत्याउने कुरा पनि भएन ।
श्रीमान् – तिम्रो जिज्ञासा शतप्रतिशत सत्य छ । विना प्रमाण लादेको कुरा ढोंग हो । विज्ञानले पनि प्रमाण खोज्छ । ईश्वर छन्, ईश्वरीय अनुकम्पाले यो चराचर जगत् चलेको छ भन्ने कुराको प्रमाण कहीँ भेटिन्न । न यसलाई विज्ञानले नै समर्थन गरेको छ । विज्ञानको समझ बाहिरको कुरा हो यो । तर यत्ति कुरा बुझ– यस विश्व परिवेशमा जे जति सद्गुणी, विद्वान् र विलक्षण प्रतिभायुक्त मानिस थिए र छन् ती सबैले धेरथोर कर्मशील पाखुरीको विकास गरेका थिए, आफ्नो बौद्धिक स्तर उकासेर संसारिक जगत्का कुराहरूको वोध गरेका थिए । वस्तुले दिलाएको पाठ धोकेका थिए । जहिले पनि न्यायको स्थानमा उभिने र श्रममुखि भई कर्म पथमा निरन्तर सक्रिय हुने काम गरेका थिए । हरेक व्यक्तिमा हरेक किसिमका प्रतिभा र क्षमता अकर्मण्यरूपमा लुकेका हुन्छन् जुन ऊ स्वयम्लाई थाहा हुन्न । त्यो सुषुप्त अवस्थाको प्रतिभा र क्षमतालाई सक्रिय पार्ने मुख्य काममा उसलाई उसकै निरन्तर अभ्यासले मद्दत गर्दछ । आत्मबल र सकारात्मक सोचका साथ कर्मपथमा अघि बढ्, प्रमाण तिमी स्वयम् हुन सक्छ्यौ ।
श्रीमती– हामी अस्तित्ववान् छौँ, प्रकृतिका हरेक वस्तुमा अस्तित्व छ । यही कुराको प्रमाण नै ईश्वर हो । ईश्वरीय सत्तालाई मिथ्या कल्पना भनी धज्जी उढाउनु वैज्ञानिक यथार्थता हैन । ईश्वरको कृपा हुँदा जो पनि प्रतिभाशाली हुन्छ ।
श्रीमान्– (हाँस्दै र जिस्क्याउने पाराले) उसो भए त कर्म नगरीकनै ईश्वरीय आराधनामा संसार जुटे भइगयो नि त ।श्रीमती – कर्म नगरीकनै फल पाउने अभिलाषा राख्नु मिथ्या कुरा हो ।
श्रीमान्– अनि विना कर्म, विना अभ्यास–साधना कसरी प्रतिभा प्रष्फुटन हुन्छ त ?(त्यत्तिकैमा छोरी आमाको बुई चढ्छे ।)
छोरी– मामू ! मलाई ईश्वरसँग भेट गराइदिनुस् न । म ईश्वरलाई पापा दिन्छु । म ईश्वरसँग कुरा गर्छु । उसलाई साथी बनाउँछु । ईश्वर त जाती हुन्छन् भन्नुहुन्छ, हजुर । जाती ईश्वरले मसँग मित्रता गर्छन् नि, मामू ?
श्रीमान्– (मुस्कुराउँदै) अब देऊ उत्तर छोरीलाई । मनगढन्ते कल्पनाको महल बनाउन सिकाऊ छोरीलाई । आफूझैँ दुर्बल नारी बनाऊ छोरीलाई ।
श्रीमती– (झर्कदै) आफूसँग कति रौँ छन् भन्ने कुरो बताउन नसक्नेले नास्तिक बन्नुको कुनै तुक छैन ।
श्रीमान्– मानव समुदायमा भ्रष्टचार व्याप्त छ । रुढिबाढिता, अन्धविश्वासी र अचाहिँदो अविश्वासीपन बढ्दो छ । यी सम्पूर्ण कुराले अराजकता फैल्याएको छ । अझ दण्डहीनता बढाएको छ । जताततै अहङ्कारीहरूको साम्राज्य फैलिएको छ । अहङ्कारले विवेकको ढोका थुनेको छ र मानिस तेस्रो विश्व युद्ध निम्त्याइरहेको छ । यस अनिष्ट घडीमा तिम्रो ईश्वर किन आफ्नो अलौकिक चमत्कार देखाउँदैनन् । निराकार रूपमा रहेका भनिएका तिम्रा ईश्वर कल्पनाको तरङ्गमा रहेको मिथ्यापन बाहेक अर्थोक केही हैनन् भन्ने त स्वयम् सिद्ध छ नि ।
श्रीमती– (आक्रोशयुक्त वाणीमा) हो, हो । तपाईंकै अनुसार म यस जगत्मा पूरै स्वतन्त्र छु भने म जसलाई जे मानूँ, मानूँ । कटाक्ष गर्ने र धज्जी उडाउने तपाईंको हक हैन ।
श्रीमान्– तिम्रो कुरो पनि सही हो । मेरो कसैलाई तल पारेर आफू माथि उक्लने सोच कदापि हैन । वादविवादमा उत्रेपछि एक पक्ष तल र अर्को पक्ष माथि हुन्छ नै । खेलको सिद्धान्तमा पनि यी कुराहरू आउँछन् ।(छोरी आफ्नै धुनमा खेलिरहेकी हुन्छे । आमाबुवातिर उसको ध्यान जाँदैन, एकोहोरो खेल्नतिरै जाछ । आक्रोशयुक्त वाणी सुनेर बहिनी भने झस्कन्छे । वादविवाद निष्कर्षमा नपुगेको ठम्याएर ऊ आफँै अघि सर्छे ।)
बहिनी– भो, अब । अहिलेलाई भने वादविवादलाई निष्कर्षतिर लैजाऔँ । यी कुराहरूमा वर्षौँदेखि बहस हुँदै आएका छन् । आजसम्म पूर्ण निष्कर्षमा पुग्न सकिएको छैन । निष्कर्षमा पुग्नेहरू थोरै होलान् । भान्सामा खाना पाकिसकेको छ । समयमा घरको काम सकेर कर्म पथमा सरिक भयौँ भने मात्र सबैजना खुशी हुन्छन् । विना कर्म अर्थ पाइन्न । विना अर्थ व्यवहार चल्दैन । विना व्यवहारको मानिस कहलिन गाह्रो हुन्छ । मानिस हुन पनि कर्म गर्नैपर्छ । मन्दिर पसेर आराधनामै समय फालेर, गुफा पसेर तपस्यामै लिप्त भएर वा भाषणबाजीमा खरो उत्रेर मात्र व्यवहार चल्दैन । व्यवहार चलाउन सबैको राम्रो विचारको कदर हुनु जरुरी हुन्छ । अघोरै खराबलाई चाहिँ ठाडै खराब भन्नैपर्छ । अर्काको आस्थालाई जवरजस्ती खण्डित गर्दै आफ्नो आदर्शको भारी बोकाउनु किमार्थ उचित हुन्न । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ । अर्काको स्वतन्त्रताको धज्जी उडाउने स्वतन्त्रता कसैलाई पनि छैन । भो, अब त भो । खाना खान ढिला भो । आजको बसाइ जे भो उत्तम भो !!!
(सबै मुस्कुराउँछन् । मञ्चबाट बाहिरिने तरखर गर्छन् । पर्दा विस्तारै खस्दै जान्छ ।)
०६६–०५–२९

परिकल्पित सङ्घीय राज्यको परिचय (नाटक)

पात्रहरु:
१) लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती
२) विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक
३) कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती
४) किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक
५) मधेस राज्यकी ममता नामधारी २४ वर्षीय युवती
६) तामाकोशी राज्यका तार्केश्वर नामधारी २५ वर्षीय युवक
७) शेर्पा राज्यकी शेफालिका नामधारी २६ वर्षीय युवती
८) तामसालिङ्ग राज्यका तासा नामधारी २७ वर्षीय युवक
९) नेवा राज्यकी नेहा नामधारी २८ वर्षीय युवती
१०) नारायणी राज्यका नारायण नामधारी २९ वर्षीय युवक
११) तमुवान राज्यकी तब्बू नामधारी ३० वर्षीय युवती
१२) रिडी राज्यका रिसव नामधारी ३१ वर्षीय युवक
१३) मगर राज्यकी मनिषा नामधारी ३२ वर्षीय युवती
१४) थारुवान राज्यका थानेश्वर नामधारी ३३ वर्षीय युवक
१५) भोटेलामा राज्यकी भोर्जन नामधारी ३४ वर्षीय युवती
१६) भेरीकर्णाली राज्यका भेषराज नामधारी ३५ वर्षीय युवक
१७) सेतीमहाकाली राज्यकी सेकरिन नामधारी ३६ वर्षीय युवती
एउटा सुनसान ठूलोकोठा । परपर स-सानो गाइँगुइँ आवाज मात्र सुनिन्छ । लिम्बूवान विजयपुर कोचिला किराँत मधेस तामाकोशी शेर्पा तामसालिङ्ग नेवा नारायणी तमुवान रिडी मगर थारुवान भोटेलामा भेरीकर्णाली सेतीमहाकाली जस्ता १७ राज्यहरुसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरु गम्भीररुपमा बसेका देखिन्छन् । उनीहरु क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमश: २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरुमध्ये कसैकसैमा उदासिनता अन्यौलता समेत भेटिन्छ । त्यत्तिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ पात्रहरु पनि चनाखा हुँदै जान्छन् ।
सूत्रधार : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै श्रद्धेय महानुभावहरु ! यसरी सत्रै जनालाई एकै ठाउँमा भेला गराएर कुरा गर्न र गराउन सुन्न र सुनाउन पाएकोमा म असाध्यै खुशी छु । निश्चय नै हामी संक्रमणकालीन अवस्था पार गर्ने तरखरमा छौँ । हामै्र बरबुताले नयाँ नेपाल निर्माण हुने हो । हाम्रै मेल र एकताले संसारले पाठ सिक्ने हो । हरेक व्यक्ति सचेत भइएन भने देश विखण्डनतिर जाने र हाम्रो मुक्ति आन्दोलन नै धरासायी हुने खतरा बढ्छ । सङ्घीयता हाम्रो उन्नतिको लागि हो बिखण्डनको लागि होइन । अहिले हामी एक अर्कामा अपरिचित नै रहेको अवस्था छ । त्यसैले कार्यक्रमको शुभारम्भमा क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बस्नुभएका महानुभावहरुलाई आ-आफ्नो पूर्ण परिचय दिन आग्रह गर्दछु । ताली बज्छ ।
लिली : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै लिली नामकी २० वर्षीय युवती हुँ । म यहाँ प्रतिनिधी पात्रको रुपमा उपस्थित छु । म धेरै कालदेखि हेपिएकी चेपिएकी र जबरजस्ती पेलिएकी छु । मनका भावना नखोल्दा आफू अन्यायमा पर्दा पनि मुख बन्द गरेर बस्दाको प्रतिफल नै मेरो त्यस कालको दु:खको अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले विस्तारै थाहा पाएँ । जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य निमुखावर्गहरुको आन्दोलनहरुमा हजारौँ वीरवीराङ्गनाहरुको जीवन उत्सर्ग र रगत-पसिना बगेका कारणले म यो अवस्थामा आएकी हुँ । हाम्रा लागि कहर काट्ने ती तमाम महानुभावहरुकी म ऋणी छु । मभन्दा पूर्व भारत र उत्तरमा चीन छन् जसदेखि बडो सतर्क नभईकन भएको छैन । दक्षिणतिर मेरा छिमेकी मित्रहरु विजयपुर र कोचिला छन् भने पश्चिममा किराँत छन् । सबैसँग सुमधुर साइनो कायम गर्ने रहर मनमा छ । धन्यवाद । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
विजय : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै २१ वर्षीय विजय नाम भएको युवक हुँ । मसँग पनि अनेक खाले पीडाका कहिरन छन् । जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य वर्गहरुको आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने र रगत-पसिना बगाउने हजारौँ वीरवीराङ्गनाहरुप्रति म शिर झुकाउँछु । हामीजस्तै समान वर्गहरुको मेलमिलापीे भावनाबाटै हामी अजङ्गका शत्रुहरुलाई पनि पराजय गर्नसक्छौँ भन्ने मेरो सोच छ । मभन्दा पूर्व र दक्षिणमा कोचिला उत्तर र पश्चिममा क्रमश: लिम्बूवान् र किराँत छन् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
कोपिला : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै कोपिला नामधारी २२ वर्षीय युवती हुँ । म धेरै समयदेखि नै राज्यको मूलधारबाट टाढा पर्दै आएकी छु । मेरा मनका भावना र पीडाको लेखाजोखा सुनाउन खोजेँ भने मैले लामो समय नै खानुपर्छ । म अरुको अधिकार छिनेर लिन रुचाउँदिन र मैले पाउने हकमा कसैले दावी नगरोस् भन्ने चाहन्छु । निश्चय नै जनयुद्ध जनआन्दोलन मधेस आन्दोलनजस्ता आन्दोलनहरुमा त्याग देखाउने ज्ञातअज्ञात हजारौँ सहिद र महानुभावहरुप्रति ह्दयदेखि नै कृतज्ञता जाहेर गर्दै उहाँहरुको सपना साकार पार्न कटिबद्ध छु । मभन्दा पूर्व र दक्षिणमा मित्र राष्ट्र भारत छन् भने उत्तरमा लिम्बूवान् र विजयपुर छन् । किराँत पनि उत्तरतिरै पर्छन् । त्यस्तैे पश्चिममा भने मित्र मधेस छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
किशोर : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म २३ वर्षीय किशोर नाम गरेको युवक हुँ । हो यहाँ म एक प्रतिनिधीको रुपमा खडा छु । ममाथि धेरै कालदेखि राज्यको गिद्धेदृष्टि परेको छ । सोझो भनेर हेप्ने चेप्ने र जबरजस्ती पेल्ने काम भएबाट म मर्माहत छु । मेरा आफ्नै मौलिक सांस्कृतिक पहिचान छन् । हामीले राज्यको मुख नताकीकन बरिष्ठ साहित्यकार जसराज किराँतीको अध्यक्षतामा किराँत एकेडेमी गठन गरिसकेका छौँ । भोजपुर र खोटाङ्ग जिल्लाको बीचमा पर्ने ट्याम्के डाँडामा करिब ६० मिटर अग्लो बिजुली बत्ती सहितको भ्यू टावरको निर्माण कार्य सुरु गरिसकेका छौँ । उक्त टावरको नाम हो- किराँत प्रदेशमा आर्थिक क्रान्तिको झण्डा । हाम्रो भेगको सङ्घीय राज्यको राजधानी भोजपुरको पान्धारेमा राख्ने योजना छ । वृहत्कोशी आर्थिक क्षेत्र र अरुण भ्याली आर्थिक क्षेत्र घोषणा गरी काम सुचारु गर्ने योजना पनि छ । ओझेलमा परेका हामी र हाम्रो ठाउँको उन्नतिमा हामी नै अघि सरे राज्य निहुरिन वाध्य हुन्छ । दश वर्षे जनयुद्ध उन्नाइस दिने जनआन्दोलन-२ मधेस आन्दोलन र अन्य थारुवर्ग लगायतका आन्दोलनहरुप्रति सम्मान जनाउँदै दिवङ्गत हजारौँ वीरवीराङ्गनाहरुप्रति श्रद्धासुमन जाहेर गर्छौँ । त्याग र बलिदानीको गाथा बनाएका तमाम महानुभावहरुको सपनालाई विपनामा परिणत गर्ने कसम खान्छौँ । अन्तमा मभन्दा पूर्व लिम्बूवान् र विजयपुर उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेस छन् । त्यस्तै पश्चिममा शेर्पा तामाकोशी र र तामसालिङ्ग छन् भन्दै अहिले म बिदा हुन्छु नमस्कार । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
ममता : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै ममता नाम गरेकी २४ वर्षीय युवती हुँ । यहाँ म एक प्रतिनिधीका रुपमा छु । मेरो आफ्नै भेषभुषा रहनसहन र सांस्कृतिक पहिचान छ । मेरो लागि हेपिनु चेपिनु र जबरजस्ती पेलिनु सामान्य कुरा हो । मनका भावना नखोल्दा अन्यायमा पर्दा पनि सहेर बस्दाको प्रतिफल नै दु:खको अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले विस्तारै थाहा पाएँ । दान पाउन पो माग्नुपर्छ । हक पनि कहीँ मागेर पाइन्छ र यस्ता कुरा मलाई जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य वर्गका आन्दोलनहरुले सिकाएका हुन् । यस्ता जनतालाई सार्वभौम बनाउने आन्दोलनहरुका हजारौँ योद्धाहरुप्रति शिर निहुर् याउनु आफ्नो कर्तव्य ठान्छु । राज्यका हरेक अङ्गमा पुगेर राष्ट्रसेवा गर्न पाउनु सबै वर्गकॊ अधिकार पनि हो । सबै ठाउँमा व्यक्ति नपुग्ला तर वर्ग पुग्नुपर्छ भन्ने मेरो मत हो । त्यसमा कसैले हस्तक्षेपकारी नीति अख्तियार गर्यो भने त्यो कसैलाई स्वीकार्य हुन्न । राज्यले कसैलाई काखा र कसैलाई पाखा पार्न खोजेको कुरा इतिहास साक्षी छ । कोही अघि बढ्न सकिरहेको छैन भने त्यसलाई कसरी अघि बढाउने त भन्ने कुरामा चिन्तनशील भई विशेष योजना ल्याएर सबैलाई मूलधारमा समेट्नुपर्नेमा जो पछि छ त्यसैलाई अझ पछि पार्नु कतिसम्मको अन्याय हो मेरा मनका मुख्य कुरा यिनै हुन् । मेरो परिचयको अर्को पाटोका वारेमा भनौँ- मभन्दा पूर्व कोचिला र विजयपुर छन् । दक्षिणतिर मेरा छिमेकी मित्र राष्ट्र भारत र पश्चिममा थारुवान छन् । उत्तरमा भने मेरा मित्रहरु धेरै छन् । ती हुन्- कोचिला विजयपुर किराँत तामसालिङ्ग नारायणी र मगर । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
तार्केश्वर : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै तार्केश्वर नाम गरेको म २५ वर्षीय युवक धेरै कालदेखि अँध्यारो कुनामा कुँजिएर बस्न वाध्य छु । धेरै कहर काटेपछि जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन थारु आन्दोलन जस्ता अधिकार छिनिएका वर्गहरुको आन्दोलनहरु जन्म्ो । नखुलेका आँखा पनि खुले । आफ्ना भावना नखोल्दा अन्यायमा पर्दा पनि हात बाँधेर बस्दाको प्रतिफल नै दु:ख अपहेलनाको कारण रहेछ । हजारौँ वीरवीराङ्गनाहरुको जीवन उत्सर्ग भयो । धेरैको रगत-पसिनाका बग्यो । हाम्रा लागि पीडा भोग्नॆ ती तमाम वर्गप्रति श्रद्धा जाहेर गर्दै म मेरो भौगोलिक परिचय दिँदै छु । मभन्दा पूर्व किराँत र कतै शेर्पा र उत्तर-पश्चिममा शेर्पा र तामसालिङ्ग छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामसालिङ्ग मात्र छन् । ताली बज्छ ।
शेफालिका : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै शेफालिका नाम गरेकी युवती हुँ । म २६ वर्षकी भएँ । जनतालाई हकअधिकारले सुसज्जित पार्ने महान् लक्ष्यका साथ साचालित जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन जस्ता विविध खाले आन्दोलनहरुमा मैले भौतिक र नैतिक संलग्नता राख्दै आएकी छु । मुलुक र जनतालाई निरङ्कुश शासकको हातबाट मुक्त गर्न ठूलो कहर काट्ने ती तमाम महानुभावहरुप्रति श्रद्धा जाहेर गर्दै राज्यको मूलधारबाट कोही नअलगियोस् भन्दछु । जनताको नेतृत्व गर्छु भन्नेले सबै जनतालाई छहारी दिन सक्नुपर्छ । नेतानेतृ भन्न सजिलो छ तर वास्तविक अर्थमा नेतानेतृ बन्न गाह्रो छ । मभन्दा पूर्व किराँत र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामाकोशी छन् । पश्चिममा चाहिँ तामसालिङ्ग र केही मात्रामा तामाकोशी पर्दछन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
तासा : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै २७ वर्षीय युवक तासा भन्ने मै हुँ । मेरो पनि व्यथा अरुहरुको झैँ छ । बोल्नुपर्ने बेलामा बोल्नुपर्ने रहेछ । बिरोध गर्ने ठाउँमा कडा विरोध नजनाए थिचिवाहरुले अझ थिच्ने रहेछन् । हाम्रा हितमा रगत चढाउने खुन र पसिना बगाउने सबैप्रति आभार व्यक्त गर्दै म मेरो भौगोलिक परिचयतिर ध्यान तान्न चाहन्छु । केन्द्रमा नेवा पूर्वमा शेर्पा तामाकोशी र किराँत हुनु उत्तरमा चीन त्यस्तै दक्षिणतिर मेरा छिमेकी मित्रहरु मधेस र नारायणी रहनु साथै पश्चिममा तमुवान र केही मात्रामा नारायणी पर्नु मेरो भौगोलिक परिचय हो । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
नेहा : माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै नेहा नामकी युवती हुँ । म २८ वर्षकी भएँ । म शैक्षिक परिवेशमा रहे पनि जति प्रगति गर्नुपथ्र्यो गर्न सकेकी छैन । मसँग आफ्नै अमूल्य सांस्कृतिक सम्पदाहरु छन् । विभिन्नवर्गको आन्दोलनहरुमा हजारौँको जीवन उत्सर्ग भएको छ रगत-पसिना बगेको छ । हाम्रा लागि ठूलो पीडाको भारी बोक्ने ती तमाम महानुभावहरुको सपना बमोजिम चल्ने मैले प्रण गरेकी छु । म अचम्मको ठाउँमा छु । मेरा वरपर मेरा मित्र तामसालिङ्ग मात्र छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
नारायण : नमस्कार गर्दै म नारायण २९ वर्षीय युवक तपाईंहरुका सामु उपस्थित छु । म अनादिकालदेखि नै विकासमा पछि छु । अघि को छ त मेरा मनमा यो भावना यदाकदा आउँछ । म पनि श्रद्धेय सहिदहरुको आभारी छु । म ऋणी छु । मेरो अर्को परिचय भन्नु पर्दा पूर्वमा तामसालिङ्ग उत्तरमा पनि तामसालिङ्ग तमुवान र मगर छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेस छन् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
तब्वू : अगाडिको माइक्रोफोनमा आएर नमस्कार गर्दै म तब्वू भन्ने ३० वर्षीय युवती हुँ । म धेरै कालदेखि पछि परेकी छु । मलाई अघि बढ्न नदिने मनग्यै तत्वहरु छन् । मभन्दा पूर्व तामसालिङ्ग र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्रहरु नारायणी मगर र रिडी छन् । पश्चिममा भने भोटेलामा र चीन छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
रिसव : माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म रिसव हुँ । म ३१ वर्षीय युवक हुँ । म अविकसित बनाइएर हेपिएको छु । मनका व्यथा मनमै छन् । जनताका आन्दोलनहरुमा वीरता देखाउने सम्पूर्ण सुपुत्र सुपुत्रीहरुको कदर गर्ने इच्छा पालेको छु । चारैतिर मगरले घेरिन लागेको थिएँ तर उत्तरमा भने तमुवान आइपुगे । नमस्कार । ताली बज्छ ।
मनिषा : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म मनिषा ३२ वर्षीय युवती तपाईंहरुका सामुमा परिचयका लागि उपस्थित छु । मैले हरेक ठाउँमा रगत-पसिना बगाएकी छु । हाम्रा लागि निरङ्कुशताका विरुद्ध लड्ने हरेक वर्गप्रति ऋणी छु । मभन्दा पूर्व नारायणी रिडी र तमुवानजस्ता मित्रहरु छन् भने उत्तरमा एक हिसाबले रिडी र तमुवानका साथै भोटेलामा पनि पर्छन् । मझैँ समानखाले सबैसँग मिलेर अघि बढ्नु नै मेरो चाहना हो । नमस्कार । ताली बज्छ ।
थानेश्वर : नमस्कार गर्दै म तपाईंहरुकै ३३ वर्षीय युवक थानेश्वर हुँ । म आदिवासी भइकन पनि धेरै कालदेखि पछि परेको छु । धेरै पछि भने आफू अन्यायमा पर्दा मुख खोल्ने साहस गरिएकै हो । सुन्ने र गर्नेले छक्याएपछि कसको के लाग्दो रहेछ र हाम्रा लागि प्राण चढाएका र सुखसयल तिलााजली दिएका वीरवीराङ्गनाहरुको सम्मान गर्दै मभन्दा पूर्व मधेस र मगर रहेका उत्तरमा मगर भेरीकर्णाली र सेतीमहाकाली छन् भने दक्षिण र पश्चिमतिर मेरा छिमेकी मित्र भारत छन् भन्दै मेरा कुरा अहिले यहीँ रोक्छु । नमस्कार । ताली बज्छ ।
भोर्जन : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म भोर्जन नाम गरेकी ३४ वर्षीय युवती तपाईंहरुको सामु उपस्थित छु । सबैका जस्तै मेरा पनि कुरा उस्तै हुन् । यत्ति भनुँ- म निमुखाको निमुखै नरहूँ । भौगोलिक अवस्थिति भने अलिक भिन्नै छ । मभन्दा उत्तर र पश्चिममा चीन छन् । दक्षिणतिर मेरा छिमेकी मित्रहरु मगर भेरीकर्णाली र सेतीमहाकाली छन् भने पूर्वमा तमुवान छन् । अरु के भनुँ नमस्कार । ताली बज्छ ।
भेषराज : माइक्रोफोनमा बोल्दै नमस्कार । म तपाईंहरुकै भेषराज नामधारी युवक हुँ । ३५ वर्षको भएँ । परापूर्वकालदेखि नै बाटो न घाटो भई पेलिएको छु । मकहाँ आउन पनि अर्काको घर हुँदै आउनुपर्छ । जति धन भए पनि त्यो गर्भमै सीमित छ । हाम्रा लागि दु:ख उठाउने प्रति अनुगृहीत छु । अरु कहिरनको लेखाजोखा गर्न थालेँ भने थामी नसक्नुको पीडा हुन्छ । मभन्दा पूर्व मगर र केही मात्रामा भोटेलामा र उत्तरमा पनि भोटेलामा नै छन् । दक्षिणतिर भने मेरा छिमेकी मित्र थारुवान छन् । पश्चिममा सेतीमहाकाली छन् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
सेकरिन : अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म पनि तपाईंहरुकै सेकरिन नाम गरेकी ३६ वर्षीय युवती हुँ । म हरतरहले पछि छु । मलाई लुछ्ने र चुस्नेहरुको कहिरन बताउन म पनि सक्तिन । दोष कसलाई दिनूँ मलाई गुण लगाउने सबैलाई श्रद्धा गर्छु । उत्तरतिर भोटेलामा र नजिकै चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र थारुवान छन् । पश्चिममा भारत नै मेरो चिनारी हो । नमस्कार । ताली बज्छ ।
सूत्रधार : आ-आफ्नो परिचयका लागि सबै मित्रहरुलाई धन्यवाद । एकले अर्कोलाई थोरै भए पनि चिनियो । कतिपयसँग राम्रा कुराहरु धेरै छन् । कतिपयमा धेरै खाले अन्धविश्वासहरु मनग्यै छन् । वेग्लै पहिचानका कुराहरु पनि गरौँ कि
लिली : गरौँ । आज एकले अर्कोलाई बुझ्ने कोशिस गरौँ । चोरी विवाह वर्षको दुई पटक उद्यौलीउभौंलीको पूजा धाननाच यालाङ्गमा च्याब्रुङ्ग नाच जस्ता कुराहरु नै हाम्रा पहिचानका कुरा हुन् ।
विजय : ऐतिहासिक महत्वले भरिनु नै हाम्रा पहिचानका कुरा हुन् ।
कोपिला : कोचे राजवंशी धिमाल जातिको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।
किशोर : चण्डीनाच च्याब्रुङ्ग नाच एक किसिमको हाम्रो पहिचान हो ।
ममता : छठ पर्व होली पर्व मैथिली भाषा बोल्नेहरु बहुसङ्ख्यक हुनु उर्वरक खेतीयोग्य जग्गा हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।
शेफालिका : ल्होत्सार दुम्जी ओशो छेजु मानिरिम्दु पर्व पनि हाम्रा चिनारी हुन् । फागुपूर्णिमाको दिन ूॐ मणिपद्मे हुँू हामी विश्व शान्ति चाहन्छौँ भन्ने मन्त्र जप पनि कम महत्वको छैन । बहुपति प्रथा पनि एउटा अलग्गै कुरा हो । पोशाक बख्खु र जुत्ता दोचा चाहिँ झट्टै हामीलाई चिनाउने मुख्य चीज हुन् ।
तासा : तामाङ्ग र चेपाङ्गको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।
नेहा : बेलविवाह इन्द्रजात्रा रथजात्रा भोटोजात्रा मछेन्द्रनाथ महपूजाजस्ता कुराहरु हाम्रो चिनारी बन्दै आएका छन् । अरुभन्दा हामी आर्थिक सांस्कृतिक र शैक्षिकरुपले सम्पन्न छौँ र पनि भनेजस्तो अघि छैनौँ । हामी पनि भयङ्कर कहर काट्न विवस छौँ ।
तब्वू : हामी गुरुङ्ग तमु हरु स्वदेश र विदेशमा सैनिक सेवामा प्रख्यात छौँ । घाटुनाच पुटपुटेनाच युवायुवती बीच मायाप्रीति आदानप्रदान गर्न रोदीघर परम्परा जस्ता कुराहरु पनि हाम्रा चिनारी नै हुन् ।
मनिषा : मामा चेली फूपू चेला बीच विवाह भाउजू बेहोर्ने जारी विवाहलाई कसैकसैले नराम्रो मानेको पाइन्छ । कोरानाच घाटुनाच नागपूजा लुटो फाल्नेजस्ता कुराहरु हाम्रा पहिचान बनिसकेका छन् ।
थानेश्वर : नयाँ वर्षको रुपमा मनाउने माघी चाड होली जितिया समाचखेवाजस्ता पर्वहरु हाम्रा पहिचान नै हुन् ।
भोर्जन : डोल्पा हुम्ला मुगु मुस्ताङ्ग जिल्लामा भोटेलामाको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।
सूत्रधार : कतिपयका मौलिक पहिचान हराइसकेका छन् । बाहिर नदेखिने थुप्रै प्रथा र परम्पराहरु छन् सबैजसोमा । राम्रा कुराहरुलाई जोगाउनुपर्छ नराम्रा कुराहरुलाई चाहिँ अब इतिहास बन्न दिनुपर्छ । वर्तमान बन्न दिएर यथास्थितिवादीका पुजारी भयौँ भने सहिदको रगतले सराप्छ । इतिहासले धिकार्छ । भविष्यका सन्ततीले थुक्छन् । त्यसैले हामी कस्ताकस्ता प्रथा र परम्परालाई इतिहासमा सीमित पार्दै आयौँ त अनि केकस्ता विकृत प्रथालाई स्थान दिँदै छौँ यसबारे एकै क्षण विचार मन्थन गरौँ न । यसको मतलव चाहिँदा प्रथा मात्र चलाऔँ कुसंस्कार हटाऔँ भन्ने मनसाय छ ।
लिली : गरौँ जानेका र बुझेका कुरा गरौँ । पृथ्वीनारायण गीर्वाणयुद्ध भीमसेन थापा देव शमशेरजस्ताहरुले हटाउन चाहेको दासप्रथालाई जङ्गबहादुरले मलजल गरे । तर टुँडिखेलमा आमसभा गरी वि। सं। १९८० मङ्सिर १४ गते चन्द्रशमसेरले दासप्रथा हटाए ।
विजय : उसो त पतिको मत्युपछि पत्नी पनि जल्नुपर्ने प्रथा सती प्रथा पनि नराम्रो हो नि ।
कोपिला : मध्यकालमा भारतमा पति मरेपछि परपुरुषको अत्याचारबाट बच्न हिन्दू नारीहरुमा यो प्रथा शुरु भएको थियो । पछि गएर पुरुषका लागि मानप्रतिष्ठा र नारीका लागि धर्म हुने नाममा वाध्यता बन्न पुग्यो । एउटा घोर आश्चर्य- मृत पतिका साथ ज्यँुदै जल्नुपर्ने कति कष्टकर चलन हो यो !
किशोर : झन मैले त सुनेको छु- यसका समर्थकहरु सती जाने बेलामा सतीको स्तुतीका लागि विभिन्न राग र अन्य थरीको बाजागाजा बजाउँथे रे । ती पाखण्डीहरु सती जानेहरु साक्षात् देवी हुन् भन्थे रे । ज्युँदै मर्नुपर्दा निस्कने ह्दयविदारक चीत्कार सुन्न नपरोस् भनी ती बाजागाजा बजाइएका हुन् भन्ने कुरा चाहिँ कमैलाई थाहा छ ।
ममता : के भन्ने ! धर्मको नाममा यी राजा महाराजाहरुको विलासीपनको कुरा ! रत्न मल्ल मर्दा १० जना प्रताप मल्ल मर्दा ९ जना योगनरेन्द्र मल्ल मर्दा ३३ जना सती गएका थिए रे । रणबहादुर शाह मर्दा हेलम्बू निर्वासित रानी राजराजेश्वरी लगायत १५ जनालाई आफ्नो राजनैतिक हितका लागि लागि सती जान वाध्य बनाइएको घटना कम ह्दयविदारक छैन । कविवर माधवप्रसाद घिमिरेलॆ 'राजराजेश्वरी' खण्डकाव्यमा पनि केही मात्रामा यसको वर्णन गरेका छन् ।
तार्केश्वर : वि सं १९७७ २८ जून सन् १९२० मा चन्द्रशमशेरले एक घोषणा गरी यो मानवताविरोधी प्रथा हटाएछन् र पनि भारतमा भने यदाकदा सती गएको कुरा सुन्नमा पाइएको छ । सरकारी तहबाटै चाहिँ सती जानैपर्ने नियम भने छैन । धर्मको नाममा अझै यस्तै प्रकृतिका पाखण्डहरु मनग्यै छन् ।
शेफालिका : पारिश्रमिक विना काम गर्दिनुपर्ने झारा प्रथा पनि घोर अन्यायी प्रथा हो । सरकारी एवं सार्वजनिक कामकाजमा त यो प्रथा ठीक छ । तर कथित ठूलाठालुहरुले सर्वसाधरणहरुलाई निजी काममा खटाउनु घोर अन्यायी चलन हो ।
तासा : ठूलाठालु भनाउँदाहरुलाई सार्वजनिक काममा विना पारिश्रमिक योगदान देओ भन्ने नियम बनाउने हो भने बरु मनासिव हुन्थ्यो होला । उनीहरुले श्रम नदिए पनि श्रमिकलाई दिइने पारिश्रमिक त दिन्थे ।
नेहा : भारतको बम्बै कलकत्ता कानपुर जस्ता ठाउँ र थाइल्याण्ड ताइवान हङ्गकङ्गका साथै अरब मुलुकहरुमा लगेर हजारौँको सङ्ख्यामा नेपाली चेलीहरु बेचिनु र वेश्यावृत्तिमा संलग्न पारिनु पनि घोर अत्याचारी कुरा हो ।
नारायण : अर्को कुरा स्वेच्छाले छोरीचेलीलाई धन दिनु त राम्रै हो । छिमेकी मुलुक भारतमा चलेको चलनको प्रभावमा आई विशेष त मधेस र केही मात्रामा काठमाण्डौ र पहाडी क्षेत्रमा ऋण काडेरै भए पनि मनग्यै दाइजो दिनुपर्ने वाध्यताले विकराल रुप लिएको छ ।
तब्वू : हो यथेष्ट दाइजो नल्याएमा लोग्ने सासू ससुराहरुले कुट्नेपिट्ने मात्र हैन घरबाटै लखेट्ने जिउँदै जलाउने र अन्य उपायले मार्नेसम्मका घटनाहरु घटिरहेछन् । यो नारीमाथि थोपरिएको अत्याचार वाहेक अर्थोक केही होइन ।
रिसव : नारीमाथि थोपरिएको अत्याचार वाहेक पुरुषहरुमाथि पनि अत्याचार थोपरिएको छ । कर्णाली क्षेत्रतिर दूधको भारा तिर्ने भन्दै वर पक्षले वधुका बुवाआमालाई एक दुई हजारदेखि लाखै रुपियाँसम्म दिनुपर्ने चलन अझै छँदै छ रे ।
किराँत : नारीले पुरुषमाथि गर्ने शोषणको अर्काे रुप राजवंशी जातिमा प्रचलित डंगुवा प्रथा हो । विधुवा नारीले रडुवा वा कम आर्थिक अवस्था भएका परपुरुषलाई पतिको डंगुवा रुपमा राख्छन् । त्यसबाट जन्मेका सन्तानलाई अंश दिने वा नदिने भन्ने हक नारीमा नै हुन्छ । त्यस डंगुवाको सम्पत्तिमा अधिकार पनि हुन्न । कुनै सामाजिक वा धार्मिक काममा पनि सरिक हुन पाउँदैन । विवाहित पुरुषको भन्दा यस खाले डंगुवाको स्थान एकदमै निम्न तहको हुन्छ ।
मनिषा :- ठूलाठालुका नियम आफू माथि पर्ने र अरुहरुलाई चाहिँ तल पार्ने खालका त हुन्छन् नि । सेती र महाकाली अाचलका सबैजसो जिल्लामा मन्दिरमा कन्या चढाउने चलन देवकीप्रथा छ । तिनीहरुले मन्दिरको रेखदेख गरी जीविकोपार्जन गर्नुपर्छ । देवकीको सङ्ख्या धेरै र आम्दानी कम भएकाले ती देवकीहरु वाध्य भएर देहव्यापारमा लागेका छन् । चढाइएका देवकीका बाउआमा वा अरु कसैले कुनै प्रकारको रेखदेख नगर्ने भएकोले उनीहरुको स्थिति दयनीय हुनु स्वभाविक हो । अरु काम पनि गर्नु भएन । बाँच्ने आधार नभए पछि देह व्यापार अपनाउन वाध्य हुनुपरेको विवशता कसले बुझिदिने
थानेश्वर : हाम्रै तिरको चलन भनूँ न । गर्जो टार्न घरजग्गा बन्धकी राखेर साहूबाट ऋण लियो र व्याज तिर्नकै लागि विना पारिश्रमिक साहूकोमा हली बस्यो । जसलाई कमैया हलिया प्रथा भनिन्छ । राजथारु दगौराथारु र केही मात्रामा अरु जातीहरुमा पनि यो प्रथा चलेको थियो । कैलाली काचनपुर दाङ्ग बाँके बर्दिया सुर्खेत सल्यान जिल्लाहरुमा यस्तो चलनले जरो गाडेको देखिन्छ । आर्थिक दुरावस्था र अशिक्षाका कारणले यस प्रथाले मलजल पाए पनि सरकारी घोषणाले र जनचेतनाको विकासले अब भने मुक्तिको श्वास फेरिँदै छ ।
भोर्जन : एउटा मैले जानेको कुरो भन्दै छु । बाद्यवादन सहितको नर्तकनर्तकीहरु नै बाधीबधिनी हुन् । राजारजौटा र सम्भ्रान्त परिवारको लागि नाचगान गरेर मनोराजन दिनका लागि बाधीबधिनी प्रथाको चलन चल्यो । खान लगाउनका दु:खले बाधीबधिनी बस्ती देहव्यापारमा लाग्यो । नेपालगाज शहरको गगनगाज यसका लागि कुख्यात ठाउँ हो । धनसम्पत्ति नभएकाले पुरुष बाधीहरु माटाका समान बनाउने मादल हलो जुवा बनाउने तथा माछा मार्ने अर्काको बनिबुतो गर्ने जस्ता कार्यमा जुटेका छन् भने प्राय: बधिनीहरुचाहिँ नाचगान मनोराजन र देहव्यापारमा सङ्लग्न छन् ।
लिली : ए मैले पनि अचम्मकै कुरा जानेको छु त्यस जातिका बारेमा । बावुआमाले नै कुनै परपुरुषबाट दश-बाह्र हजार जति रुपियाँ लिएर आफ्नी छोरीचेलीसँग प्रथम सहवासको काम नथ फोर्ने काम गराउँछन् रे । यसरी प्रथम सहवास गर्ने पुरुष नै उसको पति हुन्छ । यो उनीहरुको आस्था मात्र हो । त्यो पुरुष पतिको रुपमा त्यहाँ रहँदैन । न केटीलाई नै पत्नीको रुपमा स्वीकार्दछ ।
भेषराज : मुस्ताङ्गतिरको कुरा भन्दछु- त्यहाँ झुमा बौद्धकन्या ढावा लामा प्रथा छ । तीन छोरी हुने बावुआमाले माहिली छोरी र तीन छोरा हुने बावुआमाले माहिलो छोरो गुम्बाको रेखदेखका लागि चढाउने गर्दछन् । अरुले पनि आस्थाले चढाउने गर्दछन् । उनीहरुलाई विशेष प्रशिक्षण दिई छोरीलाई झुमा र छोरालाई ढावा लामा बनाइन्छ । यौन सम्पर्क चाहिँ राख्न हुने र विवाह गर्न चाहिँ नहुने चलन भए पनि कसैकसैले यस चलनलाई लात हानेका पनि छन् । कतिपयले अवैध यौनसम्पर्क गर्दछन् । आधुनिक युगको प्रभाव र सामाजिक चेतनाका कारणले यस चलनमा धेरै परिवर्तन आइसकेको छ ।
सेकरिन : विशेष त अछाम जिल्लामा परसरेका वखतमा महिलालाई छाउपडी भनिन्छ । त्यसवेला घरभन्दा टाढाको झुपडीमा बस्नुपर्छ । नारीको जीवनमा हुने एक सामान्य जैवीक प्रकि्रयालाई अन्धविश्वाससँग जोडेर दूधदही खाने अर्काको आँगन टेक्ने किताब पढ्ने जस्ता कुनै पवित्र कार्य गर्नहुन्न भनेर अत्याचार थोपरिइन्छ । छाउपडीलाई अशुभ मानिएकाले नारीहरुको अवस्था दयनीय छ ।
लिली : भारतको सौराठ भन्ने ठाउँमा कन्या र वरको बडो सरलतापूर्वक विवाह गराइदिने पुरानो चलन छ । अहिले भने दुबै पक्ष बीच कुरा मिलाई दिने लमीको जस्तो काम गर्ने ूघटकू ले दुबै पक्षबाट रकम असुल्ने गरेकाले विकृति भित्रिएको छ । नेपालको पूर्वी र मध्य तराईमा मिश्र झा ठाकुर पाठक आदिले सौराठ मेलामा सरिक भई आफ्ना विवाह योग्य कन्या र कुमारीको विवाह गर्दिने चलन छ भन्ने मैले सुन्न पाएको छु । यो चलन राम्रो भए पनि घटक र दहेजका कारण अनेकौँ असङ्गत काम र कुराहरु हुने भएकाले राम्राभन्दा नराम्रा पक्षले नै मलजल भेट्ने गरेका छन् ।
विजय : बोक्सीले टुनामुना र मन्त्रका बलले अरुको अहित गर्छे भनिन्छ । त्यस्ता आइमाईले बोक्सी विद्याका कारणले रिस उठेका मान्छेलाई सताउने लौना गाईभैँसीको दूध सुकाउनेजस्ता खराब काम गर्न सक्छन् भनिन्छ । बोक्सी भनेर आरोपित महिलालाई कुट्नेपिट्ने डाम्ने दिशापिसाव खुवाउने र जिउँदै आगो लगाउनेसम्मका कामहरु समेत गरिएका छन् । बोक्सी यथार्थ कुरा नभई काल्पनिक कुरा हो भनिदिनेको अभाव छ । बोक्सीसँग त्यस्तो अलौकिक सामथ्र्य हुँदो हो त छिमेकी देशहरुले सीमाना मिचिरहेछन् देशका सबै भूभागमा अपराधिक कामहरु भइरहेछन् विकास पछि छ विकृति अघि छ ती सबैलाई साम्य पार्न समस्या सुल्झाउने काममा खटाउन सकिने थियो । तसर्थ हिजोका पिढीँदेखि आजकासम्मले बोक्सी भनेर आरोपितहरु सामान्य महिला मात्र भएको बुझ्नु आवश्यक छ ।
कोपिला : मुगु जिल्लातिर जनतामा किचलो उठेमा त्यसलाई मिलाइदिने मध्यस्तकर्तालाई भेडो काटेर खुवाउनुपर्ने र घोडामा चढाएर घर पठाउँनुपर्ने चलनलाई घोडाभेडाप्रथा भनिन्छ रे । स्थानीय स्तरमै मुद्दामामिला मिलाउने चलन राम्रो काम भए पनि घोडा र भेडाको कुराले कम आम्दानी हुनेहरुलाई आर्थिक भार पर्न जाने हुँदा राम्रो मान्न सकिन्न ।
ममता : मैले एउटा कुरा सुनेको छु । सबैले भन्दा मैले पनि भन्नैपर्छ । डोल्पा जिल्लाको सुर्भी गाउँका अविवाहित महिलाहरु प्रत्येक वर्ष पुस १५ देखि चैत्र १५ गते गरी ३ महिनासम्म आफूलाई चाहिने खानेकुरा र लत्ताकपडा लिई वनवासी जीवन विताउँछन् रे । यसलाई खुल्लाप्रथा भनिँदो रहेछ । त्यसवेला अभिभावकहरुसँग भेटघाट गर्न नहुने भएकाले गर्दा अल्लारे ठिटाहरुले ती युवतीहरुसँग जबरजस्ती गर्ने अवैध यौन सम्बन्ध राख्नेजस्ता काम गर्नाले धेरै थरीका विकृति फैलिएको छ । २०५३ सालको गाउँलेहरुको सभाले यस प्रथामा रोक लगाए पनि अझै धेरथोर मात्रामा कायमै रहेको छ रे । यो प्रथा चल्नुको रहस्य भने ज्ञात हुन सकेको छैन भन्ने मैैले जान्न पाएको छु ।
तार्केश्वर : भेरी नदीको छेउछाउ त्यसमा पनि सुर्खेत र सल्यान जिल्लाको सीमित गाउँहरुमा युवकहरुले इच्छाएकी युवतीलाई घुमाउन लाने चलन छ । त्यस्ता युवतीलाई सैरेली भनिन्छ । गाईतिहारको अघिल्लो दिन अभिभाववककै सल्लाहले सैरेलीहरु घुम्न जान्छन् र भाइटीकाको अघिल्लो दिन फर्कन्छन् । यस सैरेली प्रथामा छोरीचेलीको सुरक्षा नहुँने भएकोले यो प्रथा लोप हुँदै छ रे भन्ने समेत मैले सुनेकी छु ।
भोर्जन : सुबहाल र इमाडोल ललितपुर का केही ठाउँमा महाङ्काल भगवान्को सेवामा पूजारीका छोरालाई नै बलि चढाउने जस्तो भयावह नियम थियो रे ।
सेकरिन : देवीदेवतालाई खुशी पार्ने नाममा हिन्दूहरु र मुस्लिमहरु इद-बकराइदमा अन्य पशुका अतिरिक्त गाई पनि बली दिन्छन् ।
मनिषा : गढीमाई बारा मा विश्वकै विशाल बलि मेला लाग्छ । पटकपटक बलि दिँदा पनि भाकल पूरा नभएमा पाचबलि भेडा राँगो कुभिण्डो र जोडी परेवा समेत दिइन्छ ।
थानेश्वर : रुद्रायणी देवीलाई बलि दिन खोकना ललितपुर मा जिउँदो पाठीलाई पोखरीमा डुवाएर मारिन्छ र पकाएर प्रसादको रुपमा खाइन्छ ।
रिसव : नेपालका दुर्गम जिल्लाहरुमा शिशु जन्मन लागेको थाहा पाउनासाथ घरदेखि टाढा बनाइएको गोठजस्तो ठाउँमा लगेर राखिन्छ र शिशु जन्मेको कष्टप्रद ११ दिनपछि मात्र घर भित्र्याइन्छ ।
तब्बू : नेपालका लेप्चा जातिमा बेहुलालाई कमिलाले टोकाई राम्रो र नराम्रो भनी छुट्याउने चलन छ । रानाथारु जातिमा दुई गर्भवती महिलाले लिङ्ग नजानीकनै गर्भमै विवाह गर्दिन्छन् रे । पछि छोरा-छोरा वा छोरी-छोरी जन्मेमा मितेरी साइनो कायम गरिँदो रहेछ ।
सेकरिन : नेवार जातिमा रजस्वला हुनुपूर्व इही विवाह बेल विवाह गरिन्छ । वास्तविक विवाह पछि पतिलाई त्यही बेलको सजीव रुप ठानिन्छ ।
तासा : तिब्बतको सीमानामा अवस्थित मुस्ताङ्गमा मृत्युपश्चात् लासलाई टुक्राटुक्री पारेर गिद्धलाई खुवाउने जस्तो क्रुर प्रथा छ ।
भेषराज : गोरखा जिल्लाका लामा समुदायमा मृतक शिशुको अन्तेष्टी अर्को शिशु जन्मेर हुर्केपछि मात्र गरिन्छ ।
नेहा : मुस्लिमहरुमा लिङ्गको टुप्पाको छाला काटी मुसलमानी गराइन्छ ।
नारायण : हिन्दूहरु मरेका पितृहरुलाई स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तार्छ भनी बाहुनलाई गाई दान गर्छन् । स्वर्गमा उनीहरुले पाउँछन् भनी श्राद्ध गर्ने सुन चाँदी पैसा घरजग्गाजस्ता चलअचल धन दान गर्छन् । तल्ला जातका भनिएकाहरुले छोए भने तीन पटक स्नान गरी गङ्गाजल छर्किएर चोखिने चलन पनि छ ।
शेफालिका : मैथिल समुदायका ब्राह्मण कायस्थ जातिमा साउनको नागपाचमीदेखि १५ दिनसम्म चल्ने मधुश्रावणी पर्वमा सीतालाई अग्निपरीक्षाका लागि आगोमा हाम फाल्न लगाएजस्तो नलगाए पनि बधुलाई कपासको वत्तीमा आगो लगाई डामिन्छ जसलाई तेमी प्रथा भनिन्छ । यसरी डाम्दा जति ठूलो फोको भयो त्यति बधु वरप्रति प्रतिबद्ध छे भन्ने ठानिन्छ ।
तारकेश्वर : हिन्दू महिलाहरुले तीज पर्वमा ३६५ वटा दतिवनले दाँत माझ्नुपर्छ । त्यस समयमा जुठो वा सुतक आफन्तमा बच्चा जन्मेमा मानिने अशुद्धता परेमा अर्को वर्ष ७३० वटासम्म दतिवनले दाँत माझिन्छ ।
ममता : हिन्दूहरु कालो बिरालोलाई अशुभ मान्छन् भने वेलायतीहरु शुभ ठान्दछन् । अर्को कुरा सूर्य÷चन्द्रमालाई चमारले छँुदा वा समाउँदा ग्रहण लागेको भन्ठानी हिन्दूहरु ग्रहण लागेको बखत स्नान गर्दै छोड चमार छोडू भनी नारा लगाउँछन् ।
किशोर : दोलखाका थामी जातिमा सानैमा 'चारदाम गर्ने र बागदन्त फोर्ने' भन्ने बोलीचालीको रिवाजपश्चात् विवाह भएको मानिन्छ । वास्तविक विवाह भने पछि छोरानातिले गर्दिन्छन् रे ।
कोपिला : भएको अन्य पुख्र्यौली सम्पत्तिका अतिरिक्त घरै भत्काएर भग्नावशेष समेत छोराहरुमा बराबर गरी बाँडफुड गर्ने चलन कतैकतै थारु जातिमा छ रे ।
विजय : भन्नै डरलाग्दॊ कुरो भन्दै छु- युगाण्डाली तानाशाह इदी अमिन सन् १९२४-००३ मान्छेको मासु काँचै वा पकाएर खान्थे रे ।
शेफालिका : अरुका त के कुरा आफ्नै मुलुकका कुरा भन्दछु- हातमा सत्ता परेपछि शासकहरु मात्तिदा रहेछन् भन्ने उदाहरण मात्र हो यो । पूर्व राजा ज्ञानेन्द्रको सम्पत्ति र सुविधा जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको भन्दा २२४६ गुणा बढी गणतन्त्र भारतको राष्ट्रपतिको भन्दा ४१८ गुणा बढी गणतन्त्र पाकिस्तानको राष्ट्रपतिको भन्दा ३०१ गुणा बढी गणतन्त्र रुसका राष्ट्रपतिको भन्दा १७३ गुणा बढी बेलायतका प्रधानमन्त्रीको भन्दा १५ गुणा बढी अमेरिकाका राष्ट्रपतिको भन्दा १० गुणा बढी नेदरल्याण्डकी महारानी र जापानका राजाको भन्दा डेढ गुणा बढी थियो रे ।
तारकेश्वर : तापनि राज्यको ढिकुटीबाट रोल्स रोयस कारमा आफ्नी छोरीको बिहेमा दश करोड छोरीकै उपचारका नौ करोड पारसको भारतभ्रमणमा ९६ लाख लगायतका खर्चहरु जोड्दा राजाले तीन वर्ष बीचमा १ अरब ५१ करोड ४१ लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै खर्च गरेछन् ।
सेकरिन : ज्ञानेन्द्रको बारेमा त लुकेका धेरै कुरा छन् । ती कुराहरु मध्ये यो फेहरिस्त एउटा नमुना मात्र हो । हाम्रा नेतानेतृ नै पटकपटक करोडौँ खर्चेर विदेशको यात्रा गर्छन् र नेपालीलाई कङ्गालपति बनाउन मद्दत गर्छन् भने अरुको त के कुरा थोरै खर्चले हुने काममा मुलुकलाई धेरै खच्र्याउनु पनि राष्ट्रघात हो भन्ने बुझ्न आवश्यक छ ।
किशोर : त्यसो त राजनैतिक सहमतिका लागि भन्दैे संविधान बनाउन ६०१ जना सभासदको खाँचो देखियो । राजनैतिक भागबण्डा मिलाउन नै यस्तो गरिएको कुरामा कसैको विमति छैन । गरिव मुलुकले त्यत्रो धन खर्च गर्न सक्तदैन भन्नेतिर कसको गम्भीर ध्यान पुग्यो र २० २२ सदस्यीय मन्त्रीपरिषद भए हुनेमा ४२ ४५ जना किन चाहियो
भेषराज : मलाई पनि भन्न मन लाग्यो । पृथ्वीमा जन्म लिएका मानिसहरु मध्ये सबैभन्दा शक्तिशाली मानिस हर्कुलस थियो रे । उसलॆ पृथ्वीका राक्षस र अत्याचारी शासक मासेर साधुजनको रक्षा गरी मानव जातिमा एउटा नौलो कीर्तिमान कायम गरेको थियो रे । त्यो दुर्भाग्यलाई अन्त्य गर्न र धर्तीका काला अँध्याराका थेग्ला पुछ्न उही ग्रीसकालीन हर्कुलसका हात सिबाय अन्य हातहरुको पित्ताम चल्दैन भन्ने मेरो विश्वास हो । हर्कुलसका ती बलिष्ठ हातहरु देख्नुभयो भने तुरुन्त मलाई खबर गरिदिनुहोला । अहोभाव र अनुग्रहले म तपाईंका चरणकमलमा शिर राख्नेछु ।ू१ साँच्चै राक्षसी प्रवृत्तिलाई धरासाही गरी जनताको मन जिती नयाँ नेपालको जन्म गराउन शक्तिशाली मान्छेको अभाव खड्केकै हो त
ममता : ूयो हिमवत्खण्डको नेपाल खाल्डोमा सयौँवर्षदेखि िसंह कुकुर सुढे गिद्ध र फोहोरजस्ता चीजहरुले सताइरहेका छन् । आजसम्म त्यस्तो वीरपुरुष जन्मिन नसक्नु नेपालआमाको दुर्भाग्य नै मान्नुपर्छ ।ू२ अराजकता निर्मूल पार्ने सच्चा राष्ट्रप्रेमी जन्मन आवश्यक छ ।
तार्केश्वर :- भन्छन्- मानो खानु आफ्नो कुरा काट्नु अरुको । मान्छेको स्वभावै यस्तै छ । ूहामी सिर्जनात्मक समालोचनात्मक निन्दा भन्दापनि परपीडनकारी निन्दामा रमाइरहेका हुन्छौँ । मानौँ हामी अर्काको निन्दा गर्न जन्मेका हौं अरुलाई सराप्न धर्तीमा आएका हौं । निन्दाका दुईटा आयाम् छन् सार्थक र निरर्थक । हामी सार्थक निन्दाभन्दा निरर्थक निन्दाबाट निर्देशित हुँदैगएका छौं ।३) तर अहिलेको निन्दा भनेको सार्थक निन्दा हो ।
शेफालिका : हो त नि । निन्दावृक्ष ईष्र्याको मलजलमा हुकर्ंदै झाँगिदै जान्छ । सबै जनाले सकारात्मक सोच ल्याउने हो भने मात्र बेथितिको समुल नष्ट भई विकासको दैलो उघ्रन्थ्यो ।
तासा : ईष्र्या द्वैष र मात्सर्यको यस्तो विषाक्त संस्कृति रौँ रौँमा गाडिएकोले सकारभित्र पनि नकार मात्र देख्छौं अरुको खुशीमा आफू वेखुशी हुन्छौं । अरुको आनन्दमा आफ्नो पीडा सुम्सुम्याउँछौ । आफू आफ्नो कारणले भन्दा अरुको कारणले वढी दु:खी बन्छौँ ।
नेहा : अँ मनलाई शान्त पार्ने काम पनि हुनुपर्छ नि । कालजयी गीतसङ्गीतमा मोहनी हुन्छ । सुन्दा पनि मन शान्त हुन्छ । गीत बज्छ ।
फूलको आखुमा फूलै संसार काढाको आँखुमा काढै संसारझुल्किन्छ है छाँया वस्तु अन्सार ॥चित्त शुद्धहोस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले कीरै नमरोस्राम्रो आखुमा खुल्छ राम्रै संसार ॥टहटह जून देखूँ कालो रातैमा जीवन संगीत सुनूँ म सुख्खा पातैमासङ्लो मनमा खुल्छ है सङ्लै संसार ॥
सूत्रधार : पुरानो पात झर्दो छ नयाँ मुजुरा कापकापबाट फुट्ता छन् । पुराना पर्खाल चिकर्ंदा छन् नयाँ पर्खालको निम्ति चर खनिँदै छ । पुरानो बार धमिराले जरा जीर्ण पारेर मक्ँिकदो अवस्थामा छ नयाँ बारको निम्ति घोचाघारा ठीकठीक अवस्थामा खडा छन् । एउटा वूढो युग चीर निन्द्रामा सुत्ने तरखरमा छ । अर्को कलिलो युग वूढो युगकै गर्भबाट जन्मिने सुरसारमा छ ।ू६ खुशी हुने ठाउँ पनि मनग्यै बनाएका छौँ भन्ने चाहिँ नबिसौ्रँ ।
रिसव : यसका लागि सबैको सोच एकै थरीको हुनु आवश्यक छ । कोही पूर्व कोही पश्चिम त कोही उत्तर र कोही दक्षिण फर्कने हो भने राम्रै कुरामा पनि मेल हुन सक्दैन ।
सूत्रधार : कुरा एकदमै ठीक हो । हामीले ठूल्ठूला पर्खाल फोडेर यहाँसम्म आइपुगेको कुरा नभुलौँ । अब हामी यत्तिले जे चाहन्छौँ त्यही हुन्छ । हामी समान वर्गीयहरु एक अर्काको भावना र विचारको कदर गर्दै जाऔँ । ूएकले थुकी सुकी सयले थुकी नदीू भनेझैँ मेलमिलापले काम गर्ने कुरालाई मनमा हर्दम सजाएर अघि बढौँ । तगारो लगाउनेहरु स्वत: भाग्छन् । नभागी तिनीहरुको खैराँत नै रहन्न ।
सबै पात्रहरु लहरै उभिएर अङ्गालो मार्छन् । सूत्रधार ताली बजाउँछन् । तालीको गडगडाहट सुनिन्छ । पर्दा विस्तारै खस्दै जान्छ ।
पादटिप्पणी-१२३४६ साहित्यकार पुन्य कार्कीका निबन्धका अंशहरु
६ दुर्गालाल श्रेष्ठद्वारा रचित आनी चोइङ डोल्माद्वारा गाइएको गीत
०६६।०६।२६

शुभकामना ( गद्य कविता )

दुःख र सुख खहरे खोला
आउने र जाने तिनेरको काम
न आयो सुख न गयो दुःख
सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन
विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन
वसन्त आयो पालुवा लागेन ।
नेतानेतृ मात्र जन्मिए जनता जन्मिएनन
समस्या जन्म्यो समाधान जन्मिएन
बोलीमा अहङ्कार देखियो व्यवहारमा दृष्टिकोण हरायो
चेत खुल्यो मन खुलेन
नहुने हुँदै गए हुने हुँदै भएनन् ।

कानून मर्यो शान्ति भीरबाट खस्यो
आँसुको मूल फुट्यो हाँसोको उठिवास भयो
अब त जनता जन्मियून्
नूतन वर्ष ०६७ नौलो युग सावित होस् ।
दुःखले निकास फेला पारोस्सु
खले राज भेट्टाओस्
नेतानेतृ जनतामा रुपान्तरित होऊन्
कानून जागोस् हाँसोको मूल फुटोस् ।

राष्टिय अखण्डता समुन्नतिमा मन जागोस्
चाडै यो भूिमसङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल! बनोस्
स्हिमाल अटोस् पहाड नछुटोस् तराई पराई नबनोस्
आमा हाँसून् सन्तान नाचून्
एक युगको एक वर्ष ०६७ बनोस्
समस्त महानुभावहरुमानूतन वर्ष ०६७ को शुभ घडीमा
अक्षान्त! को मगलमय शुभकामना !!!

आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !(निबन्ध)

श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू,
जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन !

औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ । आइतबार नपर्खीकन सरासर शब्दहरूको पहाड बनाउने काम गर्ने बानी छ । आफ्नो मन खाएकाहरूसँग भलाकुसारी गर्ने मेरो मनोकांक्षा हो । नेपालको आर्थिक क्रान्तिका लागि नयाँ सोच र दृष्टिकोण सहितका अर्थमन्त्री भएको पाएकाले ‘आर्थिक क्रान्तिका अभियन्ता बाबुराम भट्टराई’ भनेको हुँ । ‘भट्टराईले जे बोल्यो त्यसमा अडिग भएर लाग्यो, पूरा गर्न सकिने बोली बोल्ने र फत्ते गर्न कटिबद्ध रहने कोही राजनीतिज्ञ छ भने त्यो भट्टराई बाहेक अर्को नेपालमा विरलै छ’ भन्ने कुरा सर्वत्र गरिएको पाएँ । मेरो मनको यसै कुरालाई पूरा गर्न कलम उठाएको छु । कलमले जेजे भन्छ, मेरो मनले पनि त्यही, त्यही भनेको हुन्छ । कलम मार्फत् खोट हुने गरी चोट पर्न पुगेमा क्षमा याचना माग्दै निर्धक्कका साथ कलमी म्याराथुनमा भाग लिन अनुमति चाहन्छु ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, हामीमा कस्तो पागलपन छ भन्ने बारेमा लेख्दछु । जाँतोले अन्न पिसिदिएर हामीलाई गुण लगाएको हुन्छ र पनि ढुंगालाई पुज्न कहाँकहाँ पुग्छौँ तर आफ्नै घरको जाँतोलाई पुज्दैनौँ । त्यो ऋणलाई भुसुक्कै भुलिदिन्छौँ । गुण दिनेको गुणगान गाउनु महानता हो । त्यो कार्य पनि महान् तरिकाले हुँदा मात्र सही अर्थमा गुणगान गरेको ठहर्छ । अनवरतरूपमा दशवर्षसम्म जनयुद्ध लडेर विश्वले नै पाठ पढ्ने काम गर्दा पनि नेपालका केही राजनीतिज्ञ भनाउँदाहरूले बन्दै गरेको संविधानमा ‘जनयुद्ध’ शब्दलाई स्थान दिन आपत्ति जनाएको सुन्न पाउँदा मेरा कान पाकेका छन् । आमूल परिवर्तनको संवाहक जनयुद्धलाई जाँतोलाईझैँ व्यवहार गरेको पाउँदा रगत बगाएका, ज्यान दान दिएका लालयोद्धाहरूको रगतले नसराप्ला र ? अब पनि जनताले आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा राहत नपाएमा मन नरोला र ? तसर्थ आज म तपाईसँग जनसरोकारको आर्थिक क्रान्तिको कुरा गर्दै छु ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, ‘डब्लुडब्लुडब्लु डट बाबुराम भट्टराई डट कम’ले मलाई यो पत्र लेख्ने फुर्ती दिएको हो । अर्थ मन्त्रालयलाई जनमुखी तवरले हाँक्ने काम गर्नुभएको मूल्याङ्कन गरेर नै कलम चलाउने हिम्मत जुटाएको हुँ । अब क्रान्ति, त्यसमा पनि आर्थिक क्रान्तिको कुरा गरौँ । क्रान्ति शब्द सुन्नासाथ हामी झस्कन्छौँ । बम–बन्दुक, गोला–बारुद जस्ता शस्त्रअशस्त्रको बलले गर्ने ‘कि बाँच कि मर’को खेल नै क्रान्ति हो भन्ने भ्रममा हामी पुगेका छौँ । भ्रमबाट हामी उम्कन त चाहन्छौँ तर हिम्मत जुटाउन सकेका छैनौँ । निश्चय नै, हामी भाषणका भोका छौँ, किनकि हामीसँग चेतनाको कमी छ । निश्चय नै नवीन सोचको भाषणले चेतना दिन्छ तर भोको पेट र नाङ्गो आङ लिएर भाषण सुन्न सकिन्न । आश्वासनका पोकापन्तेरा बोकेर जीवनको उकालो चढ्न सकिन्न, ओरालो झर्न सकिन्न । जीवन रहे मात्र सार्थक बनाउन सकिन्छ । नरहे प्रश्न नै आउँदैन । आजको आवश्यकता भनेको ‘जीवन बचाऊ, सुखी बन, परिवार सुखी तुल्याऊ, समाज र राष्ट्रको समुन्नतिमा सानो भए पनि योगदान गर’ भन्ने हो । यसका लागि आजका युवाले नौलो सोचले ओतप्रोत हुँदै नौलो तवरले पाइला चाल्नु आवश्यक छ । अबको क्रान्ति विचारले, सोचले, दृष्टिकोणले, तत्कालै उँभो लगाउने पाराले हुनुपर्छ । देशमा एउटा विशाल जमात भोकमरीमा छ, विदेशीन वाध्य छ । स्वदेशमा स्वाभिमानी शिर उच्च पार्ने मान्छे, विदेशी भूमिमा भतुवाकुकुर सरह भएर दुई पैसा कमाउन वाध्य छ । सम्झँदैमा आङ्ग जिरिङ्ग हुन्छ । स्वाभिमानी खुन उम्लिन थाल्छ । स्वदेशमा छँदा आफूले खाएको थाल नमाझ्ने मान्छे विदेशी भूमिमा पराइको असली सेवकका रूपमा कार्यसम्पादन गर्नु परेको छ । जुन भूमिलाई प्रकृतिले ठगेको छ, त्यसलाई त ठीकै छ, कमाउनु उसको वाध्य हो । सेवा गर्ने ठाउँ आफ्नोमा छैन भने अर्कामा निर्भर हुनु भनेको नौलो कुरा होइन । तर प्राकृतिक सम्पदाले धनी हाम्रो देश नेपालका हामी नेपाली किन दरिद्र भएका त ? उत्तर एउटै हो– रोजगार नपाएर । काम नपाएपछि माम मिलेन, माम नमिलेपछि, ज्यान बचेन । ज्यान बचाउनै पनि स्वाभिमान विक्री गर्नपट्टि लागेका छौँ हामी । धनी देशका गरिब जनता भएर बाँच्दा पनि ठीक्कै छ, बाबुबाजेको धर्म थामिएकै छ भन्ने चिन्तन गछौँ । युग जति छिप्पिए पनि हाम्रो मानसिकता एकदमै कलिलो रहिरहेको छ । हामीले मानसिकता छिप्याउन चाहेका छैनौँ । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । यस दुर्भाग्यबाट बच्न राजनैतिक आग्रह, पूर्वाग्रह छाडेर, जातपात, धनीगरिव त्यागेर थोरै अर्थका साथ सबै युवा एक थलोमा उभिनु परेको छ । आफ्नै हातको सानो रकमले मुलुकलाई उचाल्नु परेको छ । अझ उद्यम गर्ने हिम्मत भएका, पाखुरीमा बल भएका, नवीन तवरले नवीन पाराले हिँड्ने सोच भएका युवाहरूले उद्यम गरी स्वरोजगार बनून् भन्ने महान् उद्देश्य लिई सुरु गरिएको ‘युवा स्वरोजगार कार्यक्रम’ लाई जन्म त दिनुभयो तर हुर्काउन, फैलाउन र स्थापित गराउन सक्नुभएन । नेपालको स्वार्थी राजनीतिको तारो बन्यो ‘युवा स्वरोजगार कार्यक्रम’ । कुर्सी बदलिँदैमा ‘युवा स्वरोजगार कार्यक्रम’ हरायो, विलायो र लाखौँ बेरोजगार युवाहरूको मनोकांक्षामा कुठाराघात भयो ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, लाखौँ बेरोजगार युवाहरूको मनोकांक्षालाई सम्बोधन सरकारी तवरबाट हैन, निजी क्षेत्रबाट पनि, व्यक्ति, व्यक्तिको पहलबाट पनि हुन सक्छ भन्ने अवधारणा लागू भइसकेको छ, जुन कुरालाई पुष्टि गर्न केही शब्दहरू खर्चदै छु । हामीले आँखा बन्द नगरीकन काम गर्नुपर्छ । शारीरिक कष्ट खेपेर भए पनि प्रतिफलसहितको सुन्दर भविष्यको लागि काम गर्न, त्याग गर्न, श्रम लगानी हिच्किचाउनु हुन्न । हैन, शारीरिक कष्ट नगरौँला तर थोरै लगानी गरेर हाँसीहाँसी प्रतिफलसहितको सुन्दर भविष्यको प्रशंसा त गर्न सक्छौँ । हामी जहाँ जान्छौँ, त्यहाँ चेतना छर्न सक्छौँ । आफूमा छैन भने चेतना लिन सक्छौँ । राम्रो कुरा भन्नु, असल नियत जगाउनु र राष्ट्रिय एकता र अखण्डताको विगुल फुक्नु नै देशका निम्ति हाम्रो दण्डवत् हो । अन्य कुनै जटिल साधनामा लाग्न नसके पनि सही तर सरल, सहज र आदर्श तवरले मुलुकको समुन्नतिमा कोशेढुंगा हुने काममा आजको युवापिँढी एकोहोरिनु आवश्यक भइसकेको छ । चोट सहेर ढुंगो त मूर्ति बन्छ र पुजिन्छ । हामी त मान्छे पो हौँ त । आफू मात्र उक्सिन खोज्दा, अरूलाई पछि पारेर आफू मात्र अघि बढ्न खोज्दा हामी एक्लो भयौँ र पछि पर्यौँ । अरूलाई अघि बढाएर हामी पनि अघि बढ्ने हिम्मत गर्ने स्वभाव हामीमा हुँदो हो त धेरै अघि नै हामी जापानका गुरु बन्न सक्ने थियौँ । यसका लागि विचारले महान् बनेझैँ कामले महान् बन्ने चाहना मनमा हुनुपर्छ । जसरी हामी जन्मदा मृत्युलाई साथै लिएर जन्मन्छौँ, त्यसरी नै समस्या जन्मदा समाधान लिएर जन्मने गर्दछ । समस्या हेरेर भाग्नु कायरता हो, समस्याको जरो खोज्नु महानता हो । पछ्यौटेको दास हैन, अग्रगामीको सेवक बन्दा हामी संसारलाई जित्न सक्छौँ । हाम्रै व्यवहार सत्रु पनि हो र मित्र पनि हो । हामी हैसियतअनुरूपको जे कल्पना गर्छौँ, जे इच्छा राख्छौँ, त्यही पाउँछौँ । आफ्नो अवस्था अनुकूल, अरूलाई हेर्ने नजर बनाएमा हामीले कहिल्यै असफलतालाई सहनुपर्दैन । सफलता पाउमा पर्न आउँछ । संसार खेल मैदान हो । हामी खेल जित्न मैदानमा उत्रेका छौँ । जीवन व्यापार हो । हामी व्यापार गर्न संसारमा उत्रेका हौँ । सही नाफाको खोजीमा हामी छौँ । राष्ट्र उँभो लाग्ने व्यापार गर्न सके हामी उद्यमी हुन्छौँ, अरूको प्रगतिमा जल्न थाले राष्ट्रकै गद्दार कहलिन्छौँ । लगाम विनाको घोडा जतासुकै लहसिन सक्छ, अल्झिन सक्छ । त्यस्तै लक्ष्य नै हाम्रो लगाम हो । यो विना हामी पनि हराउन सक्छौँ । सम्मानको जीवन बनाउन सम्मान गर्न जान्नुपर्छ, नजाने सिक्नुपर्छ । खोक्रो आदर्श र फुस्रो भाषणले रासन दिँदैन । अतः रासन सहितको आदर्श र भाषणको चाह हुनुपर्छ । जीवनको उचाइ महान् सोच र विचारले पैदा गर्छ । हामी जापान, अमेरिका, वेलायतहरूलाई त चिन्छौँ तर आफूले आफैँलाई चिन्दैनौँ । अब नेपाल र नेपालीलाई चिन्नेतिर ध्यान खिचिन परेको छ । यसका लागि सुरुमा एक्लो प्रयास पनि, एक्लो सोच पनि मार्गदर्शक बन्न सक्छ तर गन्तव्यमा पुग्न भने काफी हुँदैन । तसर्थ सम्पूर्ण युवाहरूको होस सहितको जोसको खाँचो पर्छ । युवावर्गको एकता एक ठाम हुन सके मुलुकमा आमूल आर्थिक क्रान्ति हुन हामीले कुनै विदेशीहरूको मुख ताक्नुपर्दैन । आर्थिक विकासको मूल प्रत्येक नेपालीहरूको पाखुरीले, दिमाखले र परिश्रमले फुट्न सक्छ ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, अब हामी कस्तो अबस्थामा छौँ त भनेर घोरिन मन लाग्यो । हामी नक्कल गर्न पारंगत छौँ । हाम्रो चालचलन नक्कले छ । आँखा बन्द गरेर हामी नक्कल गछौँ । कान बन्द गरेर हामी नक्कल गछौँ । मन र तन बन्द गरेर हामी नक्कल गछौँ । मात्र नक्कल । त्यो पनि राम्रो कुराको नक्कल भएको भए त हुन्थ्यो नि । अरूले मीठो खायो, राम्रो लायो, श्रृङ्गार गर्यो, ठूलाठूला कुरा गर्यो त्यसलाई शिरोधार्य गरिहाल्छौँ । तर अरूले बोलेअनुसार काम गर्यो, त्यसको नक्कल गर्न हामीसँग गिदी छैन । अरूले उँभो लाग्ने काम गर्यो, त्यसको सिको गर्न हामी भुसुक्कै भुल्छौँ । समग्रमा भन्दा राम्रो कुरो, अग्रगतिको कुरो चाहिँ भुसुक्क भुल्छौँ । पुंग न पुच्छरको कुरोमा दिमाख लगाइरहन्छौँ । कसैले नयाँ काम कुरो गर्न खोज्यो भने अविश्वासी नजरले हेर्छौँ । आशंकाको नजरले हेर्छौँ । आफू उठ्न सक्दैनौँ । अरू उठेको पनि सहन सक्दैनौँ । आफू अघि बढ्नुको सट्टा अघि बढेकाहरूको खुट्टा तान्न पनि पछि पर्दैनौँ । न्वारानदेखिको बल झिकेर काम गर्छौँ । सानोतिनो प्रलोभनको दास भएर क्रान्तिकारी परिवर्तन ल्याउँने अभियानबाट जीवनलाई निकालिदिन्छौँ । विकारयुक्त मानसिकताले हामी पछि छौँ । पछि रहनुमै सन्तोष ठान्छौँ । यही प्रवृतिले हामी पछिको पछि छौँ । यही बानीले गर्दा धनी मुलुकका गरिब जनता भएका थियौँ, आजसम्म भई नै रहेका छौँ । भोलि हुन नपरोस् भनी आज सोचिरहेका छौँ । सोच्नु मात्र हैन, काम गरेर देखाउने बेला गुम्न लागिसक्यो ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, हामीले के गर्नु छ त ? अनेकतामा एकता खोज्नुछ । असमानताभित्रै समानता छुट्याउनुछ । आफू जे सोचिन्छ, त्यही बन्नुछ । आफूले चाहे अनुसारको जीवन व्यतित गर्नुछ । एक्लो व्यक्तिको गतिलो सोचले विश्व हल्लाउन सक्छ भन्ने बुझ्नुछ । हाम्रो पुरानो, थोत्रो पाराको सोचाइ परिवर्तन हुन आकांक्षा परिवर्तन हुनुपर्छ । आकांक्षा परिवर्तन हुन विश्वास परिवर्तन हुनुपर्छ । विश्वास परिवर्तन हुन दृष्टिकोण परिवर्तन हुनुपर्छ । दृष्टिकोण परिवर्तन हुन व्यवहार परिवर्तन हुनुपर्छ । व्यवहार परिवर्तन हुन चरित्र परिवर्तन हुनुपर्छ । यसो गर्नसके जीवनमा नै क्रान्तिकारी परिवर्तन सम्भव छ । यसो गर्न हामी स्वयम् सक्षम छौँ । हामी जे चाहन्छौँ, त्यही गर्न सक्छौँ । जब हामी समुद्रमा डुबुल्की लगाउने जमर्को गर्छौँ भने अवश्य मोती लिएर फर्कन्छौँ । अर्काको खुट्टा तान्नमा वा माथिदेखि तलतिर ठेल्नमा लाग्छौँ भने आफू समेत दलदलमा फस्छौँ भन्ने कुरा भुल्नु हुँदैन । तल परेकालाई माथितिर तान्ने र माथि पुगेकालाई अझ माथितिरै ठेल्ने काम गर्नुपरेको छ । यदि हामी संसार बदल्न खोज्दै छौँ भने स्वयम् आफू बदलिएर देखाउनुपर्छ । अरूले के दिन्छ भनेर आसे जीवन विताउन खोज्नु मूर्खतापूर्ण जीवन हुन्छ । मैले अरूलाई के दिन सकेँ भन्नु युक्तिपूर्ण हुन्छ । यी सम्पूर्ण कुराहरू आजका युवाहरूको मगजमा घुस्न आवश्यक छ ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, आजका युवाहरू सक्षम भए भने देश सक्षम हुन्छ । आजका जयपुरी घर्तीहरू, आजका रामकुमारी भाँक्रीहरू, आजका गगन थापाहरू, आजका वर्षमान पुनहरू, आजका दीपेन्द्र चौधरीहरू, आजका चन्दन यादवहरू सक्षम भए र हुँदै गए भने भोलि पम्फा भुसालहरूको, भोलि झलनाथ खनालहरूको, भोलि शेरबहादुर देउवाहरूको, भोलि बाबुराम भट्टराईहरूको, भोलि उपेन्द्र यादवहरूको, भोलि महन्थ ठाकुरहरूको, भोलि नरहरि आचार्यहरूको अभाव खड्किएर देश सिकिस्त हुने छैन । यिनै जयपुरी घर्तीहरू, रामकुमारी भाँक्रीहरू, गगन थापाहरू, वर्षमान पुनहरू, दीपेन्द्र चौधरीहरू, चन्दन यादवहरू सक्षम भएर देश हाँक्नेछन् । आजका अग्रजहरूको ठाउँ रिक्त नहोस्, आजका युवाहरूले नै पूर्ति गरून् भन्ने हो भने युवायुवा बीच एकताबद्ध क्रान्तिको आवश्यकता छ, आर्थिक क्रान्तिमा लामबद्ध हुनु आवश्यक छ । क्रान्तिका नाममा भ्रान्ति पैदा हुने काम भइरहेको छ । समस्याको विशाल खाडल बनेको छ, जन्मदै टाउकामा ऋण लिएर जन्मनु परेको छ र ऋण नतिरी, ऋणै बोकेर मर्नुपरेको छ । अतः आर्थिक क्रान्ति ल्याउन, अवरोधक खाडल पुर्न युनिटी लाइफ इन्टर नेशनल लिमिटेड नेपाली माटोमा ६ वर्ष पहिले जन्मेको भेटियो । ‘जे उपलब्ध साधन र श्रोत छ, त्यसकै सही तवरले उपयोग गर्नुहोस्, दाम हात पर्छ । सहयोगी हात युनिटी लाइफ इन्टर नेशनल कम्पनीको छ’ भन्दो रहेछ । हात बाँध्नुहोस्, मुख बन्द गर्नुहोस्, कानमा ठेडी कोच्नुहोस्, आँखामा पट्टी कस्नुहोस्, आफूमा आफैँ हराइन्छ । आफूलाई आफैँ चिन्न सकिन्न । अहिलेसम्म हामीले यही र यस्तै गर्दै आयौँ । र त हामी पछ्यौटे रोगले पीडित छौँ । संसार हाँसेर जिउँनेहरूलाई स्वागत गरिरहन्छ । संसारमा हाँसेर जिउँनेहरूकै जित हुन्छ । सबै जना एक ठाम भए हाँस्न सकिन्छ, आर्थिक, वैचारिक जस्ता हरेक दृष्टिकोणले अघि बढ्न सकिन्छ । एक जना, दुई जना गर्दै उठ्दै गए, आर्थिक क्रान्ति हुन्छ, हुन्छ । आर्थिक क्रान्तिका योद्धा, सहयोद्धाहरू थपिँदै जान्छन् ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, एक पटक यता हेरौँ त । आँखाले भन्छ– मलाई सुन्दर दृष्य चाहिन्छ । कानले भन्छ– मलाई मधुर संगीत चाहिन्छ । संगीतले भन्छ– मलाई सुनिदिने गजवको मान्छे चाहिन्छ । मान्छेले भन्छ– मलाई रहँन सुन्दर पृथ्वी चाहिन्छ । पृथ्वीले भन्छ– मलाई सुन्दर आकाश चाहिन्छ । आकाशले भन्छ– मलाई दुई सुन्दर चन्द्र–सूर्य चाहिन्छ । त्यस्तै देशले भन्छ– मलाई सुन्दर पार्न आजका युवाहरूको एकता र सहभागिता, जोश र होस् चाहिन्छ । यसका लागि एउटा जमघट हुने केन्द्र चाहिन्छ । त्यही केन्द्रको रूपमा युनिटीलाइफ इन्टरनेशनल लिमिटेड राष्ट्रिय अखण्डता र एकताको सन्देश लिएर हिँडेको, सबै वर्गको सहभागितामा आर्थिक क्रान्तिको विगुल फुक्दै हिँडेको भेटियो । यसले कस्ता नीति ल्याएको छ त ? यस बारे एक क्षण घोत्लिँदै छु । नेपाललाई इन्धनमा आत्मनिर्भर पार्ने अभियान स्वरूप संजिवन खेतीको सुरुवात गर्नु आफैँमा एक युगान्तकारी पाटो हो । ग्रामीण विकास, वातावरण संरक्षण र ऊर्जा सुरक्षाको सारथी संजिवनी अति रुखो, सुख्खा, पाखो तथा खेर गएको जमीन र अन्य वाली फस्टाउन नसक्ने जग्गामा पनि खेती हुन्छ । भू–क्षय रोकथाम, नदी कटान नियन्त्रण तथा प्राकृतिक जैविक बारको लागि अत्यन्त उपयोगी छ । यसको दानामा तेलको प्रतिशत ३७.५ भन्दा बढी छ । यसको पीना जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ । मिश्रित खेती लगाएर अन्य बालीबाट पनि पर्याप्त फाइदा लिन सकिन्छ । यसको खेती वीउ तथा हागाँ कटिङ्गबाट सजिलै गर्न सकिन्छ । नगन्य, पूँजी र श्रमको लगानीमा उच्च प्रतिफल पाइन्छ । एक चोटि रोपिसकेपछि ५० बर्षसम्म लगातार फल दिइरहन्छ । यस्तै विशेषताले युक्त संजिवनी खेती मात्र गरेमा पनि हाम्रो आर्थिक हैसियत उकासिने रहेछ । रोजगारी पनि पाइनेरहेछ । उत्पादित संजिवनको बजार व्यवस्थापन गर्ने काम लिमिटेडले नै गर्ने भएको छ । हाम्रै झाडीमा तेल छ भने हामी किन खाडी मुलुकमा निर्भर रहने ? सधैँ पैसा तिरेर स्वास्थ्य परिक्षण गर्न सकिन्न तर एक पटक तिरे पछि जीवन भर स्वास्थ्य सेवा पाइन्छ भने किन पछि पर्ने ? एक पटक जीवनविमामा केही रकम लगानी गरेपछि जीवन नै विमित हुन्छ भने हामी चाहिँ किन पछि पर्ने ? एक पटक शिक्षामा लगानी गरेपछि एक निश्चित स्तरसम्म निःशुल्क अध्ययन गर्न मिल्छ भने किन मन नदिने ? बजारभाउ घटबढको मारले उपभोक्ताहरू मारमा परिरहेका छन्, डिपार्टमेण्टल स्टोर मार्फत् उपभोग्य समानहरू सुफत मूल्यमा जनताकहाँ पुग्छ भने के चाहियो ? बजार नपाएर उत्पादित वस्तु खपत हुन नसकेको अवस्थामा कृषि डिपोमार्फत् देशभरिका समानहरू देश भरि नै फिँजिन्छन् भने अर्को कस्तो राहत चाहियो ? मेरो मनमा यिनै गन्थनहरू मडारिइरहेछन् । सरकारले पूरा गर्न नसकेका र सरकारी ध्यान नपुगेका जनसरोकारका विषयहरूमा, क्षेत्रहरूमा एउटा कम्पनीको ध्यान पुगेको भेटेको छु । ध्यानअनुसार काम पूर्णतः पूरा नभएको भए पनि भइरहेको भेटेको छु । मेरो मनमा अझै धेरै अविश्वासका कुराहरू मडारिइरहेका छन् । शतप्रतिशत जान्ने, बुझ्ने ध्याउन्नमा छु । हजुरले पनि यी मैले माथि संकेत गरेका कुराहरूको अध्ययन अनुसन्धान गरी भावी अर्थनीतिका बारेमा हामी जनतालाई चनाखो पार्दिनुहुन्छ भन्ने चाहनाका साथ यो पत्र कोरेको हुँ ।
श्रद्धेय बाबुराम भट्टराईज्यू, समग्रमा भन्नु पर्दा, आजका युवाहरूको मगजबाट स्वार्थी राजनीतिप्रतिको राग हटाइनु आवश्यक छ । नेपालको स्वार्थी राजनीतिले नेपाल र नेपालीलाई नै खाइरहेको छ । ‘राजनीतिको अर्थ हो अर्कोमाथि विजय पाउनु । जहाँ अरूमाथि विजय पाउनु छ, त्यहाँ सत्यको कुनै प्रयोजन हुँदैन । त्यसैले राजनीतिमा सत्यले कहिल्यै विजय प्राप्त गर्दैन । राजनीति सत्यको जगमा हुँदैन । जुन दिन राजनीतिमा सत्यको विजय हुन थाल्नेछ त्यस दिन खासमा राजनीति खासमा राजनीति नै रहने छैन । राजनीतिको गुणवेत्ता नै अर्कै हुनेछ । राजनीतिमा भंगवक्ता हुनेछ । मलाई लाग्छ, त्यसै दिन राजनीतिको बिदाइ हुनेछ । राजनीति धर्ममा रूपान्तरण हुनेछ ।’ भन्ने दार्शनिक ओशोको भनाइले समेत त्यही कुरामा जोड दिन्छ । उनकै शब्द सापटी लिएर भन्नु पर्दा राजनीतिलाई धर्ममा रूपान्तरण गर्न आवश्यक छ । आजका युवाहरूको मगजमा मुलुकको हितमा सहभागी हुने र आफ्नो आर्थिक हैसियत बलियो बनाउने सोच आउनु आवश्यक छ । कमायो गुमायो हैन, कमायो बढायोमा रूपान्तरण हुनु आवश्यक छ । समाजमा मौलाउँदै गएको अराजकता, अशान्ति, राजनैतिक अस्थिरता र वैमनस्यताले मानवीय संवेदना नै ह्रास भइरहेको छ । आजको युगमा मान्छे आफूभित्रको सत्रुबाट भागिरहेको, अत्तालिरहेको छ । यस्तो अवस्थाबाट पार पाउन एकतावद्ध आर्थिक क्रान्तिमा जुट्नु आजका युवाहरूको परम कर्तव्य हो । आर्थिक क्रान्तिमा लामबद्ध क्रान्तिकारी युवाहरूलाई ठोस ज्ञान दिन यहाँले कलम र बोलीमार्फत् पनि तत्कालै ठोस पहल गर्नुहुनेछ भन्ने यस कलमको अपेक्षा राख्दै पत्रान्त गर्दछु, धन्यवाद, अभिवादन !