Monday, September 13, 2010

नयाँ नेपालको खोजी गर्ने कृति ः ‘कालो चायाँ’

–नन्दलाल आचार्य
दुनियाँ ऐसी बाबरी पत्थर पुजन जाय,
घरकी चकिया कोई न पुजे जिसका पिसा खाय ।
(संसार कस्तो पागल छ, ढुंगालाई पुज्न कहाँकहाँ पुग्छ तर आफ्नो घरको जाँतोलाई पुज्दैन जसबाट पिसेको खान्छ ।– कबीर)
चारैतिर जोखिम मोलेर नेपाली समाज अहिले हिँडिरहेछ र आफ्नो पागलपन र अराजकताको ढाकछोप गरी टिठलाग्दो विक्षिप्तता लुकाउन अरूलाई पागल भनिरहेछ । गुणी र बैगुणी चिन्न सकिरहेको छैन । सार्बजनिक स्थल सफा र हराभरा राख्न जुट्नु, कसैले खान पाएको छैन कि भनेर चिन्ता गर्नु, आफ्नो आङ्ग नाङ्गो राखेर अर्कालाई जाडोे भयो कि भन्ने चिन्ता गर्नु, सडकमा उभिएर सत्य र न्यायका स्वरहरू उराली हिँड्नु, एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु, जनताले चेतना भेट्ने खालका जनगीत, श्लोक र कविता स्वतःस्फुर्त रूपमा भन्नु, जनता पिरोल्ने पिराहाहरूका कर्तुतलाई फुटेका आँखाले पनि हेर्न नचाहनु जस्ता कार्यहरू विल्कुलै खराब हैनन् । तर त्यस्तै काम गर्ने महापुरुष गम्भीरबहादुर थापालाई पागल भन्छ यो समाज । ‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको भेट्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको देख्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन, पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु—कतै धम्की पाएँ, कतै गालीगलौज भेटेँ । कतै पागलको संज्ञा पाएँ त कतै मगन्तेको बिल्ला भेटेँ । कुनै कुनै सज्जन महानुभावहरूबाट भने मैले ठूलो सन्तोष पाएको छु । आफ्नो अभियानलाई अघि बढाउने ज्ञान भेट्टाएको छु । राम्रो काम भएको पाउँदा गुनगानका गाथा पनि गाएको छु । मेरो लिनु र दिनु केही छैन । नेता सप्रे र भोलिका पुस्ताका लागि नेपाल बचाइदिए, क्रान्तिकारी एवं परिवर्तनकारीहरूले बाटो नविराए र सिर्फ जनता जागे अनि विकृतिका विरुद्ध लागे म आफूलाई धन्य ठान्नेछु ।’ यस्ता कथन राख्ने र बोलेअनुरूप कार्य गर्न अग्रसर अर्का साधक लेखबहादुर कार्की पनि पागलमा नै गनिएछन् । ‘जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरूलाई बुझाउनुजस्तो महान् कुरा अरू विश्वविद्यालयमा सायदै होला । क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहोभाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा, युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी ‘क’ नजान्ने हातहरू –हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गणमा त यस्तो लाग्छ—हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू, मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरूको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जान्छौँ ।’ भन्ने हरफका जन्मदाता पुन्य कार्की पनि एकाधपटक पागल ठानिए । त्यस्तै मातृका पोखरेल, टीकाराम पौडेल, इन्द्र राउत, दीपक चिन्तक, जोतारे धाइवा, स्वस्ती थापा, महेश्वर चामलिङ्ग, राममणि पोखरेल, रत्नप्रसाद काफ्ले, गिरिलाल परियार, तेजनारायण शेर्पा, भक्तबहादुर सिंह, यादवकुमार कार्की, केदारकुमार थापा, शंकरबहादुर थापा, भागवत राउत, जीवराज ढुगााना, हरि शरण, हेमबहादुर बस्नेत, कुबेरध्वज कार्की, छविनकुमार मगर, मदन तामाङ्ग, नारायण कार्की, बोधविक्रम घिमिरे, शिबहरि राई, नारायण काफ्ले, बिमल कार्की, कुमारसिंह कार्की, नन्दप्रसाद पोखरेल, राजकुमार खड्का, कौशल चेमजोङ्ग, वृषबहादुर तामाङ्ग, कपिल ठकुरी, बिरशबाबु शाही, लीलाप्रसाद निरौला, नन्दलाल आचार्यजस्ता कलमजीवीहरू पनि पागल ठानिएलान् कि भन्ने जगजगी छ । राम्रो काम गर्ने लक्ष्मीप्रसाद, भूपि शेरचन, गोपालप्रसादजस्ता साहित्य साधकहरूलाई पागल भनी सकेको सन्दर्भमा पागल पद पाउनु गर्वको विषयमा रूपान्तरित भएको प्रतीत हुन्छ । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ भन्थे रे । देशको विद्रूप राजनीतिले स्रष्टा जन्माउँदो रहेछ । आफ्नो मौलिक आवाजबाट राजनीतिलाई सपार्ने चाहनाका साथ धेरै स्रष्टा जन्मदा रहेछन् । सन्दर्भअनुकूल भन्नुपर्दा यस्तै गर्विलो काम गरेर पागल पद धारण गर्न लायक एक स्रष्टा हुन्– टंकबहादुर आलेमगर (उपनाम रोशन थापा) । २०६४।०५।०१ मा प्रकाशित उनको एक मात्र कृति ‘कालो चायाँ’ लघुकथा संग्रहका बारेमा सामान्य विश्लेषण गरी नयाँ नेपाल निर्माणमा सहयोगी कृतिको रूपमा पुष्टि गर्न खोजिएको छ ।
साधो सहज समाधि भली आँख नमुदो कान रुँधो, कायाकष्ट नधारो,
खुले नैन हँसी हँसी पहिचानो, सुन्दर रूप निहारो ।
जहँ जहँ डोलौ परिक्रमा, जो कुछ करो सो पूजा,
जब सोबौ तब करौ दण्डवत्, भाव मिटाओ दूजा ।
(म आँखा बन्द गर्दिनँ, कान छेड्दिनँ, शरीरलाई कुनै कष्ट दिन्नँ, हाँसीहाँसी सुन्दरताको प्रशंसा गर्छु । म जहाँ जान्छु त्यहीं नै मेरो परिक्रमा हो, जब म सुत्छु, त्यही नै मेरो दण्डवत् हो । अन्य कुनै जटिल साधनामा मेरो विश्वास छैन । सरल र सहज समाधि नै आदर्श हो ।– कबीर)
दिल सहानी, डा. ऋषिराज बराल, पुन्य कार्की, सीपि गजुरेल, कमल निओल, सरल सहयात्री, सरला रेग्मी, पुन्य कार्की, गंगा श्रेष्ठ, प्रभात चलाउने, राजु क्षेत्री, रामविक्रम थापा, अन्जान विरही, श्यामकुमार बूढा, हीरामणि दुःखी, कुमार शाह, अनिल शर्मा, घनश्याम ढकाल, पूर्णविराम, नवीन विभास, अशोक सुवेदी, भाष्कर, रोहित दाहाल, खगेन्द्र संग्रौला, रमेश विकल, मातृका पोखरेल, गोबिन्द वर्तमान, हरिगोबिन्द लुइँटेल, राममणि पाखरेल, नन्दलाल आचार्य, प्रदीप नेपाल, धु्रवचन्द्र गौतम, गोपाल पराजुली, पद्मावती सिंह, नारायण ढकाल, राजेन्द्र विमल, महेशविक्रम शाह, प्रदीप ज्ञवाली, किशोर पहाडीहरूले द्वन्द्व कथा लेखे, लेखिरहेछन् । कसैले धेरै लेखे, कसैले थोरै लेखे । कसैले जनयुद्धले सिर्जना गरेको यथार्थको प्रतिबिम्बन गरेका छन् भने । कसैले जनयुद्धको उदात्तीकरण गर्न नखोजे पनि राज्यआतंक र जनहत्याको यथार्थ चित्रण गरे । कसैले भने जनयुद्धको विद्रूपीकरण मात्रै गरेर कथा सिर्जना गरे । यी तीनै पक्षमा आधारित रहेर फाट्टफुट्टरूपमा कथा सिर्जना गर्नेहरूको लाइन त लामै छ । ठाउँठाउँमा झिनो द्वन्द्वका साथ लघुकथाबाट समाजको यथार्थतालाई चित्रण गर्न लघुकथाकार टंकबहादुर आलेमगरले कोशिस गरेका छन् । समाजमा घटेका यथार्थताका नालीबेलीलाई कलात्मक रूपले प्रकट गर्ने काममा उनी पोख्त देखिन्छन् । विशेष गरेर दुःख, पीडा र बेचैनीका बेलिविस्तार मात्रै हैन अग्रगामी विचारयुक्त लघुकथा पनि पाइन्छन् उनको ‘कालो चायाँ’ लघुकथा संग्रहमा । मुलुकको अस्मितामाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वले धावा बोलिएको बखत आक्रोश पोख्ने काम पनि भएको छ । युवायुवती बीच हुने स्वभाविक प्रेमअनुरागलाई पनि स्थान दिइएको छ । सप्रिएको राजनीतिले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने कथन अघि सारिएको छ । सामान्य वर्गका मानिसहरूप्रति विशेष सहानुभूति राखेर समाजको अस्तव्यस्तताको विरोध गर्ने जस्ता विशेषताले उनका लघुकथाहरू युक्त छन् । युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि परोक्षरूपमा यिनीबाट भएको छ । मूलभूत रूपमा यिनी समाज रूपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । कथ्य एवं ठेट भाषाको प्रयोगले कथा रोचक बनेका छन्, रेडियो आदिमा वाचन गर्ने दृष्टिमा भने उपयुक्त देखिन्छ । उनका धेरै जसो कथाहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् । तर कतैकतै कथावस्तु, पात्रहरू नै किटान गर्न नसकिने अवस्था छ । कतिपय ठाउँमा लघुकथा, लघुकथाका रूपमा नभएर पोथी गद्यको कुनै रचनाको अंशजस्तो भेटिन्छ । स्पष्ट विचार खुल्न नसकेका लघुकथा पनि यस संग्रहमा मनग्यै परेका छन् । वर्णविन्यास सम्बन्धी कमजोरी जताततै पाइन्छ । यी विविध कारणले गर्दा भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । सामान्य लेखपढको वातावरण पाएका कथाकारका शब्दहरू र भाव सवै व्यावहारिक प्रकृतिका नै छन् । सैद्धान्तिक नजरले हेरेमा उनको उचित मूल्याङ्कन गर्न सकिन्न । कवितात्मक शैलीलाई उनले पक्रेर कथा सिर्जेका छन् । भावसँगै वाचनमा मीठासपन र मधुरतालाई उनले विशेष महत्व दिएको भान हुन्छ । जे होस्, विधागत मान्यताका लागि फस्टाइरहेको र धेरै स्रष्टा साधक समर्पित रहेको लघुकथा विधामा उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु भनेको गर्वको कुरा हो । अर्का कवि, निबन्धकार तथा कथाकार पुन्य कार्कीले भूमिकामार्फत् नै लघुकथाकार टंकबहादुर आलेमगर (उपनाम रोशन थापा)लाई साहित्य संसारमा आमन्त्रण गरेर लेखन, प्रकाशन, परिष्कार, परिमार्जन र समीक्षणको चौतारी भेटे साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपूर्ण हुनसक्ने बताएका छन् । माथिको पंक्तिमा कबीरले भनेजस्तै उनी स्वाभिमानी रूपले जीवन विताइरहेका र साहित्य एवं चित्रकला मार्फत् नेपाली साहित्य र कलाको समृद्धिमा समर्पित भएर लागेका छन् ।
कंकड पत्थर जोडकर मस्जिद दिया बनाय ।
ता चढी मुल्ला बाँग दे–बहरा हुआ खुदाय ?
(बालुवा र ढुंगा जोडेर मस्जिद बनाएर त्यसमाथि चढी मुल्ला विहानविहानै कराउँछ, के ईश्वर बहिरो छ ?– कबीर)
समाजको यथार्थतालाई समाज सामु ल्याएर सचेतताको झड्का दिन कबीरको माथिको कथन प्रयाप्त छ । त्यसै गरी ६० वटा लघुकथालाई ‘कालो चायाँ’ सङ्ग्रहभित्र अटाएका स्रष्टा आलेमगर पनि समाजको तस्विर दुरुस्त उतार्न खप्पिस छन् । भयानक प्रसवपीडाबाट बल्लतल्ल राष्ट्र मुक्त हुँदै गएको तर सानातिना समस्याका रहलपहल बाँकीरहेको कारणले हात बाँधेर बस्ने बेला हैन भनी सचेत पार्न ‘काल्पनिक यात्रा’ कथा सफल छ । प्रलोभनमा परेर फूलहरू लुटिएको कुरा ‘फूल’ कथामा आएको छ । हेरचाह गर्ने मालीको लापरवाहीबाट पूजारीले फाइदा लुटिरहेको छ । यस कुरालाई राष्ट्रिय मामलामा आरोपित गरेर हेर्ने हो भने पनि मुलुकको रथ हाँक्ने सारथीहरूको अदूरदर्शी नीतिले राष्ट्र भड्खारामा परेको पनि देखिन्छ । त्यसैले सचेतवर्गलाई अझ सचेत हुन आग्रह गर्दै लघुकथाकार भन्छन्,“मालीको लापर्वाहीले एउटा फूलवारी उजाडिएको छ । सक्छौ भने पर्खाल लगाऊ नत्र यस्तै क्रमले फूलबारीको संख्या उजाडिनेछ ।” स्वतन्त्र जीवनबाट परतन्त्री जीवनमा रूपान्तरित भएका भुटानीहरूको दुःखदायी जीवनयात्रालाई सजीवरूपले चित्रण गरिएको कथा हो, ‘शिविरभित्रको कथा’ । मादक पदार्थको पसलमा तेम्बा तान्ने मान्छेहरूलाई किचकन्नी र मुर्कुटाहरू भन्ने संज्ञा ‘किचकन्नी र मुर्कुटाहरू’ कथामा दिएको छ । यसमा अभाव, अनिकाल र अस्तव्यस्ततालाई सही ठाउँमा ल्याउन हरेकवर्गले अमर्यादित पथ छाडी सही पथ पक्रनुपर्छ भन्ने आह्वान गरिएको छ । बोक्सीको आरोपमा मानवविष्टी खुवाएर अमानवीय कार्य गरिएकी विधुवा नारीका पक्षमा कथाकारले शब्द समर्पण गरेको लघुकथा हो–‘जुर्मुराएका स्नायुहरू’ । यस कथाले समाज जति परिष्कृत भएपनि कुरूप मानसिकता बोकेर बाँचिरहेको देखाएका छन् । यसरी समाजको ज्ञान र ध्यान पुरातनवादी कुसंस्कारमा नै अल्झिएको विद्रुप अवस्थाको चित्रण गरेर स्वच्छ र स्वतन्त्र समाजको निर्माणमा जोड दिने काम भएको छ । जन्म दिने आमा नभएपछि हरतरहले टुहुरो भएको पात्र छ– रने । उसको बाउ दिनभर खोयाबिक्रेमा हराउँछ । पछि सौतेनी आमा भित्र्याउँछ । रनेको टाउकोमा सही नसक्नुको पीडा एकपछि अर्को गर्दै थुप्रन्छ । जोगिएको धन पनि सौतेनी आमाले हडप्छे । पढलेख गरेर स्वाबलम्बी बन्ने उसको सपना चकनाचुर हुन्छ । ऊ भागेर मुर्कुची बजारतिर ओर्लन्छ । त्यसपछि जुठो भाँडा माझेर आफ्नो पढ्ने रहर पूरा गर्छ । उसको लागि जुठेल्नो नै सुनगाभा हुन्छ । पीडाको दहमा कठोर जीवन गुजार्दै उज्जवल जीवन बनाउने रनेको संघर्षशील जीवनको इतिवृत्तिबाट प्रगतिन्नोमुख समाजको परिकल्पना गरिएको कथा हो–‘जुठेल्नोको सुनगाभा’ । माछा मारेर जीवन चलाइरहेको मान्छेले बाढी आएको होस नराख्नाले जीवन नै समर्पण गर्नुपरेको कुरालाई ‘नियतीको फुर्लुङ्ग’ कथाल ेसमेटेको छ । सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ भनेझैँ सम्पत्तिको अभावले दशैँ मनाउन नसकेको माइलोको कारुणीक कथा ‘नमीठो दशैँ’ कथामा आएको छ । गरिबी भगाउन रगत र किड्नी बेच्न पुगेको माइलोले अर्काको देखासिकीमा धनको नजरले दशैँ त राम्ररी मनायो तरपछि अर्को किड्नीले काम नगर्दा उसको जीवन नै धरापमा परेको र दशैँ नमीठो र दशा सावित भएको देखाइएको छ । यसरी सामान्यवर्गको माहिलो भन्ने पात्रकोे सुखदुःखमा आधारित भएर सिर्जेको यस कथाले चाडबाड मनाउने नौलो रीतिथिति रहनुपर्छ जसले रिन हैन उत्साह ल्याउनुपर्छ भन्ने कुरामा कथाकारले जोड दिएका छन् । हस्तरेखा हेर्ने र त्यसमा विश्वास गरेर धन कुम्ल्याउने र गुमाउने दुबै थरी समाजका नालायक पात्र भएको ठहर ‘एक खोला दुई भङ्गालो’ कथाले गरेको छ । यस्ता अन्धभक्तहरूले समाजलाई पराश्रित मात्र पार्ने भएकोले रूढिबाढी कार्यमा नफस्न सचेत गराइएको छ । घुस लिने र घुस दिने दुबै पात्र समाजका लागि अहितकर मानिएकाले नयाँ नेपालको निर्माणका लागि घुसविहीन समाजको परिकल्पना गरिएको कथा हो–‘दुई लघुकथा’ शीर्षकमा अटाइएको कथा । जनताका पीडाका घडी कम हुँदै नजानुको मुख्य कारण शासनव्यवस्था फेरिए पनि काम गर्ने शैली नफेरिएकोले हो भन्ने ठहर गर्दै श्रमको उचित मूल्याङ्कन गर्न आह्वान गरिएको कथा हो– ‘बाल भरिया र ढाक्रे दाइ’ । परिस्थिति बदलेर हैन मनस्थिति बदलेमा मात्र प्रगतिशिल समाजको निर्माण गर्न सकिन्छ भन्ने ठोस निष्कर्षमा समेत उक्त कथा पुगेको छ ।अन्तमा, हामीले समाजलाई नचायौँ, तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ, रुवाइरहेछौँ । आनन्द बर्साउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । आँखा खोलेर हेर्न सके कोही पराई भेटिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ, हामी यहाँ । हृदय खोलेर हेरे प्रेम बर्सन्छ जताततै यहाँ । धनको, पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी, अब भित्र फर्र्कौँ र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ । हामी बेहोसीमै बोल्दा रहेछौ, आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए, यो हत्या र हिंसा किन ? हामीमा प्रेमको ढोका उघ्रेको भए, यत्तिविघ्न घृणा र सन्ताप किन ? बुझौँ, आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन । धनसम्पत्ति, पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिदैन । आफू को हो चिन्नैपर्छ, ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौड्न्छ मान्छे, धनसम्पत्ति, पदका पछि । हामी मान्छेले मानव प्रवृति छाड्न हुन्न, आफूमार्फत् संसार बिग्रनुहुन्न । यिनै र यस्तै विचार पोखेर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ भन्ने कुरा सम्प्रेषण गर्दै नेपाली लघुकथा विधामा कोशेढुङ्गा सावित हुन आइपुगेका लघुकथाकार टंकबहादुर आलेमगर (उपनाम– रोशन थापा) र उनको लघुकथा संग्रह कृति ‘कालो चायाँ’ लाई स्वागत गर्नु मनासिव ठहर्दछ ।

No comments:

Post a Comment